१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

समयमै आर्थिक आयोजना नसकिएपछि किम रुष्ट

ओन्फो होलिडे रिसोर्टको भ्रमण गर्दै उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन । तस्बिर : एजेन्सी

सोल– देशका आर्थिक आयोजनाहरुको समयमा नै समापन नगरेको भन्दै त्यससम्बन्धी अधिकारीहरुलाई उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले असाधारण रूपमा कडा आलोचना गरेका छन्।

यसअघि प्रायः जसो राज्य सञ्चालित उद्योगहरुको भ्रमणमा जाँदा आफ्ना अधिकारीहरुको मुक्तकण्ठले प्रशंसा गर्ने किमको पछिल्लो आलोचनालाई भने अप्रत्याशित रूपमा लिइएको बिबिसीले जनाएको छ।

यस पटकको भ्रमणमा आयोजना केवल ७० प्रतिशत मात्रै समापन भएको र गर्मीयामको बाथट्युब माछा पालन गरिने ट्यांकीभन्दा पनि फोहोर पाइएपछि उनी अवाक र निरास भएको राज्य सञ्चालित सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । आणविक हतियार विकास कार्यक्रमबाहेक देशको आर्थिक प्रगतिलाई प्योङयाङले लामो समयदेखि प्रमुख मुद्दा बनाइरहेको छ।

राज्य सञ्चालित विभिन्न कलकारखाना भ्रमण गरिरहने किमको पछिल्लो भ्रमण देशको उत्तरी हाम्गयोङ प्रान्तस्थित चारवटा औद्योगिक क्षेत्रमा केन्द्रीत रहेको बताइएको छ । हाम्गयोङ क्षेत्र चीनसँगको सिमावर्ती क्षेत्र हो । आयोजना सुरुवातको १७ वर्षपछि पनि ओराङचोन ऊर्जा केन्द्रमा मात्रै ७० प्रतिशत निर्माण कार्य सकिएको भन्दै नेता किम निरास भएको बताइएको छ । यामबुन्जिन सहरमा रहेको एउटा होटल बन्न थालेको छ वर्षभित्र अझै प्लास्टरिङको कार्य बाँकी भएको किमले जानकारी लिएका थिए।

ओन्फो होलिडे रिसोर्टको भ्रमण गर्ने क्रममा उनले त्यहाँस्थित बाथट्युब अत्यन्तै फोहोर पाएका थिए,’ राज्य सञ्चालित केसिएनए समाचार एजेन्सीले जनाएको छ । देशका ठूला कलकारखानको भ्रमण गरेपछि नेता किमले प्रान्तीय पार्टी कमिटीले लापरबाही ढंगले काम गरिरहेको बताएको बिबिसीले उल्लेख गरेको छ ।
 

 

प्रकाशित: २ श्रावण २०७५ ०३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App