१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

डेसच्याम्प्स र जिदान उत्कृष्ट प्रशिक्षकको मनोनयनमा

जेनेभा – फिफाको उत्कृष्ट प्रशिक्षक अवार्डका लागि फ्रान्सका डिडियर डेसच्याम्प्स र जिनेदिन जिदान मनोनयनमा परेका छन् । फ्रान्सले १९९८ मा विश्वकप जित्दा सहयात्री रहेका डेसच्याम्प्सले देशलाई २०१८ विश्वकपको उपाधि जिताएका थिए भने जिदानले रियाल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि जिताएका थिए।

गत सिजनको समाप्तिसँग रियाल छाडेका जिदान गत वर्षको पनि फिफा अवार्ड विजेता हुन् भने २०१६ का उपविजेता हुन् । फिफाले मंगलबार सार्वजनिक गरेको प्रशिक्षकहरूको सूचीमा पाँच विश्वकपका प्रशिक्षक छन् । डेसच्याम्प्सबाहेक क्रोएसियाका ज्लाट्को डालिच, बेल्जियमका रोबर्टो मार्टिनेज, इङ्ल्यान्डका गारेथ साउथगेट र रूसका स्टानिस्लाभ चेरचेसोभ रहेका छन्।

म्यानचेस्टर सिटीलाई इङ्लिस प्रिमियर लिगको उपाधि जिताउन सफल पेप ग्वार्डिओला पनि मनोनयनको सूचीमा अटेका छन् । बार्सिलोनाको प्रशिक्षक हुँदा ग्वार्डिओलाले २०११ मा फिफाको उत्कृष्ट प्रशिक्षक अवार्ड जितेका थिए।

मनोनयनको सूचीमा पर्ने अन्य प्रशिक्षकमा युभेन्टसका मासिमिलियानो एलेग्री, लिभरपुलका योर्गान क्लोप, एट्लेटिको मड्रिडका डिएगो सिमोनी, बार्सिलोनाका अर्नेस्टो भाल्भार्डे रहेका छन्।

फिफाले सार्वजनिक गरेको उत्कृष्ट महिला टोलीको प्रशिक्षकमा चेल्सी महिला टोलीका इमा हाएस, भिएफएल उल्फबर्गका स्टेफन लेर्च, पोर्टल्यान्ड थोर्नसका मार्क पार्सोन, ओलम्पिके लेनाइजका रेनाल्ड पेड्रोज, अस्ट्रेलियाका एलेन स्टाजसिच, जापानका असाको टाकाकुरा, ब्राजिलका भाडेओ, स्पेनका जर्ज भिल्डा, स्विजरल्यान्डका मार्टिना भोस–टेकलेनबर्ग र नेदरल्यान्डका सारिना विगम्यान रहेका छन्।

विजेताको घोषणा सेप्टेम्बर २४ मा लन्डनमा हुनेछ । राष्ट्रिय टोलीका प्रशिक्षक, कप्तान र फिफाको २ सय ११ सदस्य राष्ट्रका पत्रकारको मतदानबाट विजेता छनोट गरिन्छ।

प्रकाशित: ९ श्रावण २०७५ ०५:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App