१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ओजिललाई सम्मान दिन क्लब आतुर

सिंगापुर – आर्सनलका प्रशिक्षक युनाई इमरेले मिडफिल्डर मेसुट ओजिलसँग तत्काल क्लबलाई दिन केही नभए पनि आफ्नो टोलीका प्रत्येक सदस्य उनलाई सम्मान दिन आतुर रहेको बताएका छन्।

ओजिलले गत आइतबार आफूमाथि जातीय विभेद भएको र जर्मन फुटबल संघले बचाउ नगरेको भन्दै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका थिए । ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिने घोषणा गर्दा लगाएको जातीय  विभेदको आरोपपछि उनी आलोचित बनिरहेका छन् । इमरेले आफूहरू ओजिलको तीतो अनुभव मेटाउँदै उनलाई क्लबमा सहज वातावरण दिन आतुर रहेको बताए।

‘हामी सबै खेलाडीलाई सहयोग गर्न चाहन्छाैं । विशेष गरी ओजिललाई । क्लब उनको घर हो र हामी सबेै एउटै परिवारका सदस्य भएको उनलाई महसुस गराउन चाहन्छाैं,’ प्रि–सिजनका लागि सिंगापुर भ्रमणमा रहेका इमरेले भने, ‘ओजिलले पछिल्लो केही महिनादेखि भोग्दै आएको तीतो अनुभव मेटाउँदै पुन स्वाभाविक लयमा फर्किए त्यो उनका साथै क्लबका लागि पनि राम्रो हुनेछ।

‘ओजिल र सबै खेलाडीलाई घरेलु वातावरण प्रदान गर्नेछाैं, पारिवारिक वातावारण बनाउँनेछाैं,’ पहिलो साता प्रि–सिजनको प्रशिक्षणका लागि सिंगापुर पुगेका इमरेले भने, ‘हामी सबै खेलाडी परिवारका हौं, हामी सबै राम्रो प्रदर्शन गर्नका लागि एकै ठाउँमा छौं, जुन हाम्रा लागि नै राम्रो हो । म ओजिलसँग एकदमै खुसी छु । ओजिलका साथै सबै खेलाडीले क्लबका सम्मान पाउनेछन्।’

टर्किस मूलका अविभावकबाट जर्मनीमा जन्मिएका ओजिलले केही दिनअघि आफूमाथि जातीय विभेद भएको भन्दै संन्यास घोषणा गरेका थिए । विश्वकप सुरु हुनअगावै टर्कीका राष्ट्रपति  रिसेभ ताइब इर्डोगानसँगको तस्बिर सार्वजनिक भएपछि आलोचित बनेका ओजिलले रुस विश्वकपमा जर्मनी समूहचरणबाटै बाहिरिएपछि थप आलोचना भोग्नुपरेको थियो।

‘जर्मनीले जित्दा म जर्मनीको हुने, हार्दा म आप्रवासी हुने,’ ओजिलले लेखेका छन, ‘केही सञ्चारमाध्ययमले मेरो र टर्कीका राष्ट्रपतिसँगको फोटोलाई राजनीतिक रूप दिए ।’ यद्यपि जर्मन फुटबल संघले भने ओजिलको आरोपको खण्डन गरेको थियो । आर्सनलले बुधबार मैत्रीपूर्ण खेलमा एट्लेटिको मड्रिडको सामना गर्दै छ।

‘ओजिलको राष्ट्रिय टोलीको अनुभव र क्लबसँगको अनुभव फरक छ,’ प्रशिक्षक इमरेले भने, ‘उनका लागि अहिले कठिन भएको छ । हामी उनी छिट्टै लयमा फर्किएको हेर्न चाहन्छांै । हामी उनलाई पूर्णरूपमा सहयोग गर्न तयार छौं ।’
२०१३ मा रियाल मड्रिडबाट कीर्तिमानी मूल्यमा आर्सनल आएका ओजिललाई क्लबमा साथ दिन सबै खेलाडी तयार रहेको आर्सनलका गोलकिपर पिटर चेकले बताए।

‘ओजिल र जर्मन राष्ट्रिय टोलीबीचको सम्बन्ध उनीहरुको विषय हो, यसमा हामीले बहस गर्नु जरुरी छैन,’ चेकले भने, ‘जुन व्यवहार उनीमाथि भयो त्यो नराम्रो हो । हामी उनलाई सहयोग गर्न तयार छाैं।’

२००९ फेबु्रअरी ११ मा नर्वेविरुद्धको मैत्रीपूर्ण खेलबाट जर्मनीको सिनियर टोलीमा डेब्यु गरेका ओजिलले राष्ट्रिय टोलीबाट ९२ खेलमा २३ गोल गरेका छन्।

 

प्रकाशित: १० श्रावण २०७५ ०५:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App