१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मदर टेरेसाकाे संस्थामाथि अनुसन्धान

तस्बिर : एजेन्सी

नयाँ दिल्ली – शिशुहरु बेचेको आरोप लागेपछि मदर टेरेसाद्वारा भारतमा स्थापित मिसिनरिज अफ च्यारिटीबारे अनुसन्धान थालिएको छ।

भारतभर रहेका सो परोपकारी संस्थाका केन्द्रहरुको निरीक्षण गर्न सरकारले अधिकारीहरुलाई आदेश दिएको बिबिसीले जनाएको छ।

पूर्वी भारतको झारखण्ड राज्यमा रहेको च्यारिटीबाट शिशु बेचेको आरोपमा त्यहाँ कार्यरत एक जना सिस्टर र अर्की एक महिला कर्मचारी पक्राउ परेपछि भारत सरकारले अनुसन्धान गर्न आदेश दिएको हो । च्यारिटीले भने शिशु बेचेको घटनाबारे प्रकाशित समाचारलाई आश्चर्यजनक भन्दै घटनाबारे आफूले पनि आन्तरिक अनुसन्धान थालेको जनाएको छ । सन् २०१५ मा सम्बन्धित कानुनमा कडाइ गरिएपछि भारतमा अवैधानिक रूपमा धर्मपुत्र–धर्मपुत्री उपलब्ध गराउने व्यापार मौलाएको बताइन्छ ।

मंगलबार भारतको महिला तथा बालकल्याण विभागले एउटा विज्ञप्ति जारी गर्दै सबै राज्यहरुलाई मिसिनरिज अफ च्यारिटीद्वारा सञ्चालित बालसेवा गृहहरुको तत्काल निरीक्षण गर्न निर्देशन दिइएको जनाएको छ । झारखण्डको बालकल्याण समितिले अविवाहित गर्भवती महिलाहरुका लागि स्थापित एउटा केन्द्रबाट एउटा शिशु हराएको भनेर उजुरी हालेपछि प्रहरीले जुन ५ मा दुई जनालाई पक्राउ गरेको थियो । सो शिशु उनकी आमाको अस्पतालमा भएको खर्च बेहोरिदिने दम्पत्तीलाई बेचिएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको बिबिसीले जनाएको छ ।

च्यारिटीले शिशु बेचिएको घटना आफ्नो नैतिक मूल्य र मान्यताविरुद्ध भएको बताएको छ । ‘यदि शिशु बेचिएकै हो भने पनि फेरि त्यस्तो नहोस् भनेर हामी आवश्यक सावधानी अपनाउनेछौं,’ मिसिनरिज अफ च्यारिटीकी सुनिता कुमारलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

नोबल शान्ति पुरस्कार विजेता मदर टेरेसाले सन् १९५० मा उक्त च्यारिटी संस्थाको स्थापना गरेकी थिइन् । उनको मृत्यु सन् १९९७ मा भएको थियो । कलकत्तामा मुख्यालय रहेको उक्त संस्थाले सेवाश्रम, विद्यालय, भान्छा, बाबुआमाबाट वा परिवारबाट त्यागिएका बालबालिकालाई घर र कुष्ठरोगीका लागि आवास सञ्चालन गर्ने गरेको छ ।

 

प्रकाशित: २ श्रावण २०७५ ०३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App