coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चार अर्बकोे घिउ बिकेन

काठमाडौं - डेरी उद्योगले उत्पादन गरेको करिब चार अर्ब रुपैयाँको घिउ बिक्री नभएपछि उद्योगी चिन्तित भएका छन् । न्यून बिजकीकरण र चोरी पैठारी भएर भारतबाट आयात भएको घिउसँग प्रतिस्पर्धा गर्न नसकेपछि घिउ बिक्री नभएको डेरी सञ्चालकको भनाइ छ।

करिब चार अर्ब रुपैयाँको घीउ बिक्री नभएपछि स्टक रहेको नेपाल डेरी एसोसिएसनले जनाएको छ । घिउ बिक्री नहुँदा किसानलाई दिने भुक्तानी समेत रोकिन थालेको एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए । ‘चार अर्ब रुपैयाँको घिउ बिक्री नहुँदा किसानको भुक्तानी पनि रोकिएको छ,’ उनले भने, ‘भारतबाट रामदेवलगायत विभिन्न ब्रान्डको घिउ निकै सस्तो मूल्यमा आयात भएपछि समस्या आएको हो।’

सापकोटाका अनुसार भारतमै प्रतिकिलो साढे पाँच सय भारु (आठ सय रुपैयाँ) मा बिक्री भैरहेको रामदेवको घिउ नेपालमा आठ सय रुपैयाँमा बिक्री भइरहेको छ । ‘भन्सारमात्र ३० प्रतिशत जोड्दा ११ सय रुपैयाँ बढी हुन्छ,’ उनले भने, ‘तर आठ सय रुपैयाँमा कसरी बिक्री गरिरहेको छ ? व्यवसायीका अनुसार करिब ४० लाख किलो घिउ स्टक छ । दुग्ध विकास संस्थानसँग मात्र करिब चार लाख किलो बटर स्टक छ ।स्वदेशी घिउ मूल्य घटाएर आठ सय रुपैयाँ किलोमा बेच्न सक्ने अवस्थामा नरहेकाले समस्या परेको सापकोटाले बताए । ‘आठ सय रुपैयाँ किलोमा बिक्री गर्दा लागत मूल्य नै उठ्दैन,’ उनले भने ।विदेशबाट आयात हुने घिउले राजस्व छलेको हुन सक्ने व्यवसायीको दाबी छ।

न्यून बिजकीकरणको समस्याबारे अर्थमन्त्री युवराज खतिवडाको पनि ध्यानाकर्षण गराएको एसोसिएसनका महासचिव प्रह्लाद दाहालले बताए । दाहालका अनुसार विगतमा विदेश निर्यात हुँदै आएको छुर्पी पनि निर्यात हुन छाडेपछि घिउ उत्पादन बढेकाले पनि बजार अभाव भएको छ । ‘दूध उत्पादन पनि १० प्रतिशत बढेको छ,’ उनले भने, ‘छुर्पी विदेश निर्यात नहुँदा बजारमा दूध आपूर्ति बढेपछि घिउ उत्पादन पनि बढेको छ ।’ किसानलाई डेढ महिनादेखि भुक्तानी दिन नसकेको उनले बताए।

भारतबाट चोरी निकासी र न्यून बिजकीकरणमा सस्तो मूल्यमा घिउ आएपछि असर पुगेको व्यवसायीको दाबी छ ।

सरकारले भन्सारमा कडाइ नगरे डेरी क्षेत्रको लगानी जोखिममा पर्ने डेरी एसोसिएसनका निर्वतमान अध्यक्ष सुमित केडियाले बताए । ‘सरकारले सही भन्सार रेट लगाउनु पर्यो,’ केडियाले भने, ‘बजार व्यवस्थित नगरे अर्बौं रुपैयाँको लगानी जोखिममा छ ।’ ठूलो परिमाणमा घिउ स्टक हुँदा उद्योग सञ्चालनमा कठिनाइ भएको उनले बताए । केडिया सीताराम दूधका सञ्चालक हुन्।

सीताराम, अर्पण, काठमाडौं डेरी, नेपाल डेरी, दुग्ध विकास संस्थान लगायत डेरीसँग लाखौं किलो घिउ स्टक छ । चार सय टन (चार लाख किलो) बटर स्टक रहेको दुग्ध विकास संस्थानका बजार विभाग प्रमुख सन्दिप झाले बताए । ‘दूधको फ्लो बढेपछि बटर धेरै उत्पादन भएको छ,’ झाले भने । ६ सय टन धुलो पनि स्टक रहेको संस्थानले जनाएको छ । मुलुकमा निजी डेरी क्षेत्रमा करिब २० अर्ब रुपैयाँ लगानी रहेको एसोसिएसनले जनाएको छ ।

बजारमा दूधको फ्लो बढेपछि डेरी उद्योगीले पनि किसानलाई दिँदै आएको अतिरिक्त सुविधा (अनुदान) कटौती गरेका छन् । सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यबाहेक अतिरिक्त अनुदान कटौती गरेपछि किसान आन्दोलित छन् ।भारतबाट सस्तो मूल्यको पाउडर आएकाले पनि दूध खपतमा कमी आएकाले दूध व्यवस्थापन गर्न हम्मे परेको डेरी सञ्चालक बताउँछन् । उत्पादन भएको दूध खपत नभएपछि मखन उत्पादन बढाएको दुग्ध विकास संस्थानका निमित्त महाप्रबन्धक ईश्वरीराज न्यौपानेले बताए।

दूध खपतसमेत घटेकाले दूधको बजार प्रभावित भएको व्यवसायी बताउँछन् । केही समयअघि सरकारले अनुगमन गर्दा दूधको बद्नाम हुने गरी हल्ला चलाएपछि दूध उपभोग २५ देखि ३० प्रतिशतले घटेको डेरी सञ्चालकको दाबी छ ।
किसानले उत्पादन गरेको दूध अनिवार्य खरिदको व्यवस्था मिलाउन पहल भइरहेको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष ०७३÷७४ मा १९ लाख ११ हजार दुई सय ३९ र गत आव २१ लाख ४० हजार टन दूध उत्पादन भएको थियो । दूधको बजार व्यवस्थित हुन नसके पनि सरकारले आगामी तीन वर्षमा दूध उत्पादन करिब एक अर्ब लिटर बढाउने योजना बनाएको छ । प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यक भए पनि अहिले ७१ लिटरमात्र उत्पादन भइरहेको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ ।  पशुपालनमा निजी क्षेत्रलाई आकर्षित गर्दै व्यावसायीकरण गरी उत्पादन बढाएर आव ०७७÷७८ सम्म तीन अर्ब १३ करोड लिटर दूध उत्पादन गर्ने लक्ष्य लिएको छ।

चालु आर्थिक वर्ष ०७४-७५ मा दुई अर्ब १४ करोड लिटर (२१ लाख ४० हजार टन) दूध उत्पादन हुने अनुमान गरिएको छ । तीन वर्षमा अहिलेको भन्दा ९९ करोड ४० लाख लिटर दूध उत्पादन बढाउने लक्ष्य सहित रणनीति निर्माण गरेको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगले तयार गरेको त्रिवर्षीय मध्यकालीन रणनीतिमा आगामी आर्थिक वर्ष ०७५-७६ मा दुई अर्ब ५९ करोड लिटर, आर्थिक वर्ष ०७६-७७ मा दुई अर्ब ८४ करोड ९० लाख लिटर दूध उत्पादन गर्ने लक्ष्य छ।

दूधले कुल गार्हस्थ उत्पादनमा नौ प्रतिशत योगदान गरेको छ । वार्षिक माग आठ प्रतिशतले बढ्दै गएको छ । ग्रामीण क्षेत्रमा करिब साढे चार लाख र सहरी क्षेत्रमा डेरी उद्योगमार्फत २० हजारले रोजगारी पाएको सरोकारवाला बताउँछन् ।

प्रकाशित: १७ श्रावण २०७५ ००:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App