१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रसुवागढी–केरुङ नाकामा चीनको कडाइ

रसुवा नाका। फाइल तस्बिर/नागरिक

रसुवा–रसुवागढी नाका सुरु भए पनि यहाँबाट हुने व्यापारिक कारोबार आयातमा मात्र सीमित भइरहेको छ । चीनले आफ्नो क्षेत्रमा भन्सार क्वारेन्टाइन स्थापनासँगै नेपालबाट निकासी हुने सामानमा कडाइ गर्दा निकासी ठप्प जस्तै छ । नेपालबाट जाने सामानको गुणस्तरमा प्रश्न गर्दै चीनले कडाइ गरेको हो ।

‘नेपालतर्फ क्वारेन्टाइनको समस्या छ, पहिला बंगुर जान्थ्यो अहिले त्यो पनि रोकिएको छ,’ रसुवा भन्सार प्रमुख केदार पनेरुले भने, ‘नेपालबाट कमै सामान जान्छ ।’ चीनले आफ्नोतर्फ विशेष सुरक्षा दस्ता, चिकित्सक, जाँच चौकी क्वारेन्टाइनमा कडाइ गरेसँगै सामान निर्यात ठप्प भएको भन्सार प्रमुख पनेरुले बताए । ‘चीनतर्फको क्वारेन्टाइन, भन्सार अपग्रेड भएको छ । सामान निर्यात हुन सकिरहेको छैन,’ उनले भने । यही अवस्थामा नेपाली सामान चीन निकासी हुन कठिन हुने उनको भनाइ छ ।

सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनमा आउन नसकेपछि व्यापारीले चीनको केरुङ भन्सार हुँदै रसुवागढी नाकाबाट सामान भित्र्याउन थालेका छन् । नाकाबाट हाल स्याउ, तयारी पोसाक, प्याज, इलोक्ट्राोनिक सामान लगायत सामग्री भित्रिरहेको भन्सार प्रमुख पनेरुले बताए ।

विगतमा नेपालबाट पिठो, चामल, बंगुर लगायत अन्य पशुपक्षी निर्यात हुने गरे पनि दुई वर्षयता चीनले नेपाली सामान गुणस्तरीय नभएको भन्दै रोकेको छ । रसुवागढी भन्सारबाट दैनिक ७० भन्दा बढी कन्टेनरमा सामान आयात हुने भन्सार कार्यालयले जनाएको छ । चीनतर्फ हस्तकलाका सामानबाहेक सबै सामान जान निषेध गरिएको छ । एक साताअघि पहिरो खुलेसँगै नाका पुनः सञ्चालनमा आएको हो ।

सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनमा आउन नसकेपछि व्यापारीले चीनको केरुङ भन्सार हुँदै रसुवागढी नाकाबाट सामान भित्र्याउन थालेका छन् । नाकाबाट हाल स्याउ, तयारी पोसाक, प्याज, इलोक्ट्राोनिक सामान लगायत सामग्री भित्रिरहेको भन्सार प्रमुख पनेरुले बताए ।

भन्सार प्रमुख पनेरुका अनुसार साउनमा उक्त भन्सारले ३० करोड रुपैयाँ राजस्व उठाएको छ । यसलाई साउनमा १६ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएको थियो । ‘वार्षिक दुई अर्ब ४० करोडको लक्ष्य लिएको छ । सो लक्ष्य हामी भेट्छौं,’ उनले भने । नाका सञ्चालनसँगै चीनतर्फ माछा, बंगुर पठाउन खोजे पनि चीनले नाकाबाटै फर्काएको लाङटाङ कन्टेनर व्यवसायी समितिका अध्यक्ष धर्मलाल श्रेष्ठले बताए । ‘पहिलाको जस्तै सहज होला भनेर हामीले सामान पठाउन खोज्यौं सकिरहेका छैनौ,’ श्रेष्ठले भने, ‘नेपालतर्फ क्वारेन्टाइन नहुँदा पनि आफूहरुले सहज रुपमा व्यापार गर्न सकिएन ।’

चीनतर्फ भन्सार, पशु क्वारेन्टाइन, प्रवेश जाँच चौकी लगायत सबै स्थापना भइरहेका छन् भने नेपालतर्फ केही पनि स्थापना गर्न नसक्दा व्यापारी समस्यामा छन् ।

नाका सञ्चालनमा आए पनि हाल चीनियाँ पक्षले रसुवाका स्थानीयलाई मात्रै प्रवेश पास दिएको छ । ‘अन्य जिल्लाबासीलाई प्रवेश पास नदिँदा चालक पाउन कठिन छ,’ नेपाल–चीन केरुङ व्यापार संघका अध्यक्ष मानबहादुर तामाङले भने, ‘पासका लागि हामीले बिजनेस भिसा माग गरेका छौं ।’ चीनबाट सामान आयात हुने गरे पनि आफूहरुले नेपाली सामान निर्यात गर्न नसकिरहेको तामाङको भनाइ छ । ‘चीनले नेपाली सामानको गुणस्तर राम्रो छैन भन्दा रहेछन् । पहिला चामल, मैदा सहज रुपमा पठाए पनि पहिलाको जस्तो सहज अवस्था अहिले छैन,’ अध्यक्ष तामाङले भने ।

सामान लोड अनलोड गर्न रसुवागढीबाट २६ किलोमिटर टाढा केरुङ भन्सार पुग्नपर्ने हुन्छ । केरुङ हिमालै हिमालले घेरिएको उपत्यका हो । सोही ठाउँबाट मात्रै चीनले सामान दिने गरेको छ । नेपालबाट अर्डर भएका सामान केरुङ भन्सारमा आइपुगेर रोकिने गर्छन् । नाका पूर्ण रुपमा सुचारु भएसँगै भूकम्पपछि रोकिएका सामान र नयाँ अर्डरका सामान लिनका लागि नेपाली व्यापारी केरुङ पुग्ने गरेका छन् । चीन सरकारको पहिलो प्राथमिकतामा रहेको रसुवागढी नाकाबाट केही समयदेखि सामान ल्याउने कन्टेनर बढेको भन्सार कार्यालयले जनाएको छ ।

भूकम्पपछि तातोपानी नाका ठप्प भएकाले चीनले विकल्पका रुपमा रसुवागढी नाका सञ्चालनमा ल्याएको हो । भूकम्प, जुरे पहिरो तथा सुनकोसीको बाढीले बाटो क्षतविक्षत भएपछि व्यापारी यही नाकामा केन्द्रित भएका हुन् ।

प्रकाशित: २६ भाद्र २०७३ ०१:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App