१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘अफगान तालिबानसँग प्रत्यक्ष वार्ता गर्न अमेरिका तयार’

उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) मिसनको नेतृत्व गरिरहेका अमेरिकी सेनाका जनरल निकोल्सन । तस्बिर : रोयटर्स

काबुल– संयुक्त राज्य अमेरिका अफगान तालिबानसँग प्रत्यक्ष वार्ता गर्न तयार रहेको अफ्गानिस्तानस्थित अमेरिकी सेनाका उच्च कमान्डर जनरल जोन निकोल्सनले बताएका छन्।

तालिबान र अफगान सरकारबीच सम्भावित शान्ति वार्ता हुने अनुमान चलिरहैकै बेला १७ वर्ष लामो युद्ध अन्त्यको प्रयासका लागि अफगान तालिबानसँग प्रत्यक्ष वार्ता गर्न अमेरिका तयार रहेको भन्ने कमान्डर निकोल्सनको भनाइ बाहिरिएको छ।

उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) नेतृत्वको रिसोल्युट सपोर्ट मिसनको नेतृत्व गरिरहेका निकोल्सनले अफ्गानिस्तानमा शान्ति स्थापनाका लागि अमेरिकाको भूमिका प्रमुख भएको विषय पत्ता लगाएको बताएका छन् ।
‘तालिबानसँग बैठक गर्न र अन्तर्राष्ट्रिय फौजको भूमिकाबारे छलफल गर्न संयुक्त राज्य अमेरिका तयार रहेको छ, हाम्रा विदेशमन्त्री माइक पोम्पेओले भनेका छन्,’ जनरल निकोल्सनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

‘तालिबानले पनि यो विषयलाई मनन गर्नेछ र शान्ति प्रक्रिया सुरु हुनेछ भन्ने हामीले विश्वास लिएका छौं,’ उनले बताए । वार्ता सुरुवात गर्ने प्रयोजनका लागि तालिबानसँग प्रत्यक्ष वार्ताको आवश्यकता खोज्न आफ्ना कूटनीतिज्ञलाई अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले आदेश दिएको विषय केही समयअघि बाहिरिएको थियो ।अमेरिकी धारणाको पुष्टि आफूले खोजिरहे पनि अमेरिकी पहुँचको भने स्वागत गर्ने कतारस्थित तालिबानी राजनीतिक कार्यालयका प्रवक्ता सोहेल साहिनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

‘अमेरिकासँग प्रत्यक्ष रूपमा वार्तामा बस्ने र अफ्गानिस्तानमा रहेका विदेशी सेनालाई फिर्ता लैजानेबारेको विषयमा छलफल गर्न हामीले चाहेको विषय हो र हामीले पनि अमेरिकासँग वार्ता गर्न खोजिरहेका थियौं,’ प्रवक्ता साहिनले बताए । उनले वार्ताको पहिलो प्रयास संयुक्त राष्ट्रसंघीय कालोसूचीबाट तालिबान नेतालाई हटाएर हुनसक्ने बताएका छन् । उनले अफ्गानिस्तानमा रहेको विदेशी सेनाको फौज प्रमुख मुद्दा हुने र यस विषयमा अमेरिकी सरोकारबारे तालिबान बैठक गर्न तयार रहेको समेत बताएका छन्।

अफ्गानिस्तानको धेरै भूभाग तालिबानले नियन्त्रणमा लिइरहेको र त्यहाँ अमेरिकी उपस्थिति अत्यन्तै कम भएको कारण अमेरिकी राष्ट्रपति ट्रम्प अत्यन्तै अस्थीर भएको अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । अफ्गानिस्तानमा आक्रामक हवाई हमला गर्ने घोषणा गरिए पनि खासै उपलब्धी नभएको भन्दै ट्रम्पले अमेरिकी सेना फिर्ता लानेबारे सोचिरहेको जानकारहरु बताउने गर्दछन्।

अफ्गानिस्तानमा सशस्त्र विद्रोह गरिरहेको लडाकु समूह तालिबानले त्यहाँका राष्ट्रपति असरफ घानी नेतृत्वको सरकारसँगको वार्ता पटकपटक अस्वीकार गर्दै आइरहेका छन् । उनीहरुले घानीको सरकार गैरकानुनी भएको भन्दै अमेरिकासँग मात्रै वार्ताको टेबलमा बस्ने बताउँदै आएका छन् ।अमेरिकी विदेशमन्त्री पोम्पेओले समग्र शान्ति प्रक्रिया अफ्गान नेतृत्वमै हुनु पर्ने भए पनि वासिङ्टन पनि वार्तामा सहभागी हुन तयार रहेको बताउने गरेका छन् ।

यसअघि अमेरिकाले घानी सरकारसँग वैधानिक हैसियत रहेको भन्दै उसैसँग वार्ता गर्न तालिबानलाई बताउने गरेको थियो । विदेशमन्त्री पोम्पेओले अफ्गानिस्तानमा रहेका विदेशी सेनाबारे पनि अमेरिका तालिबानसँग वार्ता गर्न तयार रहेको बताएका छन् । यद्यपी तालिबानले भने वार्ताको वातावरण बनाउनका लागि अफ्गानिस्तानमा रहेका विदेशी सेनालाई फिर्ता लानुपर्ने शर्त राख्दै आएको छ । वार्ताको माहोल बनाउनका लागि अमेरिकी विदेशमन्त्री पोम्पेओसहित अन्य वरिष्ठ कूटनीतिज्ञले केही साताअघि मात्रै अफ्गानिस्तानको राजधानी काबुलको भ्रमण गरेका थिए ।

 

प्रकाशित: १ श्रावण २०७५ ०२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App