१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पर्याप्त आराम नदिएकोमा आपत्ति

जुरिच – विश्व फुटबल खेलाडीको संगठन फिफप्रोले रूस विश्वकपमा सहभागी भएका १५ खेलाडीलाई पर्याप्त आरामबिना नै पुनः क्लबबाट खेल्न बाध्य पारिएको भन्दै आपत्ति जनाएको छ। 

विश्वकप सकिएपछि क्लबको अभ्यासमा सहभागी हुनुअघि खेलाडीले कम्तीमा चार साता अनिवार्य आराम पाउने नियम भए पनि त्यसको पालना नभएको फिफप्रोको आरोप छ। 

‘क्लबको आवश्यकता र स्वार्थका कारण खेलाडीले अनावश्यक तनावमा झेल्नुपरेको छ । प्रतियोगितामा कसरी उत्कृष्ट प्रदर्शन गर्ने भन्ने सोचमा खेलाडी चिन्तित देखिन्छन्,’ विश्व फुटबल खेलाडीको संगठनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘युइएफए च्याम्पियन्स लिग र युइएफए युरोपा लिगजस्ता प्रतियोगितामा क्लबको लगानी हुन्छ । तर त्यसले खेलाडीको स्वास्थ्यअवस्थामा प्रतिकूल असर गर्ने गरेको छ।’

रूस विश्वकपमा समूहचरणका खेल जुन २८ मा सकिँदा जुलाई १५ मा फाइलन सम्पन्न भएको थियो । च्याम्पियन्स लिगको नयाँ सिजनका लागि जुलाई १० बाट छनोट चरणका खेल सुरु भएका थिए । जुन विश्वकपका नकआउट चरणसँग जुधेको थियो ।  यसको प्रत्यक्ष असर खेलाडीमा परेको थियो।

आइसल्यान्डका लागि विश्वकप खेलेका एमोर इन्भी ट्राउस्टिनले च्याम्पियन्स लिग छनोट चरणको खेलमा कोसोभारविरुद्ध स्विडिस च्याम्पियन माल्मोका लागि गोल गरेका थिए । माल्मोले उक्त खेलमा ३–० को जित हासिल गरेको थियो। 

सर्बियाबाट विश्वकपमा खेलिसकेका टोली सदस्य नेमान्जा रादोन्जिक र मिलान रोडिकले रेड स्टार बेलग्रेडबाट जुलाई ११ मा च्याम्पियन्स लिगको छनोट खेलेका थिए । यस्तै भ्लादमिर स्टोजकोभिजले त्यसको भोलिपल्ट पार्टिजानबाट  युरोपा लिगको छनोट खेल खेलेका थिए। 

साना क्लबहरू युरोपियन प्रतियोगिताको छनोट खेलमा व्यस्त रहँदा ठूला क्लब भने यति बेला सिजनपूर्वको अभ्यासका लागि भ्रमणमा निस्किएका छन् । आइतबार म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले रूस विश्वकपमा सहभागी भएका खेलाडीलाई बिदामा नबसी नयाँ सिजनको तयारीका लागि क्लबमा फर्किन आग्रह गरेका थिए। 

युनाइटेडका पहिलो रोजाइका खेलाडी पाउल पोग्बा, रोमेलु लुकाकु र जेसी लिंगार्डले प्रिमियर लिगमा लेस्टर सिटीविरुद्धको उद्घाटन खेल गुमाउनेछन् ।  तर इङ्ल्यान्डका रक्षक फिल जोन्स र फरवार्ड मार्कुस रसफोर्ड भने सुरुआती खेलअघि नै क्लबमा फर्किने अपेक्षा गरिएको छ। 

अमेरिका भ्रमणमा रहेको युनाइटेड लिभरपुलसँग शनिबार ४–१ ले पराजित हुँदा प्रशिक्षक माउरिन्हो चिन्तित देखिएका थिए । खेलाडीलाई छिट्टै टोलीमा फर्काउन माउरिन्होले आह्वान गरेका थिए।

 

प्रकाशित: १८ श्रावण २०७५ ०४:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App