१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

मेरो दोस्रो प्रेम

शनिबारको दिन । बिहानीको झुल्किँदो घाम । मेरोे निद्रा खुल्यो । सधैँझैं म आज पनि सपना देखेर नै उठेँ । सपनाचाहिँ त्यै थियो– आफू ठूलो मान्छे भएको र देशको विकासमा आफूले कमाएको पैसा लगानी गरी सम्मान पाएको । 

म सबैले मान्ने र आफ्नो भविष्य उज्ज्वल भएको देख्न चाहन्थेँ । म विज्ञान संकायको भौतिकशास्त्रमा स्नातक तहमा अध्ययनरत विद्यार्थी हुँ । आफ्नो गाउँ बर्दियाबाट एसएलसी उत्तीर्ण गरेर उच्च शिक्षाका लागि नेपालगन्जमा आएँ । दुई वर्ष नेपालगन्ज होेस्टेलमा बसेर प्लस टु पास गरेँ । त्यसपछि उच्च शिक्षाका लागि काठमाडौं भित्रिएँ । 

दुई वर्षको अन्तरालमा मैले धेरै नयाँ कुरा थाहा पाएँ । होस्टेल बस्दा छरछिमेकका पतिपत्नीबीचका झैँझगडा, सासूबुहारीको कुटाकुट । यसबाट घरका ससाना बालबालिकामा पारिरहेको असर । परिवारिक घटनाभन्दा ठूला–ठूला घटना त बाहिर पो हुँदो रैछ । राजनीतिक पार्टीले कुर्सीका लागि एकअर्कालाई गरेको गालीगलौज । बन्दहड्ताल ढुंगामुढाजस्ता आन्दोलन । दिनहुँ फरक–फरक पार्टीका नयाँनयाँ कार्यक्रम । सबैलाई आआफ्नो मात्र स्वार्थ । यस्तै घटना हेरी समाजमा आफ्नो दुई वर्ष बिताएँ । स्नातक पढ्न भनी काठमाडौंको बानेश्वरमा कोठा भाडामा लिएर बस्न थालेँ । दैनिक बिहान पाँच बजे उठ्ने, फ्रेस हुने अनि चिया पिएर कलेज जाने गर्दैमा बितेका थिए दिनहरू । दिनहरू बित्दै जानेक्रममा एकदिनको बिहानीले जीवनमा केही रङ्ग भरेर आयो । बिदाको दिन अलि अबेर उठेको थिएँ । चिया पिउँदै बाहिर बाल्कोनीमा बसिरहेको बेला मेरो आँखा पल्लोघरकी एउटी सुन्दरी युवतीमाथि पर्न गयो । 

बिहान कपडा धोएर सुकाउँदै थिइन् युवती । लामो केश, गोरो छाला, मिलेको शरीर । हेर्दा आकाशबाट भर्खरै झरेकी अप्सराजस्ती थिइन् उनी । म सपनामा भएजस्तो गरी हेरिरहेँ । मेरो मनमा चञ्चलता छायो । 
उनलाई म सधैँ झ्यालबाट चियाएर हेर्न खोज्थेँ । तर धेरै दिन बिते मैले उनलाई देखेको थिइनँ ।

क्याम्पसका कक्षामा, कोठामा मात्र टोलाउँदै उसकै बारेमा सोंचिरहन्थेँ । फेरि, एकदिन शनिबारकै दिन ती युवतीलाई देखेँ । उनीसँग बोल्ने, नाम सोध्ने भनेर सोच बनाएँ तर सकेन । 

अर्को दिन सडकमा पर्खेर बसेँ र उनी बाहिर निस्किन् । पछि पछि लागेर उनको कलेजसम्म पुगेँ । कलेजमा पुगेर सोधपुछ गरेर उनको नाम थाहा पाएँ । उनको नाम ‘माया’ रहेछ । हेर्दा भर्खरकी भए पनि २५ वर्ष पुगिसकेकी थिइन् माया । 

एकदिन म बिहान तरकारी किन्न पसल गएँ । माया पनि त्यहीँ नै आएकी रहिछिन् । मैले हेलो भनेर बोल्न खोजें । 

उनले यताउती हेर्दैै भनिन्, ‘मलाई भन्नुभएको हो ?’ 
‘हजुर, तपार्इंलाई नै भनेको ।’ 
‘तपाईंलाई त मैले चिनिनँ नि ?’ उनले अन्योलताको भाव व्यक्त गरिन् । 
‘तर, मचाहिँ चिन्छु ।’ मैले भनेँ ।
उनले ‘कसरी चिन्नुभयो मलाई ?’ उनले सोधिन् । 
बस्ने घर र पढ्ने कलेजको नामसमेत मैले बताइदिएँ उनी छक्क परिन् । 

त्यहाँबाट सुरु भयो हाम्रो कुराकानी । यसरी निरन्तर कुराकानीका लागि म सधैँ बिहान उठेर पसल जान थालेँ । एकहप्ता सँगै पसलमा कुराकानी गर्दागर्दै हामीबीचमा राम्रो मित्रता गाँसिन पुगेको थियो । हामीले आआफ्नो मोबाइल नम्बर एकअर्कालाई लिनेदिने ग-यौं । 

त्यसपछि हामीबीचमा झनै घनिष्टता बढ्दै गयो । हामी एकदमै नजिकका साथी बन्न पुग्यौं । बिदामा घुम्न जाने, डुल्ने, रमाइलो गर्ने गर्न थाल्यौँ । असार २४ गते मायाको जन्मदिन । मायाले मलाई आफ्नो कोठामा साँझ पार्टीका लागि ‘इन्भाइट’ गरिन् । म तयार भई गिफ्ट बोकेर साँझको ७ बजे उनको कोठामा पुगेँ । बाहिरबाट ढोका ढकढक गरेर बोलाएँ ।

‘आउँदै छु है, एकछिन है’ जवाफ दिइन् मायाले । ढोका खुल्यो, आऊ न भित्र भनेर बोलाइन् । 
म अचम्मित भएँ । न त कुनै सजावट देख्छु न त कोही साथी नै छन् । अक्कमक्क पर्दै सोधेँ, ‘साथी खै त ?’
‘कसैलाई बोलाएको छैन तिमीलाई मात्र हो,’ उनले भनिन् । दुईजना मात्रैले पार्टी गर्न मिल्दैन र ? फेरि प्रश्न गरिन् उनी । 
नाइँ मिल्छ, भनेँ मैले ।

ल केक काट्म भनी छेवैमा राखिएको दुई पौन्डको केक अगाडि राखिन् उनले । मैले हुन्छ भनेँ । मायाले केक काटिन् र खुवाइन् मलाई । त्यसपछि दुवैले डिनर गर्न थाल्यौँ । डिनर साथसाथै बियर पनि खाने भनिन् उनले । नाइँ फेरि कुनै दिन खाने मैले भनेँ । मलाई मनमा एउटा डर पनि थियो बियर खाएर मनका सबै कुरा बोलेँ भने मित्रता टुट्ने हो कि भन्ने । 

‘मैले अहिलेसम्म पिएको छैन, आज तिमीसँग पिउने भनेर लिएर आको छु,’ मायाले भनिन् । 
मैले पिऊँ न त भनेर सहमति जनाएँ । म पनि बियर पिउँदैनथेँ तर मायाको लागि खान्छु भनेर सोचेँ । नसामा नै मायालाई मन पराउने कुरा गरेँ । उनले पनि मलाई माया गर्ने कुरा गरिन् । हामी दुवैले पहिलोपटक मदिरा सेवन गरेका थियौँ सायद । त्यसको नसा चडिसकेको थियो । धेरैबेर रातिसम्म कुराकानी चल्दाचल्दै हामी सुतेछौँ । बिहान सात बजे आँखा खुल्यो । शरीरमा कुनै वस्त्र थिएन ।

बिहान उठेपछि मैले मायालाई हेरिरहेँ तर माया बोल्न सकिनन् । त्यसपछि मैले मायालाई झनै मन पराउन थालेँ । मायाले पनि माया गर्ने बताइन् । हाम्रो सम्बन्ध पतिपत्नीको जस्तो हुन थाल्यो । हामी प्रायः सँगै बस्न थाल्यौँ । 

समय बित्दै गयो । द्वितीय वर्षको परीक्षा दियौँ । हाम्रो भेट भएको वर्षदिन पुग्यो । हामीबीचमा शारीरिक सम्बन्ध हुन थालेको पनि छ महिना भइसकेको थियो । 

म हाम्रो सुमधुर सम्बन्धबारे सोच्दै मनमनै खुसी हुन थालेँ । मलाई हाम्रो सम्बन्धलाई नाम दिन मन लाग्यो । एकदिन मैले विवाहका लागि प्रस्ताव राखेँ । त्यो सुन्ने बित्तिकै माया जुरुक्क उठिन् । एकअर्काको अंगालोमा बाँधिएका थियौँ हामी । माया बाथरुम गएर आइन् अनि म जान्छु भनेर गइन् । कुनै जवाफ दिइनन् । भोलिपल्ट मैले सोधेँ । विवाहको कुरा अहिले नगर्न आग्रह गरिन् । 

म तिमीलाई मन पराउँछु माया, कसरी सम्झाऊँ म तिमीलाई । मैले जीवनमा एकदम खुसी राख्छु तिमीलाई । हरेक दिन मैले मायालाई सम्झाउन खोज्थेँ । मायाले स्नातक सकिएपछि सोचौंला भनिन् । के भयो र विवाह नगर्ने कारण के हो भनेर जिद्दी गरेँ मैले । माया एक्कासि हराउँछिन् त्यहाँबाट । भन्दै नभनेर एकदिन कोठा पनि सरिछिन् । मलाई ठूलो धक्का लागे झैं भयो, मनैदेखि मन पराएको मान्छे आफूबाट टाढा गएको सहन गाह्रो भयो । रातदिन मायाको बारेमा नै सोचेर बस्न थालेँ । समय बित्दै गएपनि मायाको यादले मलाई सताउन छोडेन । माया कलेज पनि आउन छोडिन् । परीक्षा नजिकिदै थियो । अब एक महिनापछि बिदा त्यसको दुई महिनापछि स्नातक अन्तिम वर्षको परीक्षा थियो । धेरै कोसिस गरेँ उनलाई खोज्न उनी भेटिइनन् । 

समय बितिरह्यो । मेरो एक्लोपनले मलाई ग्रस्त बनाइसकेको थियो । मेरो अवस्था देखेर साथीहरूले सम्झाउन थाल्थे । सबै भुलेर अघि बढ्न सल्लाह दिन्थे तर मेरो मनले केवल मायालाई नै खोजिरहन्थ्यो । साथीहरू भने मेरो मन भुलाउन अनेक बहाना गरिरहन्थे । 

अप्रिल फस्ट मतलब ‘अप्रिलफुल’ । साथी विराजले आफूसँगै ‘कोचिङ’ पढ्ने कल्पनालाई झुटो बोलेर छक्यायो । कक्षामा कल्पनाले मलाई मन पराउने हल्ला थियो ।
विराजले कल्पनालाई सोध्यो, ओई कल्पना केछ । 
कल्पनाले जवाफ दिई सधैँझै ठीकै छ आज कताबाट बोल्यौ । विराजले भन्यो– एउटा कुरा भन्न मन लागेर हो । 

कल्पनाले भनिन्, ‘के कुरा हो भन न त ।’ 
विराजले भन्यो, ‘तिम्रो र शरदको बारेमा हो ।’ 
‘के कुरा,’ अलि उत्साहका साथ सोध्छे कल्पना ।
‘नाइँ भैगो पछि भन्छु’ भनेर जान थाल्छ विराज । 
‘प्लिज भन न के कुरा हो विराज’ कल्पना कर गर्छे ।
‘तिमीलाई थाहा छ, शरदले तिमीलाई लाइक गर्छ नि तर तिमीले गाली गर्छौ भनेर भन्नै डराउँछ ऊ,’ विराजले भन्यो । 

‘मलाई त त्यस्तो लाग्दैन’, कल्पना भन्छे । 
‘तिमीलाई त बेकार भनेछु झन साथी भनेर भनेको पत्याउँदैनौं तिमी’, विराजले विश्वस्त पार्न थाल्छ । 
यसपछि कल्पनाको मनमा शरदप्रति भएको माया बिस्तारै बाहिर निस्किन थाल्यो । भोलिपल्ट विराजले कल्पनालाई ‘आज पनि शरद र मेरो कुरा भाको थियो, तिमीले प्रपोज गर्छौ कि भनेर कुरेर बसेको थियो ऊ’ कल्पनाको कानमा पु-याउँछ । यसपछि विस्तारै कल्पना मसँग नजिकिन थालिन् । 

‘शरद म तिमीलाई म माया गर्छु’ भन्ने निधो गरेर कल्पना तयार भई म भएछेउँ आउँछिन् । म पनि बिस्तारै साथीको कुरामा लागेर खुसी हुने कोसिस गरिरहेको थिएँ । साथीहरू पनि मलाई खुशी भएको हेर्न चाहन्थे । कल्पनालाई देखेर मैले ‘कति राम्री देखिएकी छौ’ भनेँ । कल्पनाले पनि तिम्रो लागि नै हो भन्छे, के भनेको मैले सोधेँ । ‘शरद म तिमीलाई एकदम मन पराउँछु भन्न मात्र डराएकी थिएँ, माया मनमा लुकाउन नसकेर आज हिम्मत गरेर भनेकी छु,’ कल्पनाले भनिन् । मसँग केही जवाफ थिएन । 

विराजले मलाई फकाउन थाल्यो, कल्पना एकदम सुशील, मेहनती र पढ्ने विद्यार्थी हो भनेर । बास्तवमा कल्पना राम्री नै थिई । बोलीचाली सबै राम्रो थियो । मात्र कमी थियो मेरो मनमा मायाको याद हटाउन । रातभरि सोचेँ । 

कल्पना पनि राम्री केटी हो भनेर अघि बढ्ने निधो गरेँ । बिहानै उठेर तयार भएँ । कल्पनालाई भेट्न गएँ उसको घरमै । तिमीलाई माया गर्छु तर स्नातक सकिएपछि बिहे गर्ने सोच छ । त्यो सुनेर कल्पनाको मुहारमा खुशीको चमक छायो । 

भोलिपल्ट रेस्टुरेन्टमा खाजा खान जाने कुरा भयो । रेस्टुरेन्टमा कल्पना कुरिरहेको थिइन् म पुगेँ । बस्न थालेको थिएँ झलक्क मायालाई देखेँ । कल्पनासँग बोल्दै नबोली मायाको पछाडिपछाडि गएँ । पछ्याउँदै ऊ बस्ने कोठामा पुगेँ । माया भनेर बोलाएँ । मलाई देखेर अकमक्क परिन् उनी । तिमी ? प्रश्न गरिन् मायाले । मलाई किन छोड्यौ, के गल्ती भयो र मबाट एकै सासमा प्रश्न सोधेँ ।

‘हेर शरद म विवाहित हुँ ।’ मायाले भनिन् । खै कसरी तिमीसँग नजिकिन पुगेँ । तिमीसँगको साथले मलाई आफ्नो संसारबाट टाढा लगेको थियो । तिम्रो विवाहको प्रस्तावले बल्ल याद आयो मेरो अर्को जिन्दगी छ भन्ने । मेरो विवाह भएको छ महिनामै मेरो श्रीमान् विदेश जानुभयो र मलाई पढ्न काठमाडौं ल्याउनु भयो । उहाँसँग कुरा भइराख्थ्यो । सम्पर्क टुटेपछि मलाई डर र चाहना हराउन थालेको थियो त्यहीबेला तिमीसँग भेट भयो । मैले आफूलाई रोक्न सकिनँ । तिम्रो माया देखेर साँचो कुरा भन्न सकिनँ मायाले रुँदै जवाफ दिई । समाजले के भन्छ र कसरी मुख देखाउने डर पनि थियो । 

‘तिमी विवाहित भए पनि केही फरक पर्दैन । म तिमीसँग जिन्दगी बिताउन चाहन्छु ।’ मैले भने, ‘तिमीलाई सधैं माया गरिरहने छु, तिम्रो मनलाई मन पराएको हो तनलाई होइन । 

तर, मलाई तिमी घर जाऊ भनेर मायाले आग्रह गरिन् । मलाई जाने मनै थिएन । ‘तिम्रो श्रीमान् सम्पर्क नभएको एक वर्षभन्दा बढी भइसक्यो अब आश नगर । म तिमीलाई आफ्नो बनाउन चाहन्छु’ मैले भने । 
लाखौं कोसिस गरेपनि मैले मानिनँ । त्यो दिन मायाको कोठामै रात बसेँ । माया पनि खुसी देखिन्थिन् । 
‘अ साँच्ची तिमीसँग रेस्टुरेन्टमा देखिएकी केटी को हो ? बिहान उठ्ने बित्तिकै मायाले अनायासै सोधिन्, ‘कतै तिम्रो नयाँ गर्लफ्रेन्ड त होइन नि ?’

म अकमक्क पर्दै बोलेँ, मेरो कलेजकी साथी कल्पना हो । मलाई माया गर्छिन् । 
‘अनि के अब कल्पनालाई धोका दिन्छौ ?’ मायाले सोधिन् । 
म चुपचाप भएँ केही उत्तर थिएन मसँग ।

त्यति नै खेर मायाको मोबाइलमा फोनको घन्टी बज्यो । त्यसपछि माया मोबाइल हेर्छिन् घरबाट फोन आएको रहेछ । फोन उठाइनन् । निरन्तर फोनको घन्टी बजेपछि मलाई चुप लाग्न इसारा गर्दै फोन उठाइन् । आमाले फोन गर्नुभएको रहेछ । 

‘तेरो सम्पर्क नम्बर परिवर्तन भएको नथाहा पाएर ज्वाइँ साहब (मायाको श्रीमान्) घर आउनु भएको छ । ल कुरा गर,’ आमाले भन्नुभयो । 

‘नम्बर किन परिवर्तन गरेको ? मलाई जेल हालेको थियो । त्यसैले ‘कल’ नै गर्न पाइनँ । जेलबाट छुटेको छ महिना भयो । भिसाको प्रोसेस र पैसा जोड्दा हिजो मात्रै फर्कें । तिम्रो नम्बर नलागेर घर आएँ भोलि काठमाडौं आउँदै छु बस्ने कता हो नि’,  मायाको श्रीमान्ले सोध्यो ।

‘म बानेश्वरमा बस्छु र काठमाडौं आएर यही नम्बरमा फोन गर्नु होला’, मायाले भनिन् । 
फोनमा भएका यी कुरा सुनेर मलाई रिस उठ्छ । मायालाई गाली गर्छु । नानाथरि भन्छु । तर माया शान्त भएर मेरो कुरा सुनिरहन्छे । 

‘तिमी कल्पनासँग जीवन बिताऊ । उसलाई धोका नदेऊ । तिमीलाई सधैँ खुसी राख्छे ऊ । मेरो समस्या बुझिदेऊ है । आजबाट मलाई फोन नगर्नू ल’, माया मलाई सम्झाउँछे ।

म त्यहाँबाट सरासर आफ्नो कोठामा पुगेँ । भएका सबै कुरा सोचेँ । मायाको जिन्दगीमा आफ्नो कारणले दुई व्यक्ति नभई दुई परिवार नै बिग्रन सक्नेछ, भन्ने लायो मनमा । कल्पनासँग के भनौं कसरी आफ्नो अनुहार देखाऊँ म भनेर सोच्न थालेँ । भोलि कलेजको अन्तिम दिन थियो । 

कल्पनालाई आफ्नो र मायाको सम्बन्धको बारेमा सबै भनेँ । सधैँ तिमीलाई माया गरिरहन्छु भनेर विवाहको प्रस्ताव राखेँ । कल्पनाले पनि अबको एक महिनापछि विवाह गर्ने वाचा गरिन् । स्नातकको परीक्षा सकेर हामी एकअर्काको घर गयौँ । कल्पना र मेरो परिवार दुवैको सहमतिमा असोज १६ गते हामी एकअर्काको भयौँ । म र कल्पना सधैँ आफ्नो खुसी त्यागेर अर्काको खुसीमा रमाउन थाल्यौैं । जानेर वा अन्जानमा हाम्रो खुसी एक अर्काको खुसी हुन पुगेछ । मैले चाहेको कल्पनाले पूरा गर्छिन् कल्पनाको मैले । अहिले म र कल्पना वैवाहिक जीवनमा खुसी छौं  जीवन रमाइलोसँग बितिरहेको छ । 

प्रकाशित: १२ श्रावण २०७५ १६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App