२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राजपा महामन्त्रीमा सिंह सुटुक्क मनोनित

काठमाडौं- राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसी निजामती कर्मचारी मञ्चका निवर्तमान अध्यक्ष विनोद सिंहलाई सुटुक्क पार्टीको महामन्त्रीमा मनोनित गरेका छन्।

मञ्चको अध्यक्ष भएको बेला सिंहले बबरमहल स्थित मधेसी कर्मचारी मञ्चको भवनलाई राजपाको पार्टी कार्यालय राख्न दिने निर्णय गरेका थिए। जस अनुसार, गत साल असार महिनादेखि राजपाको पार्टी कार्यालय बबरमहलमा सरेको छ। स्रोतका अनुसार मञ्चको भवन पार्टी कार्यालयलाई प्रयोग गर्न दिए वापत सिंहलाई प्रतिनिधि सभा या प्रदेश सभामा टिकट दिने, टिकट दिन नसके समानुपातिकमा मनोनित गर्ने मौखिक सहमती राजपाका अध्यक्ष मण्डल र मञ्चवीच भएको थियो । सो सहमती अनुसार सिंहले सरकारी जागिरबाट राजिनामा दिए। सरकारी जागिरीबाट राजिनामा दिए पछि मञ्चको अध्यक्ष पद पनि उनले छाडे। तर राजपाले उनलाई धोका दियो। न त टिकट दियो न समानुपातिकमा मनोनित गर्‍यो।

सिंहलाई धोका दिए पछि मञ्चका पदाधिकारीहरूले पार्टी कार्यालय तोडफोड गरे। पार्टी कार्यालयमा राखिएको साइनबोर्ड समेत उनीहरूले च्याते। सो घटनाको छानविन गर्न राजपाले तीन सदस्यीय छानविन समिति बनायो। छानविन समितिले तोडफोड घटनामा सहभागी भएका व्यक्तिहरूलाई कारबाही गर्न सिफारिश गरेको थियो। तर नेतृत्वले तोडफोड घटनामा सहभागी भएकाहरूलाई कारबाही गर्न सकेन । यता मधेसी मञ्चका केही पदाधिकारीहरूले बेला बेलामा पार्टी कार्यालय खाली बनाउनु पर्ने अभिव्यक्ति दिन थाले। मञ्चका केन्द्रिय समितिको बैठकमा पनि केही केन्द्रिय सदस्यहरूले पार्टी कार्यालय खाली गर्नु पर्ने, राजपालाई भवन प्रयोग गर्न दिन नहुने तर्क उठाए। तर मञ्चले यसको आधिकारिक निर्णय भने गर्न सकेको थिएन। मधेसी मञ्चलाई भवन बनाउन २०६९ सालमा तत्कालीन सरकारले जग्गा उपलब्ध गराएको थियो।

मधेसी मञ्चले उपलब्ध गराएको भवन छाडेर अन्य ठाउमा सर्न राजपालाई सजिलो थिएन। राजपाका अध्यक्ष मण्डलका संयोजक तथा पार्टीका अन्य नेताहरूलाई कार्यालय भवन प्रयोग गर्न सजिलो होस भनी पार्टी कार्यालय भवनमा अरू दुई तला थपियो। दुई तला थप्ने काम पनि राजपाले गरेको थियो तर मञ्चका एक पदाधिकारी भने दुई तला थप्नको लागि लागेको सबै खर्च मञ्चले नै व्यहोरेको दावी गरे। सो भवन अहिले पाँच तलाको छ। कार्यालय भवनमा दुई तला थपिसके पछि अन्य ठाउँमा पार्टी कार्यालय सार्न पार्टीका नेताहरूलाई सकस थियो। यो सबै सकस टार्न अध्यक्ष मण्डलका संयोजक ठाकुरले सिंहलाई महामन्त्रीमा मनोनित गरेका छन्। तर राजपाका अन्य नेताहरू भने सिंहलाई सुटुक्क महामन्त्रीमा मनोनित गरिएको भन्दै ठाकुरको आलोचना गरेका छन्। अध्यक्ष मण्डलका एक सदस्य भन्छन, ‘सिंहलाई महामन्त्रीमा मनोनित गर्नु थियो भने कमसेकम अध्यक्ष मण्डलका सदस्यहरूलाई जानकारी गराई मनोति गरेको भए हुन्थ्यो। यो त सरासर स्वइच्छाचारी भयो।’ सिंहलाई महामन्त्रीमा मनोनित गरिएको विषयमा भने आफ्नो विरोध नभएको उनले बताए । तर महामन्त्रीमा मनोनित भएका सिंहले पार्टीको लागि आफूले गरेको योगदान र संघर्षको कदर गरी पार्टीले आफूलाई महामन्त्रीमा मनोनित गरेको बताए। उनले भने, ‘ २०५९साल देखि मधेस केन्द्रित पार्टीको लागि सहयोग र संघर्ष गर्दै आएको छु। अहिले गरिएको मनोनयन पनि सोही सोही कारण हो।’ पार्टी कार्यालयलाई भवन उपलब्ध गराएको विषय यसमा नजोडिएको पनि उनले बताए । उनले भने, ‘मैले गरेको योगदानलाई पार्टीले सम्झियो । यसमा म खुशी छु । यसमा भवन उपलब्ध गराएको विषय जोडिएको छैन।’

महामन्त्री मात्रै २९

सिंहलाई महामन्त्रीमा मनोनित गरे पछि राजपामा महामन्त्रीको सख्या अब २९ पुगेको छ । यसअघि महामन्त्रीको संख्या ३१ पुगेको थियो तर चुनावको बेला तीन महामन्त्री विज्रेशकुमार गुप्ता, जगींलाल राय र विमल श्रीवास्तव राजपा छाडेर अन्य पार्टीमा प्रवेश गरे पछि महामन्त्रीको सख्या २८ पुगेको थियो। सिंह मनोनित भए पछि अब महामन्त्रीको संख्या २९ पुगेको छ। यसैगरी राजपामा उपाध्यक्षको संख्या २८ पुगेको छ। यसैगरी पदाधिकारीको सख्या १सय ३४ पुगेको छ। राजपामा केन्द्रिय सदस्य मात्रै ८ सय १५ जना छन् । आगामि बैशाखमा राजपाले पहिलो महाधिवेशन गर्दै छ। महाधिवेशन पछि केन्द्रिय समितिको संख्या घटाउने तयारी राजपाले गरेको छ।

प्रकाशित: १५ श्रावण २०७५ १२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App