१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

म्यानचेस्टरद्वारा रियाल पराजित

सिकागो – म्यानचेस्टर युनाइटेडले बुधबार रियाल मड्रिडलाई २–१ ले पराजित गर्दै सिजनपूर्वको अभ्यास खेलमा पहिलो जित हात पार्दै अमेरिका भ्रमणको सुखद अन्त्य गरेको छ।

यसअघिका तीन अभ्यास खेलमा दुई बराबरी र एक हारको सामना गरेको युनाइटेडको जितमा स्ट्राइकर एलेक्सिस सान्चेज र एन्डर हरेराले समान एक गोल गरे । रियालका लागि करिम बेन्जेमाले एक गोल गरे पनि टोलीको हार टार्न सकेनन् ।

सिजनपूर्वको अभ्यासको कुनै महत्व नभएको बताउँदै आएका युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले रियालविरुद्धको जितपछि पनि सोही कुरा दोहोर्याए।

‘मैले सिजनपूर्वका अभ्यास भ्रमणबाट केही सिकिनँ,’ युनाइटेडका प्रशिक्षक माउरिन्होले भने, ‘मलाई सान्चेज, हरेरा र हुवाँ माटाको क्षमता थाहा छ ।  उनीहरू आफूलाई प्रमाणित गर्न चाहन्छन् र मिहिनेत पनि गरिरहेका छन् । हामीले सुखद नतिजाका लागि खेल्यौं तर रणनीतिक रूपमा यो जितको कुनेै अर्थ छैन।’

१८औं मिनेटमा सान्चेजको माटियो डार्मियानको पासमा गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । त्यसको ९ मिनेटपछि हरेराले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारेका थिए । ४५आैं मिनेटमा बेन्जेमाले गोल गर्दै रियाललाई खेलमा फर्काउने प्रयास गरेका थिए । बेन्जेमाले थियो हर्नान्डेजको पासलाई पोस्टको दिशा दिएका थिए ।

 ‘मलाई केही थहा छैन,’ युनाइटेड टोलीमा एन्थोनी मार्सियालको लगातारको अनुपस्थितिका बारेमा सोधिएको प्रश्नमा माउरिन्होले भने । यता पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि पाएका अवसर सुदुपयोग गर्न नसक्दा सिजनपूर्वको पहिलो अभ्यास खेलमा जित हात पार्ने रियालका नयाँ प्रशिक्षक युलियन लोप्तेगीको लक्ष्यले पूर्णता पाउन सकेन।

रूस विश्वकप सुरु हुनु एक दिनअघि आफूहरूको जानकारीबिना रियालको प्रशिक्षक बन्ने सम्झौता गरेको भन्दै स्पेनिस फुटलब संघले लोप्तेगीलाई बर्खास्त गरेको थियो । रियालविरुद्धको खेलसँगै स्पेनिस गोलकिपर डेभिड डी हिया टोलीमा फर्कंदा यसै सिजन ओल्ड ट्राफोर्ट भित्रिएका ब्राजिली खेलाडी फ्रेडले युनाइटेडबाट डेब्यु गरे । त्यस्तै रियालले पनि यसै सिजन क्लबमा भित्रिएका १८ वर्षे स्ट्राइकर भिनिसियोस जुनियरलाई डेब्यु गराएको थियो।

यता बार्सिलोनाले भने सिजनपूर्वको दोस्रो अभ्यास खेलमा इटालियन क्लब एएस रोमालाई ४–२ को नतिजा सुम्पियो । खेलमा २ पटक अग्रता लिए पनि जोगाउन नसक्दा बार्सिलोना निराश बनेको थियो  । यसअघि पहिलो अभ्यास खेलमा टोटेनह्यामलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गरेको बार्सिलोनाले बुधबार भने जितको लयलाई निरन्तरता दिन सकेन।खेलको सातौं मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । ३५औं मिनेटमा टेफन एल सारावेले गोल गर्दै रोमालाई खेलमा फर्र्काएका थिए । ५०औं मिनेटमा माल्कोमले गरेको गोलमा बार्सिलोना पुनः  खेलमा अग्रता लिएको थियो । माल्कोम यसै सिजन बार्सिलोना भित्रिएका थिए । माल्कोमलाई भित्र्याउन बार्सिलोना र रोमाबीच प्रतिस्पर्धा चले पनि अन्ततः बार्सिलोनाले बाजी मारेको थियो।

खेल सकिन अन्तिम १२ मिनेट बाँकी हुँदा ३ गोल गर्दै रोमाले नतिजा आफ्नो पक्षमा पारेको थियो । ७८औं मिनेटमा एलेसान्ड्रो फ्लोरेन्जीले गोल गर्दै रोमालाई खेलमा फर्काएका थिए । त्यसको ५ मिनेटपछि ब्रायन क्रिस्टान्टेले गोल गर्र्दैै रोमालाई अग्रता दिलाएका थिए । खेल सकिन ४ मिनेट बाँकी हुँदा डिएगो पेरोटीले गोल गर्दै रोमाको सहज जित पक्का गरेका थिए।

यता टोटेनह्यामले एसी मिलानलाई १–० ले पराजित गर्याे । ४७आैं  मिनेटमा जर्ज एनकोन्डोउले गरेको गोलमा टोटेनह्यामको जितमा पर्याप्त बन्यो।

प्रकाशित: १७ श्रावण २०७५ ०४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App