१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अनुमति नलिई धमाधम भवन निर्माण

रेडियो नेपालको दक्षिणी भेगको बिना स्वीकृति बनेको संरचना। तस्बिर : शिवहरि/नागरिक

काठमाडौं - ललितपुर खुमलटारमा रहेको सरकारी जग्गामा निजी कम्पनीले धमाधम संरचना खडा गर्न लागेका छन्। रेडियो नेपालको स्वामित्वमा रहेको एक सय १८ रोपनी क्षेत्रफलमध्ये दक्षिणतर्फको करिब २२ रोपनी जग्गामा बिनाअनुमति संरचना निर्माण भइरहेको हो। रेडियो नेपालको रिपिटर टावर छेवैमा हुन्डाई कम्पनी, स्काई प्लाइउड कम्पनी, गणपति भेनियर तथा प्लाइउड उद्योग, हेभी इक्युप्मेन्ट तथा एक्जाभेटर कम्पनीले भवन बनाइरहेका छन्।

यी कम्पनीले आफूखुसी संरचना बनाएको ललितपुर महानगरपालिका–१५ का वडाध्यक्ष सुदर्शन मिश्रले जानकारी दिए। उनका अनुसार १० वर्षअघि रेडियो नेपालले टेन्डर आह्वान गरी जग्गा भाडामा दिएपछि निजी कम्पनीले अहिले संरचना बनाइरहेका छन्। ‘माथिल्लो निकायले अनुमति दिए पनि स्थानीय तहसँग स्वीकृति लिएर मात्रै भवन बनाउन पाइन्छ,’ उनले भने, ‘१० वर्षअघि कौडीको भाउमा जग्गा भाडामा दिएको रहेछ । अहिले त्यही ठाउँमा संरचना बनाउने क्रम बढेको छ।’

रेडियो नेपालको स्वामित्वमा रहेको एक सय १८ रोपनी क्षेत्रफलमध्ये दक्षिणतर्फको करिब २२ रोपनी जग्गामा हुन्डाई कम्पनी, स्काई प्लाइउड कम्पनी, गणपति भेनियर तथा प्लाइउड उद्योग, हेभी इक्युप्मेन्ट तथा एक्जाभेटर कम्पनीले अनुमति नलिई भवन निर्माण गरिरहेका छन्।

उनका अनुसार दक्षिणतर्फको उक्त जग्गा २०६५ सालमा प्रतिरोपनी वार्षिक ३५ हजार रुपैयाँका दरले रेडियो नेपाल र सञ्चार मन्त्रालयले भाडामा लगाउने निर्णय गरी सम्झौता गरेका थिए। प्रतिवर्ष १० प्रतिशत भाडा बढाउने सम्झौता भए पनि ती कम्पनीले सुरु निर्णयकै आधारमा भाडा तिरिरहेका छन्।

उक्त जग्गा भाडामा दिँदा रेडियो नेपालका तत्कालीन कार्यकारी निर्देशक रामशरण कार्की थिए। १० रोपनी जग्गा इन्फाटेक प्रालिलाई १० हजारका दरले भाडामा दिइएको थियो। ‘ठेकेदार कम्पनीले संरचना बनाइरहेका छन्, वडा कार्यालयसँग अनुमति त परै जाओस् जानकारी नै दिएका छैनन्। माथिल्लो निकायले स्वीकृति दियो भन्दैमा नियमविपरीत भवन बनाउन पाइँदैन,’ वडाध्यक्ष मिश्रले भने। संरचना निर्माण रोक्न वडाका तर्फबाट पत्राचार गरिसकिएको मिश्रले बताए।

दक्षिणतर्फकै पाँच रोपनी जग्गा २०६७ असारमा वार्षिक प्रतिरोपनी ११ हजार रुपैयाँका दरले भाडामा लगाइएको थियो। त्यतिबेला रेडियो नेपालका कार्यकारी निर्देशक तपनाथ शुक्ल थिए। हालका कार्यकारी निर्देशक रहेका सुरेशकुमार कार्कीले भाडादर संशोधन गरी वार्षिक ३५ हजार पु-याएका छन्।

यस्तै दक्षिणतर्फको २५ रोपनी जग्गामा सशस्त्र प्रहरी बलले संरचना बनाएको छ। सशस्त्रले पनि वडा कार्यालयसँग स्वीकृति लिएको छैन। रेडियो प्रसार सेवा विकास समितिका प्रमुख अरुण श्रेष्ठले यसबारे आफूलाई जानकारी नभएको बताए। ‘पहिलेको सरकारले गरेको निर्णय मलाई थाहा छैन, पछिल्लो समय धमाधम संरचना खडा भएको हामीले पनि देखेका छौं,’ उनले भने। उनका अनुसार उत्तरपट्टिको ४२ रोपनी जग्गामा विवाद छ। स्थानीयको मत नमिलेकाले विवाद भइरहेको जानकारी दिए। ‘स्थानीयको माग स्पष्ट छैन,’ उनले भने, ‘कसैले विपद् व्यवस्थापनका लागि खाली जग्गा राख्नुपर्छ भन्छन्, कसैले संरचना बनाउनु हुन्न भन्छन्, खास कुरा बुझ्न सकिएको छैन।’

भवनको ढल सोझै सडकमा
रिपिटर टावर छेवैको बनेका संरचनाको ढल सोझै सडकमा बग्दा त्यस क्षेत्रमा दुर्गन्ध फैलिएको छ। उक्त क्षेत्रमा संरचना बनाएका हुन्डाई कम्पनी, स्काई प्लाइउड कम्पनी, गणपति भेनियर तथा प्लाइउड उद्योगलगायतले संरचनाको पानी सोझै सडकमा पठाएका छन्। ‘मापदण्डविपरीत भवन बनाउने अनि ढल पनि सोझै सडकमा बगाउनेमाथि कारबाही हुन्छ,’ वडाध्यक्ष मिश्रले भने।

संरक्षणका नाममा आफ्नो पार्ने दाउ
रेडियो नेपालको ४२ रोपनी जग्गामा चलखेल बढेको छ। ट्रान्समिटिङ स्टेसनको मूल बाटो उत्तरतर्फको ४२ रोपनी जग्गा २० वर्षदेखि खाली रहँदै आएको थियो। खाली जग्गा संरक्षण गर्ने नाममा केही व्यक्तिले जग्गा हडप्न खोजेको जनप्रतिनिधि बताउँछन्। ‘टोल सुधार समितिका केही व्यक्तिले खाली जग्गामा संरचना बनाउने दाउ खेलिरहेका छन्,’ वडाध्यक्ष मिश्रले भने, ‘केही महिनाअघि संरचना बनाउनका लागि निर्माण सामग्री ल्याएर खाली जग्गामा थुपारेका थिए। ती सबै सामान नगर प्रहरीको सहयोगमा महानगरपालिकाको कार्यालयमा राखिएको छ।’ उनले उक्त ४२ रोपनी जग्गामा कुनै संरचना बनाउन वडाले सिफारिस नदिने बताए। विपद् व्यवस्थापनका लागि खुला ठाउँ कायम राख्ने निर्णय वडा कार्यालयले गरेको छ।

यो जग्गा एक वर्षअघिा भाडामा दिने निर्णय भएको थियो। निर्णयताका निजी क्षेत्रलाई व्यापारी प्रयोजनका लागि जग्गा नदिने सम्झौता भएको थियो। तर, सम्झौता उल्टाउँदै निजी क्षेत्रलाई नै दिइएको छ। २०७४ जेठ २९ गते सञ्चार मन्त्रालय र रेडियो नेपालको संयुक्त निर्णयले ४२ रोपनी जग्गा ३० वर्षका लागि भाडामा दिने निर्णय भएको सम्झौतापत्रमा उल्लेख छ। सम्झौताविपरीत उक्त जग्गामा कुवेर ज्ञान हाउजिङ र लक्ष्मी हुन्डाई कम्पनीलाई भवन बनाउन अनुमति दिइएको छ। खाली जग्गा निजी कम्पनीलाई भवन बनाउन दिएपछि त्यसको विरोधमा उत्रिएको स्थानीय भैरव टोल सुधार समिति अध्यक्ष रामबहादुर थापाले बताए।

प्रकाशित: १५ श्रावण २०७५ ०८:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App