१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गौचरन बन्दै डोल्पाको मसिनचौर विमानस्थल

डोल्पा – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का ५७ वर्षीय पुर्णबहादुर शाहीलाई २०६९ भदौमा आफ्नै घरको आगन नजिक हवाईजहाज अवतरण गरेपछि औधी खुसी  लागेको थियो। तर उनको खुसी पाँच महिना पनि टिक्न सकेन्।

०६९ भदौको पहिलो साता मसिनचौर विमानस्थलमा हवाईजहाज अवतरण गरेपछि घरको नजिकैबाट नेपालगन्जको हवाइयात्रा गर्दा खुसी बनेका पुर्णबहादुर शाही लगायतका पहाडाका बासिन्दाहरूको खुसी यतीबेला हराउँदै गएको छ। 

०५२ सालबाट मसिनचौर विमानस्थलको कच्ची धावनमार्ग निमार्ण भइ ०६९ भदौ पहिलो साता निजी एयरलायन्सका मकालु एयर गोमा एयर र काष्ठमण्डप लगायतका हवाईजहाजहरूले उडान भरेका थिए।

तर पूर्वाधार अभाव र धावनमार्गको कमजोर ब्यवस्थापनको कारण देखाउदै सरकारी एयरलायन्स नेपाल वायुसेवा निगम र निजी एयरलायन्स तारा एयरले उडान नभरेपछि मसिनचौर विमानस्थलले निरन्तरता पाउन नसक्दा आगनबाटै हवाई यात्रा गर्ने सपना अधुरो बन्दै गएको छ।

 विमानस्थलको निमार्णका लागि हालसम्म ४५ करोड भन्दा बढी राज्यको लगानी खर्च भएसकेको छ। ०६९ पुसको पहिलो साताबाट हवाई सेवा बन्द भएको पहाडा मसिनचौर बिमानस्थलको स्तरवृद्दि र भौतिक पूर्वाधार निमार्णको नाममा भएको ढिलासुस्ती र विकास वजेटमा भएको आर्थिक अनियमितताका कारण विमानस्थल यतिबेला गाईबस्तु चर्ने गौचरणको रुपमा परिणत हुँदै गएको छ।

विमानस्थलमा निमार्णधिन टर्मीनल भवन, सुरक्षागार्ड भवन र कर्मचारी निवास भवनहरू पनि कमजोर मापदण्डमा ठेकेदारहरूले निमार्ण गरिरहेको पाइएको छ। एकातीर कमजोर मापदण्डमा गुणस्तरहिन भवन निमार्ण र अर्को तीर निमार्ण कार्यमा देखिएको ढिलासुस्तीले पहाडा विमानस्थल नागरिकको हवाईसेवाको लागि भन्दा पनि निमार्ण ब्यवसायिहरूको लागि दुहुनो भैँसीको रुपमा राज्यढुकुटीको दोहन गर्ने माध्यम बन्दै गइरहेको त्रिपुरासुन्दरी नगरपालिका–७ का चन्द्रवीर बोहराले बताए।

उनले भने “हामीलाई नियमित हवाईसेवा चाहिएको हो तर यसो हुनसकेको छैन विमानस्थलमा गाई भैँसी चर्छन जताततै छाडा छ प्राविधिक पनि छैनन् ठेकेदार पनि छैनन् बेवारिसे अवस्थामा पेटी ठेकेदारले भवन निमार्ण लगायत विमानस्थलको स्तरवृद्दिको नाममा काम गरिरहेको जस्तो कछुवा गतिमा देखिन्छ तर कामले कहिल्यै पूर्णता पाउदैन यसरी कहिले हामीले हवाईसेवा नियमित पाउन सकौला।” 

पहाडा विमानस्थलमा निमार्णधिन टर्मीनलको जिम्मा पाएको सुर्य केएम कन्सट्रक्सन र सुरक्षागार्ड आवास र कर्मचारी आवास भवनको जिम्मा पाएको गोरखा कन्सट्रक्सनले गरिरहेको काम कम गुणस्तरीय रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए।

जिल्लाको विकास निमार्ण र सुरक्षाअवस्था बुझ्न स्थलगत निरीक्षणमा पहाडा विमानस्थलमा पुगेर अवलोकन निरीक्षण गर्दा बेवारिसे अवस्थामा कमजोर गुणस्तरमा काम भइरहेको आफुले पाएको र सम्बन्धित पक्षलाई यथाशीघ्र काममा तीब्रता दिन र गुणस्तरमा वृद्दि गर्न लिखित निर्देशन दिइसकेको प्रमुख जिल्ला अधिकारी थापाले बताए।

विकास निमार्णको बारेमा जनस्तरबाट गुनासो आउनुका साथै अख्तियारमै उजुरी परेपछि विमानस्थलमा भइरहेको कामको स्थलगत अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी थापा जिल्ला प्रहरी प्रमुख डिएसपी हरिप्रसाद शर्मा, राष्ट्रिय अनुसन्धानका इन्सपेक्टर सुमनकुमार भण्डारी, जिल्ला समन्वय समितिका संयोजक शेरबहादुर बुढा लगायत संचारकर्मी सहितको टोली पहाडा स्थित मसिनचौर विमानस्थलमा पुगेर भइरहेको कामको प्रगती र ढिलासुस्तीको बारेमा जानकारी लिएको थियो।

२० करोडको लागतमा विमानस्थलको धावन मार्गलाई कालोपत्रे गर्ने जिम्मा पाएको एपेक्स शिद्दि शाही शिद्दि हिमाली कन्सट्रक्सनले पनि विभिन्न बहाना देखाएर काममा ढिलासुस्ती गर्दा विमानस्थलले पूर्णता पाउन नसकेको हो।

जिल्लाको दोस्रो बैकल्पिक विमानस्थलको रुपमा निर्माणाधिन पहाडास्थित मसिनचौर विमानस्थलको निमार्ण कार्य यथाशीघ्र छिटो भन्दा छिटो सम्पन्न गरि नियमित रुपमा हवाईसेवा संचालनमा ल्याइनुपर्ने स्थानीयको माग छ। हाल डोल्पाको पहिलो विमानस्थल जुफाल विमानस्थल संचालनमा छ।

प्रकाशित: २ श्रावण २०७५ ०६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App