१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सरुवा बजारमा लिभरपुल अगाडि

लन्डन – म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होका लागि अत्यन्तै निराशाजनक बनेको सरुवा बजारमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीसँगको दुरी कम गर्ने उदेश्यमा लिभरपुलले ठूलो धनराशी खर्चेको छ। 

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले अन्तत लेस्टर सिटीका रियाद माहरेजलाई क्लबको कीर्तिमानी रकममा भित्र्याउन सफल हुँदा आर्सनलले पनि केही खेलाडीलाई इमिरेट्स ल्याएको छ। तर आर्सनलले आबद्ध गरेकामा ठूलो स्टार नाम भने छैन। 

प्रिमियर लिगका क्लबहरुले गत वर्ष गृष्मकालिन सरुवा बजारमा खेलाडी भित्रयाउन १ अर्ब ४० करोड पाउन्ड खर्च गरेका थिए। दुई वर्षअघि म्यानचेस्टर युनाइटेडले तत्कालिन कीर्तिमानी रकममा भित्र्याएको युनाइटेडका लागि यसपालीको सरुवा बजार त्यति फलदायी हुन सकेन। 

जनवरीमा आर्सनलबाट एलेक्सिस सान्चेजलाई भित्र्याएपनि माउरिन्होको योजना पूरा भएको छैन्। प्रिमियर लिगका खेलहरु अगस्ट १० बाट सुरु हुन्छन भने त्यसको अघिल्लो दिन स्थानीय समयअनुसार दिउसो ४ बजे सरुवा बजार बन्द हुनेछ।  सिजनको पहिलो दिन युनाइटेडले लेस्टरसँग खेल्नेछ। 

लिभरपुका प्रशिक्षक योर्गान क्लोपले यसपाली सरुवा बजारको भरपुर उपयोग गरे। च्याम्पियन्स लिगको फाइनलमा रियाल मड्रिडसँग पराजित हुँदा लोरिस कारियसबाट दुई गम्भीर गल्ती भएपछि चिन्तित क्लोपले ब्राजिलका विश्वकप गोलकिपर एलिसनलाई भित्र्याएर तनाव कम गरे। उनले मिडफिल्ड बलियो बनाउन मोनाकोबाट फाबिन्हो र आरबी लिपजिगबाट नाबी केइटा तथा मोहम्मद सालाहजस्ता सुपरस्टारको उपस्थिती रहेको आक्रमणलाई थप बलियो पार्न स्टोकबाट जेर्डान शाकिरीलाई अनुबन्ध गरे।

१७ करोड पाउन्ड खर्चेर टिम बलियो बनाए पनि लिभरपुलका जर्मन प्रशिक्षक क्लोपले सरुवा बजारको सफलताबाट धेरै नहौसिन टिम सदस्यहरुलाई सचेत बनाएका छन्। ‘हामी धेरै ठूला चुनौती र ठूला लक्ष्यका लागि तयार हुनुपर्छ। हरेक खेलमा जितका लागि हामी अत्यन्तै आक्रोषित, आक्रामक र लोभी हुन सक्नुपर्छ,’ उनले भने, ‘प्रिमियर लिगका सबै टिम सशक्त छन्। त्यसैले हामी प्रतिस्पर्धाका लागि तयार हुनुपर्छ। सरुवा बजारमा केही खेलाडी भित्र्यायौं भनेर खुसी मनाएर हाम्रो उदेश्य पूरा हुँदैन।’

सरुवा बजारमा प्रतिद्वन्द्वीसँग पछि परेका माउरिन्होले यसपाली १९९० पछि पहिलो पटक लिभरपुलले प्रिमियर लिगको उपाधि जित्ने सम्भावना रहेको स्विकारेका छन्। ‘गत सिजनमा गरेको लगानी र यसपालीको खर्च हेर्ने हो भने लिभरपुलले प्रिमियर लिगमा कीर्तिमानी रकम खर्चेको छ। च्याम्पियन्स लिगको फाइनल पुगेको टिमले थप स्टार खेलाडी भित्र्याएपछि उनीहरू यसपाली उपाधिको मुख्य दाबेदार बनेका छन्। यति धेरै लगानी गर्ने टिमले जित्नुपर्छ,’ अमेरिकाको प्रि–सिजन भ्रमणमा लिभरपुलसँग ४–१ ले पराजित युनाइटेडका प्रशिक्षक माउरिन्होले भने। 

ग्वार्डिओलाको सिटीसँग दुरी घटाउनका लागि केही स्टार भित्र्याउने योजनामा असफल भएका माउरिन्होले जारी सरुवा बजारबाट ब्राजिली मिडफिल्डर फ्रेड, पोर्टोका युवा रक्षक डियोगो डालोट र भेट्रान गोलवकिपर ली ग्रान्टलाईमात्र ओल्ड ट्राफोर्ड ल्याउन सके। फ्रेडको नाम तुलनात्मक रुपमा ठूलो भएपनि रुसमा उनले ब्राजिलका लागि एक मिनेट पनि खेल्न पाएका थिएनन्। 

वितेको सिजन प्रिमियर लिग जित्दा युनाइटेडलाई १९ अंकले पछि पारेको सिटी यसपाली सरुवा बजारमा शान्त रहे पनि माहरेजलाई ६ करोड पाउन्डमा भित्र्याउन सफल भयो। लिभरपुलले ठूलो धनराशी खर्चेर स्टार खेलाडीहरु भित्र्याए पनि आफ्नो टिम प्रिमियर लिगको उपाधि रक्षा गर्न सक्षम रहेको ग्वार्डिओलाले विश्वास व्यक्त गरे।

‘हरेक क्लबले आफ्नो विश्वासका लागि लगानी गर्छन। लिभरपुलको इतिहास संवृद्ध छ। उनीहरू सधैको दाबेदार हुन, यसपाली पनि उनीहरू दाबेदार हुन्,’ ग्वार्डिओलाले भने।

विश्वकप दौरान आफू नयाँ चुनौती स्विकार्न तयार रहेको बताएपछि चेल्सीका इडेन हाजार्ड सरुवा बजारको सनसनी हुने अनुमान गरिएको थियो। नयाँ चुनौतीको भनाई राखेपछि उनले रियाल मड्रिडमा क्रिस्टियानो रोनाल्डोको ठाउँ लिने चर्चा थियो। युरोपियन च्याम्पियन रियालले चेल्सीका गोलकिपर थियाबाउट कोर्टोइस र ब्राजिली फरवार्ड विलियनमाथि पनि इच्छा  देखाएको थियो। तर पछिल्लो समय विकसित घटनाक्रमअनुसार हाजार्ड स्टामफोर्ड ब्रिजमै बस्ने देखिएको छ।

बेलायतको सन पत्रिकाले बुधबार जनाएअनुसार कोर्टोइसले यसपाली क्लबले आफूलाई नबेचे अर्को वर्ष स्वतन्त्र सरुवा प्रणालीअन्तर्गत नयाँ क्लब खोज्ने बताइसकेका छन्। २०१६–१७ को प्रिमियर लिग च्याम्पियनले यसपाली नयाँ प्रशिक्षक माउरिजियो सारीको नेतृत्वमा गरको एकमात्र मुख्य अनुबन्धन भनेको नेपोलीबाट ब्राजिली मिडफिल्डर जोर्जिन्होलाई भित्र्याउनु हो।

दुई दशकभन्दा लामो समयपछि नयाँ प्रशिक्षकको नेतृत्वमा खेल्ने तयारीमा रहेको आर्सनलले स्विट्जरल्यान्डका रक्षक स्टेफन लेस्टाइनरलगायतका केही खेलाडी भित्र्याएको छ। इमिरेट्सका नयाँ प्रशिक्षक युनाई इमरेले कुनै स्टार नामलाई भने महत्व दिएनन्। 

प्रिमियर लिगका शीर्ष टोलीमध्ये टोटेनह्यामले भने सरुवा बजारबाट एकजना पनि खेलाडी अनुबन्ध गरेको छैन। सरुवा बजार अझै खुला छ। अन्तिम समयमा बजार चलायमान हुने चलन पनि छ, तर समय धेरै बाँकी नरहेकाले प्रिमियर लिगमा ठूलो सरुवा हुने सम्भावना कम रहेको अनुमान छ।

प्रकाशित: १९ श्रावण २०७५ ०५:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App