१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मार्सियल बेच्न माउरिन्हो तयार

लन्डन – म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले उचित मूल्य पाए फरवार्ड एन्थोनी मार्सियललाई बेच्न आफू तयार भए पनि सरुवा प्रिमियर लिगभन्दा बाहिरको क्लबमा हुनुपर्ने बताएका छन्।

मार्सियल युनाइटेडका लागि खेल्न अनिच्छुक भएको अवस्थामा उनलाई बेचे पनि प्रिमियर लिगको क्लबमा प्रत्यक्ष प्रतिद्वन्द्वी बनाउन नचाहेको बताए । इङ्ल्यान्डमा सरुवा बजार अगस्ट ९ मा बन्द हुँदै छ । त्यसको एक दिनपछि युनाइटेडले लेस्टर सिटीलाई ओल्ड ट्राफोर्डमा निम्त्याउँदै प्रिमियर लिगको नयाँ सिजन सुरु गर्नेछ । युरोपका अन्य मुख्य लिगमा भने अगस्ट ३१ मा मात्र सरुवा बजार बन्द हुन्छ । मार्सियलकै देश फ्रान्समा भने सेप्टेम्बरको मध्यसम्म सरुवा बजार खुला रहन्छ।

युनाइटेडसँग मार्सियलको सम्झौता अझै एक वर्षका लागि बाँकी छ । क्लबले चाहेमा थप १२ महिना उनलाई ओल्ड ट्राफोर्डमै राख्न सक्छ । तर पहिलो रोजाइमा पर्न छोडिसकेका उनीसँग क्लबले थप समयको सम्झौता गर्ने सम्भावना न्यून छ।

प्रशिक्षक माउरिन्होले अर्का फ्रान्सेली खेलाडी पाउल पोग्बाले क्लबका लागि खेल्दा पनि रूसमा फ्रान्सेली टोलीबाट खेल्दा जस्तै प्रतिबद्धता देखाउने अपेक्षा गरेका छन् । क्लबका लागि खेल्दा बेलाबखत ध्यान अन्यत्रै मोड्दा उनको प्रदर्शन एकरूपको नहुने गरेको माउरिन्होको गुनासो छ।

फ्रान्सले रूसमा विश्वकपको उपाधि जित्दा पोग्बा टोलीका मुख्य स्टारमध्ये एक थिए । मस्कोस्थित लुझनिकी रंगशालामा क्रोएसियामाथि ४–२ को जित निकाल्दै फ्रान्स दोस्रो पटक विश्व च्याम्पियन बन्दा पोग्बाले एक गोल गरेका थिए।

‘उनीबाट सर्वोत्कृष्ट प्रदर्शन निकाल्नुपर्ने चुनौती हाम्रो होइन । यो उनको चासोको विषय हो । उनीजस्ता खेलाडीका लागि सर्वोत्कृष्ट प्रदर्शन गर्न विश्वकप उपयुक्त थलो हो, किनकि विश्वकप एक महिनामै सकिन्छ । त्यसैले उनी त्यो अवधिभर फुटबलमै केन्द्रित भइरहन सक्छन्,’ माउरिन्होले भने, ‘विश्वकपका बेला खेलाडीहरू परिवार, साथीभाइ र बाहिरी दुनियाँबाट टाढा हुन्छन्।

टिम अभ्यास शिविरमा हुँदा फुटबल र विश्वकपको उत्साहले सबथोक छायाँमा पार्छ । तर पूरा सिजनको कथा फरक हो । यहाँ एउटा ठूलो खेल खेल्नुपर्छ भने लगत्तै सानो खेल पनि खेल्नुपर्छ । जसले गर्दा खेलाडीको ध्यान मोडिन्छ । खेलाडीको ध्यान मोड्नका लागि परिवार, दैनिक जीवनलगायतका अरू पनि धेरै कुरा हुन्छन् । त्यसैले पूरा सिजन एकरूपको प्रदर्शन गर्ने खेलाडी मात्र महान् बन्न सक्छ । मैले पोग्बाबाट त्यही आशा गरेको छु।’

प्रकाशित: ९ श्रावण २०७५ ०४:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App