१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

वन्यजन्तुको आतंकले किसान हैरान

हरिवन नगरपालिका अन्तर्गत घुर्कौलीका एक किसानले मकैबारीमा बँदेल नपसोस् भनेर वरिपरी बाँधेको डोरी । तस्बिर : टंक/नागरिक

सर्लाही - जंगली जनावरले खेतमा लगाएको बाली सखाप पार्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् ।बँदेल, नीलगाई, घोडगधालगायत जंगली जनावरले खेतमा लगाएको बाली खाने र नष्ट पार्ने गरेका कारण किसान पीडित बनेका हुन् ।

पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट दक्षिण भारतीय सिमाक्षेत्रसम्म महिनौंदेखि वन्यजन्तु आतंकले आफूहरुलाई समस्यामा पारेको स्थानीय किसानको गुनासो छ । वन्यजन्तुको आक्रमणबाट बालीनाली जोगाउन खेतमा विद्युतीय करेन्ट फिट गर्ने, वरिपरी बाँसको भाटामा डोरी बाँधेर बारीलाई घेर्नेलगायत उपाय अपनाउँदासमेत नभएपछि पालैपालो रुँगेर बस्न बाध्य भएको उनीहरु बताउँछन्।

बालीनाली नष्ट पार्दा आफूहरु निकै मारमा पर्दै आएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनको घुर्कौली निवासी हरिनारायण महतोले गुनासो गरे । ‘हुलका हुल जंगली जनावर पसेर खेतको बाली सिध्याउने गरेको छ,’ उनले भने, ‘अरु जनावरले माथिमाथि खाने भएपनि बँदेलले त उखुसमेत जरै उखेलेर खाने अनि पूरै नष्ट नै पार्ने गरेको छ ।’ केही वर्ष अघिसम्म कहिल्यै नदेख्ने गरेको जंगली जनावर हाल खेतभरी हुलका हुल आएर बालीनाली नष्ट पार्न थालेपछि किसानहरु खेती गर्ने कि नगर्ने भन्ने दोधारमा परिरहेको महतोको भनाइ छ।

गत चैततिर खेतमा लगाएको बाली हेर्न गएको समयमा हरिवन नगरपालिका–५ घुर्कौली निवासी ६५ वर्षीया रामप्यारी देवीलाई बँदेलले आक्रमण गरेर गम्भीर घाइते बनायो । ‘घरछेउको बारीमा लगाएको बाली हेर्न जानुभएको आमालाई एक्कासी बँदेलले आक्रमण गर्यो,’ शिवनारायण महतोले भने, ‘अझ गाउँलेले देखेर लखेटेका कारण धेरै आक्रमण गर्न पाएन । जीउभरी दाराले हिर्काएका कारण उपचारमा मात्रै दुई–तीन लाख रुपैयाँ खर्च भयो।’

खेतमा लगाएको धान, मकै, गहुँ, उखुलगायत सबैखाले बाली बँदेल र अन्य जंगली जनावरले नष्ट पार्ने गरेको जिल्लाको दक्षिण–पश्चिम क्षेत्र हरकठवा निवासी सन्जिव सिंहले गुनासो गरे । ‘बढी त बँदेलले नै हैरान पारेको छ,’ उनले भने, ‘खेतमा करेन्ट फिट गर्न बाध्य भएका छौं ।’ जंगली जनावरलाई तर्साउन राखिएको करेन्ट लागेर किसान आफैसमेत घाइते हुने गरेको सिंहले बताए । ‘नीलगाई र घोडगधा लखेट्दा भाग्छन्, तर बँदेलले उल्टै आक्रमण गर्छ । त्यसैले सामूहिकरुपमा गस्ती गर्ने गरेका छौं,’ सिंहले भने । वर्ष दिनमा उत्पादन हुने उखुबाली पूर्णरुपमा नष्ट पार्दा ठूलो नोक्सानी बेहोर्नुपरेको उनको भनाइ छ।

जिल्ला वन कार्यालयका अधिकृत बेचन यादवले केही महिनायता जिल्लाको दक्षिणी क्षेत्रमा वन्यजन्तुको आतंकले किसान र सर्वसाधारण हैरान भएको खबर आइरहेको बताए । ‘उत्तर चुरे क्षेत्रमा मानव बस्ती बढ्दै जानु र विकास निर्माणका नाममा ठूलाठूला आवाजका मेसिन चलाइने गरेकाले वन्यजन्तु दक्षिण समथल भूभागतर्फ भागेर बस्ने क्रम बढेको छ,’ उनले भने, ‘स्वतन्त्र रुपमा बस्न चाहने वन्यजन्तुले आफ्नो बासस्थानमा असुरक्षित महसुस गरेपछि आत्तिएर जताततै विनास गर्दै हिँड्ने गर्छन् ।’ बस्ने ठाउँ, हिँड्ने बाटो, चर्ने ठाउँ सबै क्रमशः अतिक्रमणको चपेटामा पर्दै गएपछि वन्यजन्तु तराईको अन्नबाली हुने क्षेत्रमा झरेर विनासलिला मच्चाउन सुरु गरेको यादवको भनाइ छ ।


 

प्रकाशित: १५ श्रावण २०७५ ०१:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App