१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रपति र विपक्षी दुवै जित हुनेमा विश्वस्त

तस्बिर : एजेन्सी

हरारे– रोबर्ट मुगावेको लगभग चार दशक लामो शासन अन्त्य भएपछि पहिलो पटक भएको निर्वाचनमा आफ्नो जित निस्कनेमा जिम्बाब्वेका राष्ट्रपति एमर्सन नंगाग्वा र उनका मुख्य प्रतिस्पर्धी नेल्सन चामिसा दुवै ढुक्क देखिएका छन्।

लामो समयदेखि जिम्बाब्वेको सुरक्षा प्रमुखका रूपमा काम गरिरहेका ७५ वर्षीय नंगाग्वाले गत नोभेम्बरमा मुगावेलाई सत्ता छोड्न बाध्य बनाएका थिए । नोभेम्बरदेखि जिम्बाब्वेको राष्ट्रपति पदमा रहेका उनले देशैभरबाट प्राप्त सूचनाका आधारमा नतिजा आफ्नो पक्षमा आउनेबारे सकारात्मक भएको बताएका छन्।

देशको प्रमुख प्रतिपक्षी मुभमेन्ट फर डेमोक्र्याटिक चेन्ज (एमडिसी)का ४० वर्षीय नेता चामिसाले पनि मतदान आफ्नो पक्षमा भएकाले जित सुनिश्चित भएको जिकिर गरेका छन् । सोमबार सम्पन्न निर्वाचनको पर्यवेक्षण गरेका पश्चिमा कूटनीतिज्ञहरु र स्थानीय पर्यवेक्षण समूहका अनुसार पनि प्रतिस्पर्धा वर्तमान राष्ट्रपति नंगाग्वा र विपक्षी नेता चामिसाबीच नै हुने बताएका छन् । उनीहरुले दुई नेताबीच प्रतिस्पर्धा अत्यन्तै तीव्र हुने अनुमान पनि गरेका छन्।

जिम्बाब्वेका निर्वाचन आयोगले सोमबारको निर्वाचनमा कहींकतै धाँधली नभएको बताएको छ । स्थानीय पर्यवेक्षण संस्था जिम्बाब्वे इलेक्सन सपोर्ट नेटवर्क (जेडइएसएन)ले भने सोमबारको निर्वाचनमा देशको निर्वाचन आयोगले स्वतन्त्र रूपमा काम गरेको भन्ने विषयमा सरोकार व्यक्त भएको बताएको छ । यद्यपि जेडइएसएनले आफ्नो प्रारम्भिक रिपोर्टमा विगतका वर्षहरुमा भन्दा निर्वाचन व्यवस्थित रहेको उल्लेख गरेको थियो।

जिम्बाब्वेको निर्वाचन आयोगले स्थानीय समयअनुसार मंगलबार दिउँसो ३ बजेबाट निर्वाचनको मत परिणाम घोषणा गर्न सुरु गर्ने अपेक्षा गरिए पनि अन्तिम मत परिणाम भने अगस्ट ४ सम्म थाहा नहुने बताइएको छ । राष्ट्रपति निर्वाचित गर्नुबाहेक पनि जिम्बाब्वेका नागरिकले सोमबारको निर्वाचनमा देशको दुई सय १० सदस्सीय संसद्का लागि पनि मतदान गरेका थिए । साथै नौ हजारभन्दा बढी काउन्सिलर्सका लागि पनि उनीहरुले मतदान गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

आर्थिक समस्याले जुधिरहेको जिम्बाब्वेलाई त्यसबाट बाहिर निस्कन विश्वसनीय निर्वाचन आवश्यक रहेको रोयटर्सले जनाएको थियो । त्यसकारणले पनि विगतको भन्दा सोमबारको निर्वाचन शान्तिपूर्ण भएको हुनसक्ने बताइएको छ । विदेशी सहायता पाउन र दुःखदायी प्रतिबन्धबाट बाहिर निस्कन पनि जिम्बाब्वेमा निष्पक्ष निर्वाचन आवश्यक रहेको थियो । मुगावे शासनकालमा भएका कैयौं निर्वाचन धाँधलीपूर्ण र हिंसात्मक भएका थिए । जानु–पिएफ पार्टीलाई सत्तामा टिकाइ राख्नका लागि मुगावेले शक्तिको दुरुपयोग गर्दै निर्वाचन धाँधलीपूर्ण गराउने गरेका थिए।

सोमबारको निर्वाचनमा वर्तमान राष्ट्रपति नंगाग्वा र चामिसा जसले जिते पनि ३७ वर्षभन्दा लामो समय शासन गरेका मुगावेको पालामा विकसित भएको भ्रष्टाचार, अस्तव्यस्ता र कूटनीतिक अलगवावादको समस्या हटाउनु अत्यन्तै चुनौतीपूर्ण हुने अनुमान गरिएको छ । कुनै बेला अफ्रिकाको शक्तिशाली अर्थतन्त्र रहेको जिम्बाब्वे मुगावेको शासनकालमै यी समस्याले घेरिएको थियो । सोमबारको निर्वाचनमा ठूलो खालको धाँधली नभएको निर्वाचन पर्यवेक्षण गरेका स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

यद्यपि केही मतदान केन्द्रमा भने सानातिना धाँधली र सत्तारुढ जानु–पिएफ दलले मतदातालाई प्रभावित पार्नेजस्ता कार्य भएको बताइएको छ । राज्य सञ्चालित सञ्चारमाध्यम पनि सत्तारुढ दलकै पक्षमा लागेको विपक्षीले आरोप लगाएका छन्।निर्वाचनमा जे जस्तो नतिजा आए पनि जिम्बाब्वेमा अशान्ति हुने पूर्वानुमान गरिएको छ । एमडिसीको पक्षमा नतिजा नआए जिम्बाब्वेमा हिंसासहित सडक आन्दोलन हुने सम्भावना रहेको छ । त्यसैगरी वर्तमान राष्ट्रपति नंगाग्वाको दल जानु–पिएफले हारे उनीहरुले निर्वाचन परिणाम नस्वीकार्ने कतिपय जिम्बाब्वेली नागरिकले डर प्रकट गरेका छन्।

 

 

प्रकाशित: १६ श्रावण २०७५ ०६:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App