१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

श्रीलंकाद्वारा शृंखला कब्जाको संकेत

कोलम्बो – अकिला धनञ्जयले पाँच विकेट लिएपछि श्रीलंकाले शनिबार दोस्रो टेस्टमा दक्षिण अफ्रकालाई पूर्ण रूपमा दबाबमा राख्दै दुई टेस्टको शृंखला ‘क्लिन स्विप’ गर्ने संकेत गरेको छ।

दोस्रो दिनको समाप्तिमा श्रीलंका १५३–३ मा खेलिरहेको छ र टोलीले दोस्रो इनिङमा ३ सय ६५ रनको अग्रता लिइसकेको छ । श्रीलंकाका ओपनर दिमुथ करुणारत्ने अविजित ५९ र एन्जेलो म्याथ्युज अविजित १० रनमा खेलिरहेका छन् । ९२ बल खेलेका करुणारत्नेले ८ चौका प्रहार गर्दा १५ बलको सामना गरेका म्याथ्युजले २ चौका प्रहार गरे।

शनिबार दक्षिण अफ्रिकालाई १ सय २४ रनमा समेट्दै दोस्रो इनिङ सुरु गरेको श्रीलंकालाई करुणारत्ने र धनुस्का गुणारत्नेले पहिलो विकेटका लागि ९१ रनको साझेदारी गर्दै टोलीलाई गतिलो सुरुआत दिलाएका थिए । ६८ बल खेलेका गुणारत्नेले ६ चौका र २ छक्का प्रहार गरे । दक्षिण अफ्रिकाका केशव महाराजाले २ विकेट लिए । महाराजाले पहिलो इनिङमा पनि ९ विकेट लिएका थिए।

यसअघि २९९–९ बाट दोस्रो दिनको खेल सुरु गरेको श्रीलंका थप ३९ रन जोड्दै पहिलो इनिङमा ३ सय ३८ रनमा समेटिएको थियो । श्रीलंकाका रंगना हेराथ र अकिला धनञ्जयले दशौं विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए । ९१ बल खेलेका धनञ्जयले ४ चौकाको मद्दतमा अविजित ४३ रन जोड्दा ६८ बलको सामना गरेका हेराथले ४ चौकाको मद्दतमा ४४ रनको योगदान दिए।

दक्षिण अफ्रिकाले १० रन जोड्दा आफ्नो अन्तिम ४ विकेट खेर फालेको थियो।

श्रीलंकाको पहिलो इनिङ ३ सय ३८ रनमा सीमित पार्दै आफ्नो पहिलो इनिङ सुरुआत गरेको दक्षिण अफ्रिका केवल १ सय २४ रनमा समेटियो । श्रीलंकाले पहिलो इनिङमा २ सय १४ रनको अग्रता लिएको थियो । दक्षिण अफ्रिकाका कप्तान फाप डु प्लेसिसले ४८ र विकेटकिपर क्विन्टन डी ककले ३२ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याटस्म्यालने उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ५१ बल खेलेका डु प्लेसिसले ८ चौका र १ छक्का प्रहार गर्दा ३१ बलको सामना गरेका डी ककले ३ चौका प्रहार गरे।

दोस्रो ओभरमा टोली ४ रनमा खेलिरहँदा ओपनर डिन एल्गरलाई खाता नखोल्दै गुमाएको दक्षिण अफ्रिका सुरुआतमै दबाबमा पर्याे । एल्गरलाई धनञ्जयले डी सिल्भाबाट क्याच गराएका थिए । दक्षिण अफ्रिकाले थप ४ रन जोड्दा थिउनिस डि बु्रयन(३) लाई गुमायो । उनलाई धनञ्जयले विकेटकिपर नरोसान डिकवेलाबाट क्याच गराएका थिए । अर्का ओपनर एडिन मार्कामलाई रंगना हेराथले एलबिडब्लुको सिकार बनाएपछि दक्षिण अफ्रिका १५–३ को स्थितिमा आएको थियो।

त्यसपछि ब्याटिङका लागि आएका डु प्लेसिसले हासिम अमलासँग चौथो विकेटका लागि ५५ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकाको इनिङ उकास्ने संकेत गरेका थिए । तर १९ रन जोडेका अमलालाई दिलरुवान परेराले कुशल मेन्डिसबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । दक्षिण अफ्रिकाले १० रन जोड्दा आफ्नो अन्तिम ४ विकेट खेर फालेको थियो । गत साता गेलमा सम्पन्न पहिलो टेस्ट जितेको घरेलु टोली श्रीलंका दुई टेस्ट शृंखलामा १–० ले अघि छ।

प्रकाशित: ६ श्रावण २०७५ ०४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App