१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुरुङमार्ग फिनिसिङमा ठेकेदारको ढिलाई, दसैँ उपहारमा मेलम्ची पानी ‘असम्भव’ बन्दै

सिन्धुपाल्चोक- ठेकेदारले मुख्य संरचना सुरुङमार्ग ‘फाइनल फिनिसिङ’ (ढलान) को कामलाई एकरुपता दिन नसक्दा आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकावासीको दुई दशक लामो सपना धकेलिने सम्भावना बढेर गएको छ।

गएको चैत अन्तिम साता २६ किलोमिटर लामो मुहानस्थल अम्बाथान–सुन्दरीजल सुरुङमार्ग ‘ब्रेक थ्रु’ भए (छेडिए) पछि उत्साही सरकारले आगामी दसैँ उपहारमा मेलम्ची पानी खुवाउने बाचा गरेको थियो । तीन महिनामा सक्ने लक्ष्यसाथ थालिएको ढलान सो समयमा एक तिहाइ पनि नसकिएपछि मेलम्ची भाखा फेरि सर्ने देखिएको हो।

सुरुङ निर्माणमा संलग्न इटालीयन ठेकेदार कम्पनी सिएमसी रेभेना कामलाई ढिलो गराउन उद्यत देखिएको छ। यद्यपी सिएमसीले सुरुङ ढलान रोकेको भने छैन, तर कामलाई गति पनि दिएको छैन। ‘ठेकेदारले कामलाई एकरुपता दिन सकेको छैन,’ मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले नागरिकसँग भने, ‘उतारचढाव भइरहेको उसको कामले एक दिन उत्साही बनाउँछ अर्को दिन निराश।’ 

सुरुङ ब्रेक थ्रु हुँदा तीन किमि फिनिसिङ र ढलान भइसकेको थियो। त्यसयताका तीन महिनामा ठेकेदारले थप चार किमी मात्र सुरुङ ढलान गरेको छ। जबकी सम्पूर्ण सुरुङ फिनिसिङको काम तीन महिनामा सकिने आयोजनाको अनुमान थियो। आयोजनाको अनुमानअनुसार साउन पहिलो साता मेलम्ची पानी सुन्दरीजल खसिसक्नुपर्ने बेलामा ठेकेदारले बल्ल ७.४ किमि सुरुङ फिनिसिङको काम सकाएको छ। 

प्रवक्ता पन्त ठेकेदारले अझै कामलाई तीव्रता नदिए असोजको भाखा सर्ने सम्भावना देख्छन्। ‘सुरुङ ढलान जटिल काम नभएकाले दसैँको भाखा असम्भव भने छैन। तर ठेकेदारले चाहिँ काम गर्दिनुपर्‍यो,’ उनले भने। निर्धारित समय धकेलिन नदिन आयोजना ठेकेदारलाई मनाएर, फकाएर तथा विश्वासमा लिएर काम सम्पन्न गराउने रणनीतिमा छ।

भूकम्प, नाकाबन्दी जस्ता समस्या देखाएर म्याद थप्न दबाब दिने, कामदार, सामग्रीलाई भूक्तानी दिन नसकिएको भन्दै थप रकम निकासा माग्ने लगायत बहाना बनाएर ठेकेदारले काममा ढिलाइ गरिरहेको आयोजना स्रोतले बतायो। ‘एउटा समस्या सल्टायो, तुरुन्तै अर्को अत्तो थाप्ने ठेकेदारको प्रवृत्ति दोहोरिरहेको छ,’ लामो समय आयोजनामा कार्यरत रहेर हालै अवकास प्राप्त एक अधिकारीले भने।

ठेकेदार चसच्चिएपछि खानेपानी मन्त्रालयले इटालीबाट सिएमसीका व्यवस्थापकीय अधिकारी झिकाएर गएको असारमा छलफलसमेत गरेको थियो । छलफलमा ठेकेदार कम्पनीका अधिकारीले नेपाल सरकारको असोजको समय सीमा भित्रै सुरुङ फिनिसिङको काम सकेर सुन्दरीजलमा मेलम्ची खसाल्ने प्रतिवद्धता जनाएका थिए।

 ‘छलफलपछि कामले केही तीव्रता पाएको थियो । अहिले फेरि सुस्त भइरहेको छ,’ प्रवक्ता पन्त बताउँछन् । उनका अनुसार सुरुङका चार अडिट टनेल (खण्ड) मध्ये ७ सय ४४ मिटर लम्बाइको अम्बाथान–मुहानस्थल खण्डको मात्र फिनिसिङ सम्पन्न भएको छ । चार खण्डका सातमध्ये बाँकी ६ मा अहिले पाँच स्थानबाट मात्र काम भइरहेको छ। सबैभन्दा लामो सिन्धुबाट सुन्दरीजलतिर ३ हजार ८ सय सुरुङमार्ग फिनिसिङ भए पनि सिन्धुबाट सुन्दरीजलतिर ५ किमिमा काम नै सुरु हुन सकेको छैन । सिन्धु–ग्याल्थुम, ग्याल्थुम–अम्बाथान खण्डबाट दुईतर्फी फिनिसिङ भइरहे पनि सुस्त रहेको आयोजनाले जनाएको छ।

असोजको निर्धारित समयमा आयोजना सम्पन्न गर्न ठेकेदारले प्रत्येक स्थानबाट दैनिक ५०–६० मिटर सुरुङ फिनिसिङ र ढलान गर्नुपर्ने प्रवक्ता पन्त बताउँछन् । उनका अनुसार असारमा एकै स्थानबाट २ सय मिटर सुरुङ फिनिसिङ गरेको ठेकेदार कम्पनीले अहिले घटाउँदै ३० मिटरमा झारेको छ। ‘दबाब दिँदा कहिले ६० मिटर, कहिले त्योभन्दा माथि पनि पुर्‍याउँछ,’ काममा तलमाथि गरिरहेको बताउँदै उनले भने।

       आयोजनाका अनुसार मुख्य सुरुङ, अडिटमार्ग ढलान र फिनिसिङ, चारै अडिटमार्गका मुख टाल्ने, मुहानस्थलबाट सुरुङमा पानी छिराउन पाइप बिछ्याउने तथा सुन्दरीजल पुगेको पानी प्रशोधन केन्द्रमा पुर्‍याउने पाइप र त्यहीँ अर्को ‘वासआउट’ (बाहिरी निकास) पाइप बिछ्याउने काम जम्मा तीन महिनाको प्याकेज हो। यी काम सम्पन्न गरेपछि मात्र मेलम्ची पानी वितरण सम्भव हुन्छ। ठेकेदारले सबै काममा हात हाले पनि भद्रगोल रहेको अधिकारी बताउँछन्।

अम्बाथानस्थित मुहान (इन्टेकमा) पानी प्रवेश गराउन स्थायी ड्याम बनाउनु पर्ने हुन्छ। बर्खामा त्यो काम गर्न सम्भव नहुने भएपछि तत्काललाई बिकल्पमा ६० मिटर पाइप बिछ्याउने काम भइरहेको छ। त्यस्तै सुरुङबाट सुन्दरीजल खस्ने पानी प्रशोधन केन्द्रमा पुर्‍याउन २ सय ५० मिटर पाइप बिछ्याउने काम पनि ठेकेदारले सुरु गरिसकेको छ।

त्यहीँ अर्को ४ सय मिटर लामो ‘वास आउट’ पाइप पनि बिछ्याईँदै छ। सुरुङमार्ग सरसफाई गर्नु पर्दा वा सुरुङ खाली गराउनु पर्दा जम्मा भएको पानी वास आउट पाइपमार्फत बाग्मतीमा खसालिने छ। ‘ठेकेदारले सबै काम गर्न खाजेको छ तर भाँती पुर्‍याउन सकेको छैन,’ प्रवक्ता पन्त भन्छन्, ‘कामलाई तीव्रता दिन सकेको छैन।’

चार वर्षमा सक्ने लक्ष्यसहित खन्न थालिएको सुरुङमार्ग सात वर्ष लगाएर गत चैत २७ गते छेडिएको थियो। त्यसको दुई दिनपछि आयोजनास्थल पुगेर उपराष्ट्रपति नन्दबहादुर पुन र खानेपानी मन्त्री बिना मगरले मेलम्ची सुरुङ ब्रेक थ्रुको औपचारिक घोषणा गरेका थिए। पहिलो चरणमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी लगेर उपत्यकावासीको खानेपानी समस्या हल गर्ने उद्देश्यले १८ वर्षअघि सन् २००१ मा आयोजनाको काम अघि बढाइएको थियो।

प्रकाशित: ८ श्रावण २०७५ १४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App