५ वैशाख २०८१ बुधबार
राजनीति

डा. केसीलाई प्रधानमन्त्रीको चुनौती

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि तर्कसंगत बहस गर्न आफू तयार रहेको बताएका छन् । उनले डा. गोविन्द केसीमाथि समस्या समाधान खोज्नुको सट्टा समाधान खडा गरेको आरोपसमेत लगाएका छन्।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘डा. केसीले समाधान खोज्ने भन्दा पनि समस्या मात्र खडा गर्नुभएको छ । स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई कस्तो बनाउने तपाईं नै जिम्मा लिनुहोस । आयोग चाहिन्छ भने त्यसको अध्यक्ष तपाईं नै बन्नुहोस् ।’

ओलीले डा. केसी अनशन बसे पनि अनशन कायम गर्ने अरू नै भएको आरोप लगाए । प्रधानमन्त्री ओलीले भने, ‘डा. केसी बिरामी छन्, तर अरूले उपचार गर्न दिँदैनन् । राजनीतिक स्वार्थका लागि डा. केसीको उपचार गर्न दिन्न भन्न पाइन्छ ?’ नेपाल चिकित्सक संघले अस्पताल बन्द गर्दै हिँड्नु गैरकानुनी र अमानवीय भएको ओलीले बताए । ‘सरकारी जागिर खाएका डाक्टरले उपचार गर्दिनँ भन्न पाइन्छ ?’ ओलीले भने । उनले डा. केसीको फेरो समाएर राजनीति गरिरहेको कांग्रेस देख्दा आफूलाई दया लागेको बताए।

प्रधानमन्त्री ओलीले गैरकानुनी र अमानवीय त्यान्द्रा समाएर राजनीति गर्न खोजे कांग्रेस सकिने बताए । उनले संसद्मा पेस भएको विधेयक सच्याउन सरकार तयार रहेको बताए । कांग्रेसप्रति आक्रोशित हुँदै ओलीले भने, ‘कांग्रेसले हामीलाई भन्नुप¥यो ककसका हुकुम र फरमान पालना गर्नुपर्ने हो ?’

उनले उपचारका लागि डा. केसीलाई जुम्लाबाट काठमाडौं ल्याउन खोज्दा अवरोध गरेर कांग्रेसले के गर्न खोजेको भन्दै प्रश्न गरे । डा. केसीको अनशनप्रति व्यंग्य गर्दै ओलीले भने, ‘कतिपयले यसलाई सत्याग्रह भनेको सुनेको छु । पाखुरा बजारेर र मुड्की हानेर सत्याग्रह हुन्छ ?’ ओलीले मानवअधिकारका नाममा मैदानमा उत्रिएकाहरुले नै मानवअधिरविरोधी काम गरिरहेको आरोप लगाए । ‘आफंैलाई पनि कसैले प्रताडित गर्छ वा दुःख दिन्छ भने त्यो मानवअधिकारविरोधी काम हो,’ ओलीले भने।

‘डा. केसीले समाधान खोज्ने भन्दा पनि समस्या मात्र खडा गर्नुभएको छ । स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई कस्तो बनाउने तपाईं नै जिम्मा लिनुहोस् । आयोग चाहिन्छ भने त्यसको अध्यक्ष तपाईं नै बन्नुहोस् ।’

डा. केसीको जीवनसँग कतिपयले आफ्नो राजनीतिको रोटी सेकिरहेको भन्दै ओलीले सजग हुन केसीलाई आग्रह गरे । ‘आमा भनेर अँगालो हाल्नेले आमाको नाकको फुलीसमेत सँगै लगेका उदाहरण छन्, डा. केसी त्यस्ता मान्छेसँग सतर्क हुनुपर्छ,’ उनले भने ।

पछिल्लो निर्वाचनका बेला पनि कांग्रेससँग कुनै अजेन्डा नभएकाले अधिनायकवादको रटान लगाएको ओलीको आरोप थियो । ‘संसद्मा विधेयक पेस नगरी पास भयो भन्ने कांग्रेस हो, अहिले पनि विधेयक पेसमात्र भएको छ तर कांग्रेसले विधेयक पास भयो भनेर प्रचार गरिरहेको छ,’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले कांग्रेसको हैसियत कमजोर हुँदा अधिनायकवादको आतंकले समाएको आरोप लगाए । ‘कांग्रेसलाई उसको हैसियतले छटपटी भएको हो, कांग्रेसले जे गरे पनि लोकतान्त्रिक हुने अरूले गरे अधिनायकवाद ?’

प्रधानमन्त्री ओलीले नेपालका बुद्धिजीवीलाई देख्दा टिठ लाने बताए । उनले बुद्धिजीवीका लेख पढ्दा उनीहरुका परिवारलाई नै असहज लाग्ने बताए । ‘बुद्धिजीवीहरुले आफ्नो विवेक कतिमा बन्धकी राखेका छन् ?’ उनले भने । आफ्ना हरेक कुरालाई उखानटुक्का भन्ने बुद्धिजीवीहरुलाई उनले खुला बहसका लागि चुनौती दिएका छन् । ओलीले न्यायिक निकायको टाकुरोमा पुगेको व्यक्तिले सात कक्षा नपढेका प्रधानमन्त्रीले के कुरा बुझ्छन् भनेर आफूमाथि व्यंग्य गरेको भन्दै आफूसँग सर्टिफिकेट हेर्न कहिले पनि नआएको बताए ।

केसीको जीवन रक्षामा कांग्रेस बाधक : दाहाल
नेकपाका अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केसीको अनशन पहिलो होइन भन्दै यसलाई अनौठो रुपमा लिन नहुने बताए ।

‘डा. गोविन्द केसीको अनशनलाई नेपाली समाजले पचाइसकेको छ, उहाँ अनशन बसिराख्नुहुन्छ,’ दाहालले भने । दाहालले सरकारले केसीको जीवनरक्षा गर्न खोजे पनि अलोकतान्त्रिक शक्तिले केसीलाई मार्न खोजिरहेको आरोप लगाए । दाहालले भने, ‘एक जना व्यक्तिले अनशन गरेरै माग पूरा गराउनुपर्ने हो भने संसद् र सरकार किन चाहियो?’

अध्यक्ष दाहालले डा. केसीको जीवनरक्षामा कांग्रेस बाधक बनिरहेको आरोप लगाए । ‘कांग्रेसले गर्न खोजेको के हो ? कांग्रेसले डा. केसीको पुच्छर समाएर हिँड्नुपर्ने अवस्था आएको हो ?’ उनले भने । उनले डा. केसीको पुच्छर समाएर कांग्रेसले जे गरिरहेको छ, त्यसले कांग्रेस अवसानको बाटोमा अघि बढेको बताए । उनले कांग्रेसका माग सकिएपछि डा. केसीका पछाडि लागेको आरोप लगाए ।

अध्यक्ष दाहालले क्रान्तिका उपलब्धि कमजोर बनाउनका लागि प्रतिक्रान्तिकारीहरू सल्बलाउन थालेको आरोप लगाए । ‘डा. केसीलाई देखाउँदै प्रतिक्रान्तिकारीहरु सल्बलाउन थालेका छन्,’ उनले भने ।

क्रान्तिभन्दा प्रतिक्रान्तिको शक्ति दसौं गुणा बढी हुने भन्दै दाहालले अहिले प्रतिक्रान्तिकारीहरुले टाउको उठाउन खोजेको आरोप लगाए । ‘प्रतिक्रान्ति जटिल र असाधारण प्रक्रिया हो, तर क्रान्तिबाट प्राप्त उपलब्धि रक्षा गर्नु झन् जटिल विषय हो,’ दाहालले भने । पार्टी एकीकरण भएपछि पार्टी र सरकारविरुद्ध निरन्तर प्रहार भइरहेको भन्दै दाहालले पार्टीमाथि भइरहेको घेराबन्दीलाई नजिकबाट हेरिरहेको बताए । उनले छिट्टै पार्टी एकीकरण प्रक्रिया टुंग्याएर जनतामाझ गई हाल भइरहेका षड्यन्त्रलाई तोडिने बताए ।

प्रकाशित: ८ श्रावण २०७५ ००:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App