१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

समस्याको घेरामा कतार विश्वकप

२०२२ को विश्वकपका लागि कतारमा निर्माणाधीन रंगशाला । तस्बिरः एजेन्सी

दोहा – फिफाले रूसमा हालै सम्पन्न विश्व फुटबलको महाकुम्भ विश्वकपलाई अहिलेसम्मकै सबैभन्दा सफल र उत्कृष्ट विश्वकपको संज्ञा दिएको थियो । रूस विश्वकपको समापनसँगै निकै विवादित बनेको कतार विश्वकप २०२२ को चर्चा सुरु भएको छ।

विश्वकप फुटबलमा हालसम्म पनि सहभागिता जनाउन नसकेको खाडी मुलुक कतारलाई २०२२ को विश्वकप आयोजनाको अधिकार दिने फिफाको निर्णयको चर्को आलोचना हुनुका साथै प्रतियोगिताका बारेमा समेत जिज्ञासा बढ्न थालेको छ।

त्यसैले कतार ४ वर्षपछि मध्यपूर्व एसियामा हुन लागेको पहिलो विश्वकपलाई रूसको भन्दा सफल पार्दै विश्वजगत्मा आफूलाई प्रमाणित गर्न चाहन्छ।

खाडी राष्ट्रमा जारी कूटनीतिक नाकाबन्दी, आतंकवादीलाई सहयोग पु¥याएको आरोप, भ्रष्टाचार र मानवअधिकारको दुरुपयोगजस्ता समस्याले पिरोलिरहेको कतार जसरी भए पनि प्रतियोगिता सफल पार्न आतुर छ । फिफाले पहिलो पटक विश्वकपको आयोजना मिति जुन–जुलाईबाट सार्दै २०२२ को विश्वकप नोभेम्बर–डिसेम्बरमा गर्ने निर्णय गरिसकेको छ । प्रतियोगितामा कतिवटा टोलीको सहभागिता रहने भन्ने विषय पनि अन्योलमा छ।

कतारले मध्यपूर्व एसियामा हुन लागेको विश्वकप आफूहरूका लागि मात्र नभई समग्र क्षेत्रका लागि नै फाइदाजनक दाबी गरिरहँदा त्यहाँको राजनीतिक गतिरोधले भने यो दाबीलाई छायामा पारेको छ।

आतंकबादलाई प्रोत्साहन गरेको र इरानसँग सम्बन्ध बढाएको भन्दै २०१७ जुन महिनादेखि छिमेकी राष्ट्र साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्स (युएई) सहितका राष्ट्रले कतारसँग कूटनीतिक सम्बन्धविच्छेद गरेका थिए । कतारले जुनमा युएईििवरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गरेसँगै विगत १३ महिनादेखि जारी समस्या समाधानको बाटोमा भन्दा थप गतिरोधको बाटोमा अघि बढेको थियो।

कतार र छिमेकी राष्ट्रबीचको चिसोपना चुलिएसँगै २००२ मा आयोजना हुने प्रतियोगिताबारे थप अन्योल बढेको छ ।
साउदी अरेबिया र युएईले कतारलाई आधिकारिक रूपमा विश्वकप आयोजनाको अधिकार खोस्न माग गरेका थिए । साउदी अरेबिया र युएइको सरकारले आफ्ना नागारिकलाई कतार भ्रमणका लागि समेत रोक लगाएका छन् । कतारले प्रतियोगितामा १५ लाख दर्शक अपेक्षा गरिरहेको छ । तीमध्ये अधिकांश साउदी नागरिक हुने कतारको अपेक्षा छ।

फिफा लामो समयदेखि कतार र छिमेकी राष्ट्रबीच जारी विवाद समाधानका अग्रसर छ तर पनि समस्या समाधान भने हुन सकेको छैन । फिफाले जुन ११ मा कतारी टेलिभिजन बिएन स्पोर्ट्सबाट स्वीकृति नै नलिई गैरकानुनी रूपमा रूस विश्वकपको प्रत्यक्ष प्रसारण गरेको भन्दै साउदी अरेबियाविरुद्ध कानुनी कदम चाल्ने घोषणा गरिसकेको छ।

राजनीतिक गतिरोधलाई अन्त्य गर्न फिफाका अध्यक्ष जियान इन्फान्टिनोले साउदी अरेबियाका राजकुमारसँग मोहम्मद बिन सलमानसँग निरन्तर छलफल गरिहेका छन् । छिमेकी मुलुकसँगको गतिरोधसँग जुधिरहेको कतार अन्य समस्याले पनि घेरिएको छ।

स्विस महान्याधिवत्ताको कार्यालयले २०२२ को विश्वकपको आयोनजा अधिकार कतारलाई दिँदा भ्रष्टाचार भएको बताइरहँदा यही मुद्दा अहिले पनि अमेरिकी अदालतमा विचाराधीन छ । तर कतारले भने आफूमाथि लागेका सबै आरोपको खण्डन गर्दै आएको छ।

त्यस्तै कतार विश्वकप नोभेम्बर–डिसेम्बरमा सारिएपछि इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, जर्मन बुन्डेसलिगा र इटालियन सिरी ‘ए’ जस्ता युरोपका शीर्ष लिग उक्त समय दौरान रोकिने वा नरोकिनेबारेमा पनि फिफाले कुनै निर्णय गर्न सकेको छैन।

यता रंगशालमा निर्माणमा खटिएका विदेशी कामदारमाथिको दमनका कारण निरन्तर मानवअधिकार हनन गरेको आरोप खेपिरहेको कतारले त्यसको सुधारका लागि फिफाले दिएको निर्देशन समेत पालना गरेको छैन।

फिफाले २०२६ मा अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा सहभागी राष्ट्र ४८ हुने निर्णय गरिसकेको छ । तर कतारले २०२२ को विश्वकपमा नै सहभागी टोलीको संख्या ४८ पुर्याउन फिफासमक्ष आग्रह गरे पनि फिफाले यस विषयमा कुनेै निर्णय गरेको छैन।

रूस विश्वकप दौरान कतारका उच्च प्रतिनिधि नासिर अल खातिरले आपूmहरू ४८ राष्ट्र सम्मिलित विश्वकप आयोजना गर्न सक्षम भएको प्रतिक्रिया दिएका थिए।

प्रकाशित: ४ श्रावण २०७५ ०५:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App