१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दुई कोरियाबीच सैनिक तहमा छलफल

उत्तर कोरियाली लेफ्टिनेन्ट जनरल आन इक–सान र दक्षिण कोरियाली मेजर जनरल किम डो–ग्युन सीमावर्ती गाउँ पानमुनजोममा आयोजित बैठकमा हात मिलाउँदै । तस्बिर : एजेन्सी

सोल– उत्तर र दक्षिण कोरियाका उच्च सैनिक नेतृत्वबीच सीमावर्ती सहर पानमुनजोममा मंगलबार वार्ता भएको छ।

अप्रिल महिनामा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इन र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच भएको शिखर बैठकको सम्झौता कार्यान्वयन गर्ने गरी दुई देशका सैनिक अधिकारीबीच वार्ता भएको कोरियाली समाचार एजेन्सी योन्हापले जनाएको छ।

दुई कोरियालाई छुट्याउने गैरसैनिक क्षेत्र (डिएमजेड)मा रहेको दक्षिण कोरियाली शान्ति भवनमा दुई देशका उच्च सैनिक अधिकारीबीचको बैठक भएको बताइएको छ । ‘सैनिक तनाव कम गर्न र दुई कोरियाबीच विश्वासको वातावरण निर्माण गर्न एउटा व्यवहारिक उपायको खोजी गर्नेतर्फ हाम्रो वार्ता केन्द्रित भएको छ,’ वार्तामा सहभागी दक्षिण कोरियाली प्रतिनिधिमण्डलका प्रमुख एवं मेजर जनरल किम डो–ग्युनलाई उद्धृत गर्दैै योन्हापले जनाएको छ ।

वार्तामा दक्षिण कोरियाबाट पाँच सदस्यीय उच्च सैनिक नेतृत्व सहभागी रहेको बताइएको छ । उत्तर कोरियाका तर्फबाट लेफ्टिनेन्ट जनरल आन इक–सानको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको योन्हापले उल्लेख गरेको छ । पर्यवेक्षकहरुका अनुसार, दुवै पक्षले पानमुनजोमको संयुक्त सुरक्षा क्षेत्र (जेएसए)लाई हातहतियारविहीन बनाउनेतर्फ विचार आदानप्रदान गर्न सक्नेछन् ।

उनीहरुले डिएमजेडलाई ‘शान्ति क्षेत्र’का रूपमा घोषणा गर्न सक्नेछन् । यस विषयमा गत महिनाको वार्तामा पनि चर्चा भएको योन्हापले जनाएको छ । उनीहरुबीच सीमावर्ती पोस्टमा तैनाथ सैनिक र उपकरणलाई परीक्षणका रुपमा हटाउने विषयमा दक्षिण कोरियाले राखेको प्रस्तावमाथि पनि छलफल हुने सम्भावना रहेको छ । दक्षिण कोरियाले डिएमजेडमा करिब ६० वटा सैनिक पोस्ट स्थापना गरेको छ, जबकी उत्तर कोरियाली एक सय ६० वटा त्यस्ता पोस्ट खडा गरेको छ ।

पर्यवेक्षकले उत्तरी सामुद्रिक सीमाका विषयमा समेत शान्ति रेखा कायम गर्न दुवै पक्ष सहमत हुने सम्भावना औंल्याएका छन् । उनीहरुबीच सन् १९५० देखि १९५३ को कोरियाली युद्धका क्रममा मारिएका सैनिकका अवशेषको खोजी गर्नेसम्बन्धी एक परियोजनामा सहमति जनाउने सम्भावना रहेको योन्हापले जनाएको छ । झण्डै एक दशकपछि बसेको गत महिनाको वार्तामा सैनिक सञ्चार खुला गर्ने विषयमा सहमति भएको थियो ।

 

प्रकाशित: १६ श्रावण २०७५ ०६:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App