१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जनता आवासका घरहरु गुणस्तरहिन

१० महिनाअघि निर्माण सूरु भएको सर्लाहीको पिपरभित्ता बजार स्थित संजादेवी रामको घर । तस्बीर : टंक क्षेत्री/नागरिक

सर्लाही - विपन्न एवं दलित समुदायका लागि जनता आवास कार्यक्रम अन्तर्गत निर्माणाधिन घरहरु गुणस्तरहिन रहेको फेला परेको छ। जस्ताले छाउने २ कोठाको घर बनाउने काम वर्ष दिन बित्न लाग्दा समेत पूरा भएका छैनन् । निर्माणाधिन अवस्थामै रहेका पक्की घरका पर्खालहरु चर्किसकेको छ । इट्टा जोडाईका लागि राखिएको सिमेन्ट र बालूवाको मसला फुस् फुस झर्न थालेका छन् ।

आधा घर बनाएको १० महिना बितिसके पनि कोही फर्केर नआएको बरहथवा नगरपालिका–१५, पिपरिभित्ता बजार निवासी संजादेवी रामले नागरिकसँग गुनासो गरिन् । रामको परिवारका लागि निर्माणाधिन घरको पर्खाल चर्किएको छ भने मसला हातले छाम्दा फुस फुस झर्ने गरेको छ ।  ‘कात्तिकबाटै घर बनाउन सूरु गरेर आधा भएपछि त्यसै छाडिएको छ’, केही दिनअघि नागरिककर्मीसँग उनले भनिन्, ‘चाँडो बनाईदिए यो वर्षायाममा पक्की घर भित्र बस्नु हुन्थ्यो ।’ घरको अवस्था हेर्दा सानो भुँईचालो वा ठूलो खाले हुरी बतासले नै ढालिदिने हो कि भन्ने चिन्तामा छिन् उनी ।

पिछडिएका एवं बोल्न नसक्ने विपन्न दलित समुदाय भएकाले रामको लागि निर्माण हुँदै गरेको घरको अवस्था हेर्दा उक्त कार्यक्रम अन्तर्गतका घर निर्माणमा व्यापक अनियमितता भएको हुन सक्ने आशंका जन्मिएको छ । अलि बोल्नेहरुको घर बनाउँदा पिलरमा ४ वटा रड हालिएपनि आफूहरुकोमा भने १–१ वटा मात्र रड राखेर पिलर बनाईएको स्थानीय राहुल पासवानले गुनासो गरे । निर्माण कार्य भईरहेको स्थानमा सम्पूर्ण विवरण खुल्ने गरी होर्डिङ बोर्ड वा अस्थायी व्यानर नराखिनुले अनियमितताको आशंकामा थप मलजल थपेको छ। 

जनता आवास कार्यक्रम अन्तर्गत उपभोक्ता समिति मार्फत घरहरु निर्माण भईरहेको र जस्ता हाल्ने काम भईरहेको बरहथवा नगरपालिका–१५ का वडा अध्यक्ष रामबहादुर चौधरीले जानकारी दिए । ‘घर पाउने लाभान्वित समुदायको समेत सहभागितामा उपभोक्ता समिति मार्फत निर्माण कार्य भईरहेको छ’, उनले भने, ‘मेरो वडामा २६ वटा घरहरु निर्माण भईरहेको छ ।’ घरहरुको गुणस्तरको बारेमा सोध्दा वडाअध्यक्ष चौधरीले आफूलाई थाहा नभएको जानकारी दिए।

सुन्दरपुर चुहड्वा निवासी पूर्व सांसद् हरि उप्रेतीले जनता आवास कार्यक्रम अन्तर्गत कर्मैया, सुन्दरपुर चुहड्वा, बरहथवा, हजरिया लगायत जिल्लाका विभिन्न स्थानहरुमा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनुषा मार्फत घरहरु निर्माण भईरहेको बताए । ‘२०० वटा भन्दा बढी घरहरु निर्माण भईरहेको छ’, उनले भने, ‘घरधनीलाई समितिमा राखेर बनाउने काम भईरहेको छ भनिएको छ, अब काम चाँही कस्तो भएको छ विस्तृतमा सबै घर घुमेर मैले हेर्न भ्याएको छैन ।’ उप्रेतीका अनुसार एउटा घरका लागि २ लाख १५ हजार रुपैंया बजेट आएको छ । आफू अध्यक्ष हुँदा सर्लाहीका विभिन्न स्थानका लागि २०० वटा घरहरु परेको तथा पूर्व सांसद् हरेश महतो अध्यक्ष हुँदा अझै थपिएको उप्रेतीले जानकारी दिए ।

 

प्रकाशित: ३ श्रावण २०७५ १३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App