१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भौतिक निर्माणमा उल्लेखनीय प्रगति


वीरगन्ज – आर्थिक वर्ष ०७४÷७५ सकिनै लाग्दा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय वीरगन्जमार्फत सार्वजनिक महत्वका सरकारी भौतिक संरचना निर्माणमा उल्लेखनीय प्रगति देखिएको छ।

 गत आर्थिक वर्षको अन्त हुँदासम्म ‘रुग्ण योजनाहरु’को सूचीमा परेका दर्जनौं भवन चालू आवको अन्त्यसम्म ‘सम्पन्न योजनाहरु’को सूचीमा आइपुगेका छन् ।

पर्साको सखुवा पर्सौनी गाउँपालिकामा पर्ने महुवनस्थित स्वास्थ्य चौकीको भवन सबैभन्दा जटिल बनेको रुग्ण योजनामा थियो । करिब चार महिनाअघि उक्त भवनको निर्माण कार्य सम्पन्न भएर त्यसमा स्थास्थ्य चौकीको सेवा सञ्चालनमा आइसकेको छ । ‘हामीले भवन हस्तान्तरण भएदेखि यहीँबाट सेवा प्रदान गरिरहेको छौं, करिब सात वर्ष काम अड्किदा कहिले सम्पन्न हुने हो भन्ने लागेको थियो,’ स्वास्थ्य चौकीका इन्चार्ज (अहेब) सरोज गिरीले भने, ‘हामीलाई सजिलो भएको छ सेवा दिनमा, सेवाग्राहीलाई सुविधा भएको छ ।’

पोहोरसम्म त्यस्तै किसिमको रुग्ण योजनामा परेको पटेर्वासुगौली गाउँपालिकामा पर्ने रंगपुरस्थित स्वास्थ्य चौकीको भवनबाट पनि सेवा सञ्चालन भइसकेको छ । अड्किएका अघिल्ला वर्षका योजनाको काममा अल्झिएको डिभिजन कार्यालयमार्फत सञ्चालन हुने गत आव ०७३÷७४ मा कुनै नयाँ योजना थिएनन् ।

क्रमागत (निरन्तरता दिइएको) योजना र ३३ वटा रुग्ण योजनाका लागि काम गर्दै पोहोरको समय गएको थियो । प्रगति भने सन्तोषजनक नभएपछि मन्त्रीस्तरीय अनुगमन समेत भयो । यो वर्ष भने नयाँ र पुराना गरी ४८ वटा विभिन्न सरकारी भवनमध्ये २१ वटाको निर्माण कार्य आव सकिनासाथ सम्पन्न हुने देखिएको छ।

पुरानामध्ये ११ वटाको निर्माण कार्य मात्र अहिले डिभिजन कार्यालय अन्तर्गत आगामी क्रमागत योजनामा रहने देखिएको छ । ०७३÷७४ यताका नयाँ १४ वटा भवनको निर्माण कार्य क्रमागतमा पर्ने नै भयो । दुईवटा भवन निर्माण भने अझै अन्यौलमा देखिन्छन् । पर्साको मिर्जापुरमा स्वास्थ्य चौकी भवन बनाउन जग्गा नै उपलब्ध हुन सकेको छैन् । त्यस्तै बाराको कलैयास्थित जिल्ला अस्पतालको ‘स्टाफ क्वाटर’ निर्माण कार्य ७५ प्रतिशत पूरा भएर रोकिएपछि डिभिजन कार्यालयले चिन्ता जनाएको छ।

यसरी सात–आठ वर्षसम्मका पुराना योजना धमाधम सम्पन्न भएपछि खासगरी ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्थाले सेवा प्रवाहका लागि राम्रो भौतिक संरचना प्राप्त गरेका छन् । ‘गाउँहरुमा स्वास्थ्य चौकीका भवन बनेपछि राम्रो देखिएको छ,’ महुवनका नरेश प्रसादले भने, ‘अब त्यहाँबाट दिइने सेवा कस्तो छ भन्नेबारे ध्यान दिनुपर्छ ।’ यसरी नयाँ भवनमा गुणस्तरीय सेवाको आपेक्षा व्यक्त भइरहेका छन् । ‘हामीले हरेक योजनाको प्रगति र समस्यामा ध्यान पु¥याइरहेका छौं,’ डिभजन प्रमुख सुरेश वाग्लेले भने, ‘त्यसैले यस्तो राम्रो प्रगति देखिएको हो ।’

आव ०७४-७५ मा धेरैवटा उल्लेखनीय कार्य वीरगन्जस्थित सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमार्फत भएको उनले जानकारी गराए । गत आवमा एउटा पनि नयाँ निर्माण कार्यका लागि सम्झौता नभएकामा यो वर्ष भने करिब तीन अर्ब ९६ करोड बराबरको एक सय ५३ किलोमिटर पक्की सडक निर्माण खरिद सम्झौता भएको छ ।

त्यस्तै १० वटा जनस्वास्थ्य भवनको खरिद सम्झौता भएको छ । करिब ३५ किलोमिटर सडक निर्माणको लागत अनुमान पेस गरिएको छ ।रौतहटको कटहरीयामा बिबाह भवन र मौलापुरमा बसपार्क निर्माण, एकीकृत कार्यालय भवन र बहुद्देश्यीय सभाहल निर्माणको पनि खरिद सम्झौता भएको छ । निर्माण स्थलका स्थानीय समस्या, निर्माण कम्पनीको लापरबाही र बजेट अभाव मुख्य चुनौतिको रुपमा रही आएको वाग्लले बताए । उक्त कार्यालयले जनता आवास कार्यक्रम पनि देखिरहेकामा मुख्य रुपमा यसमा बजेट अभाव पाइएको हो।
 

प्रकाशित: १ श्रावण २०७५ ०१:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App