१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

टेम्पो व्यवस्थापन गर्दै महानगर

पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरको चौबिसकोठी क्षेत्रमा चलेका टेम्पो ।तस्विरः सविता/नागरिक

चितवन - फुटपाथका पसल व्यवस्थापन गरेपछि भरतपुर महानगरपालिकाले टेम्पो व्यवस्थित गर्ने तयारी थालेको छ । ट्राफिक अस्तव्यस्ततालाई कम गर्न महानगरपालिकाले राजमार्ग र मुख्य सडकमा टेम्पो सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।  

महानगरपालिकामा पर्ने पूर्व–पश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड र बाइपास रोडमा साउन ५ गतेबाट टेम्पो नियन्त्रण र व्यवस्थित गर्न लागेको महानगरपालिकाकी मेयर रेणु दाहालले जानकारी दिइन् । महानगरको प्रमुख सडकमा अटोरिक्सा, इरिक्सा र टेम्पोको चाप र अव्यवस्थित सञ्चालनले बजार र ट्राफिक व्यवस्थापनमा समस्या भएको उनी बताउँछिन्।

नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागबाट २०७४ असोजमा आएको परिपत्र अनुसार भरतपुर महानगरपालिका नगर कार्यपालिकाले गएको असार ९ मा राजमार्ग मुख्य सडकमा टेम्पो नियन्त्रण गर्ने निर्णय गरेको मेयर दाहालले बताइन् । ‘सुन्दर सहरको परिकल्पनालाई ठोस र व्यवहारिक कार्यान्वयन गर्न चालिएको अर्को कदम हो,’ उनले भनिन्, ‘यो निणर्यलाई कडाइ र गम्भीरताका साथ कार्यान्वयन गर्छु।’

महानगरपालिकामा चरणबद्ध रुपमा नगर सुधार गर्न लागिएको उनले बताइन् । यसअघि पनि पटक पटक महानगरले टेम्पो नियमन र नियन्त्रण गर्ने प्रयास गरेको थियो । गत वर्ष असोजमा जोर–बिजोर प्रणाली लागू गर्ने भनिए पनि टेम्पो व्यवसायी र मजदुरहरुले आन्दोलन गर्दा महानगरले निर्णय लागू गर्न सकेको थिएन।

सवारी साधनको बढ्दो चाप नियन्त्रण गर्न मुख्य सडक तथा राजमार्गमा सवारी साधन क्रस गर्न पाइने चोक पनि तोकिएको छ । पूर्व–पश्चिम राजमार्गको लायन्स चोक, चौबिसकोठी, रिजाल चोक र हाकिम चोकबाट बाटो काट्न पाइने व्यवस्था गरिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पोखरा बसपार्क चोक, लीला चोक, उद्योग वाणिज्य संघ चोक, युथ क्लब चोक र पुल्चोक क्रस गर्न पाइने चोक रहेका छन् । बाइपास रोडमा बसेनी चोक, विशाल चोक, नहर चोक, आन्तरिक राजस्व कार्यालय चोक, मालपोत चोक, हुलाक चोक र थानी चोकबाट बाटो क्रस गर्न पाइनेछ।

बढ्दो सवारी साधनको चाप र दुर्घटना कम गर्न सर्वसाधारणको आवतजावतमा असर नपर्ने गरी भित्री सडकमा भने टेम्पो चलाउन पाइन्छ । टेम्पोका कारण बजार क्षेत्र अव्यस्थित बन्नुका साथै दुर्घटनासमेत बढेकाले साना सवारी साधन नियन्त्रण गर्न सुरुमा टेम्पो व्यवस्थित गर्न लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत बताउँछन् । साना सवारी साधनको संख्यासमेत अधिक भएका कारण त्यसको नियन्त्रण गर्न जरुरी भइसकेको उनले बताए।

साना सवारी साधनका कारण जिल्लामा दुर्घटनाको दर बढेको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतम बताउँछन् । आर्थिक वर्ष ०७४÷७५ मा मात्रै टेम्पोका कारण १० वटा ठूला दुर्घटना भएका छन् । जसमा पाँच जनाको मृत्युसमेत भएको छ । १३ जना गम्भिर घाइते भएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए।  

८० वटा सामान्य दुर्घटना हुँदा एक सय २५ जना घाइते भएका थिए ।  तीन हजार आठ सय ७३ पटक टेम्पो ट्राफिक नियम उल्लंघनको कारबाहीमा पर्दा २९ लाख ६२ हजार रुपैयाँ संकलन गरिएको छ । महानगरमा तीन हजारभन्दा बढी टेम्पो रहेको अनुमान गरिन्छ । अधिकांश चालकसँग सवारीचालक अनुमतिपत्र नभएको, एउटै चालक धेरैपटक कारबाहीमा पर्ने, जुनसुकै मोडमा पनि अचानक टर्निङ गर्ने, नियमको बेवास्ता गर्ने समस्या टेम्पो चालकमा रहेको गौतमले प्रहरी निरिक्षक बताए।महानगरपालिकाले निर्णयप्रति भने टेम्पोसँग सम्बन्धित संगठन, मजदुरले निर्णय फिर्ता नभए आन्दोलन गर्न निर्णय फिर्ता गर्न माग गरेका छन् । निर्णयलाई नमान्ने चालक तथा व्यवसायी कारबाही गर्ने महानगरले जनाएको छ ।

 

प्रकाशित: ८ श्रावण २०७५ ०१:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App