१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आगामी केही वर्ष एमबाप्पेको

मस्को – किलियन एमबाप्पे र अन्य प्रतिभावान फ्रान्सेली युवा पुस्ताका खेलाडीहरूका लागि रूसमा क्रोएसियालाई हराउँदै जितेको विश्वकप उपाधि सुरुआत मात्र हुन सक्छ।

फ्रान्सका युवा प्रतिभाहरुको समूहमा १९ वर्षे एमबाप्पेले पोस्टर ब्वायको छवि बनाइसकेका छन् । एमबाप्पेलगायतका युवा खेलाडीहरूको क्षमता र तीव्र गतिका कारण उनीहरूले आउँदा केही वर्षसम्म अन्तर्राष्ट्रिय फुटबलमा राज गर्ने आशा गरिएको छ।

रक्षापंक्तिमा जब्बर तथा परिपक्व प्रदर्शन गरेका चार खेलाडी बेन्जामिन पाभार्ड, राफेल भरान, सामुइल उम्टिटी र लुकास हर्नान्डेजको औसत उमेर २३ वर्ष मात्र छ । बार्सिलोनाका १० करोड ५० लाख युरोका खेलाडी औसमाने डेम्बेलेले नकआउट चरणमा दुई मिनेटमात्र खेले । आइतबार क्रोएसियाविरुद्ध गोल गर्ने अन्य खेलाडीमा एन्टोनी ग्रिजम्यान २७ वर्षका भए भने पाउल पोग्बा २५ वर्षको उमेरमै उच्च फर्ममा पुगिसकेका छन्।

मस्कोको लुझनिकी रंगशालामा ४–२ को जित हासिल गर्दा फ्रान्सको चौथो तथा प्रतियोगितामा आफ्नो पनि व्यक्तिगत चौथो गोल गरेका एमबाप्पे २१औं विश्वकपको सर्वोत्कृष्ट उदीयमान खेलाडी घोषित भए । विश्व फुटबलको सबभन्दा ठूलो खेल विश्वकपको फाइनलमा किशोरावस्थामै गोल गर्ने उनी पेलेपछि दोस्रो खेलाडी बने।

‘मैले एउटा कथा लेख्नु छ । यो सुरुआत मात्र हो,’ एमबाप्पेले पूरा विश्वलाई चेतावनी दिए, ‘म योभन्दा धेरै अगाडि बढ्न चाहन्छु।’

चितुवाको जस्तो तीव्र गतिमा बल अगाडि बढाउने पेरिस सेन्ट जर्मनका फरवार्डलाई ब्राजिली महान् खेलाडी पेलेसँग तुलना गरिएको रूसमै यो पहिलो पटक होइन । अन्तिम १६अन्तर्गत अर्जेन्टिनाविरुद्धको खेलमा दुई गोल गर्दै उनी विश्वकपको एकै खेलमा एकभन्दा बढी गोल गर्ने पेलेपछि पहिलो किशोर खेलाडी बनेका थिए।

‘किलियनले मेरा कीर्तिमानसँग यसै गरी बराबरी गर्दै गए भने मैले फेरि बुटको धुलो झार्नुपर्न सक्छ,’ पेलेले ट्विट गरेका थिए।

१९५८ मा १७ वर्षको उमेरमा प्रभावशाली पारामा विश्व च्याम्पियन बनेका पेलेले दुई थप विश्वकप जितेका थिए । एमबाप्पेले पेलेका ती उपलब्धि भेट्न अझै धेरै गर्न बाँकी छ । तथापि एउटा टिमको रूपमा भने फ्रान्सको युवा टोलीले विश्वस्तरीय प्रदर्शन गरेको थियो।

दुई वर्षअघि आफैंले आयोजना गरेको युरोपियन च्याम्पियनसिप खेलेको टोलीबाट यसपालि प्रशिक्षक डिडियर डेसच्याम्पसले ९ खेलाडीलाई मात्र रूसको भ्रमणमा लगेका थिए । तर युरो २०१६ को फाइनल र आइतबारको फाइनलमा उतारेको पहिलो रोजाइमा भने पाँच मात्र परिवर्तन थिए।

रूस विश्वकपमा सहभागी ३२ टिममध्ये नाइजेरियाको टोली मात्र डेसच्याम्पसको फ्रान्सभन्दा कम उमेरको थियो । भरान, एमबाप्पे, पोग्बा र एनगोलो कान्टेजस्ता क्लबस्तरमा उच्च प्रदर्शन गरिरहेका खेलाडीको उपस्थितिका कारण फ्रान्सको भविष्य अन्यको भन्दा उज्ज्वल रहेको देखिन्छ।

‘किलियन एमबाप्पे भर्खर १९ वर्षका भएका छन् । उनले फेरि पनि विश्वकप जित्ने सम्भावना छ,’ फ्रान्सका प्रशिक्षक डेसच्याम्पसले भने, ‘२० वर्षअघि हामीले विश्वकप जित्दा पनि थिएरी अनरी र डेविड ट्रेजेग्विटजस्ता खेलाडीहरू १९ वर्षका मात्र थिए । उनीहरुले फेरि पनि विश्वकप जित्न सक्ने थिए, तर जितेनन् । फुटबलमा कुनै पनि कुरा अनुमान गर्न सकिन्न।’

अनरी, ट्रेजेग्विट र डेसच्याम्पसले दोस्रो पटक विश्वकप जित्न नसके पनि उनीहरु २००० मा फ्रान्स युरोपियन च्याम्पियन हुँदा टोलीको मुख्य सदस्य थिए । २०१६ मा घरेलु मैदानमा उत्कृष्ट प्रदर्शनका साथ फाइनल पुगे पनि युरोपियन च्याम्पियनसिप जित्न नसकेपछि फ्रान्सेली टोली विश्वकपमा पनि दबाबमा थियो।

दुई वर्षअघि डेसच्याम्पससँग एमबाप्पेजस्ता विकल्प थिएनन् । तर अहिले १८ करोड युरोमा मोनाकोबाट पेरिस सेन्ट जर्मन सरुवा भएका एमबाप्पेको उपस्थितिकै कारण रूसमा दुई वर्षपछि डेसच्याम्पस विश्वकै सबभन्दा ठूलो उपाधि उचाल्न सफल भए।

‘सानो उमेरमा विश्वकप जित्ने खेलाडीका लागि धेरै ढोका खुला हुन्छन् । अब मैले मिहिनेतलाई निरन्तरता दिनुपर्छ,’ रियाल मड्रिडले क्रिस्टियानो रोनाल्डोको उत्तराधिकारीका रूपमा अनुबन्ध गर्न खोजे पनि पेरिस सेन्ट जर्मनमै रहने प्रस्ट्याउँदै एमबाप्पेले भने।

पोर्चुगाली सुपरस्टार रोनाल्डो र अर्जेन्टिनी जादुगर लियोनल मेसीको उत्तराधिकारीका रूपमा आफूलाई प्रमाणित गरिसकेका एमबाप्पेले कुनै दिन बालन डी’अरको पनि विजेता बन्ने अपेक्षा गरेका छन्।

‘नयाँ खेलाडीको आगमनले हामीलाई धेरै सहयोग पुगेको छ । पाभार्ड, हर्नान्डेज र एमबाप्पेको उपस्थितिले टिममा अतिरिक्त आयाम थपियो,’ ग्रिजम्यानले भने।

प्रकाशित: १ श्रावण २०७५ ०५:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App