१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युरोपेली संघविरुद्ध मुद्दा हाल्न बेलायतलाई ट्रम्पको सुझाव

तस्बिर : एजेन्सी

लन्डन–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघविरुद्ध मुद्दा हाल्न बेलायती प्रधानमन्त्री थेरेसा मेलाई सुझाव दिएका छन्।

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)को सम्बन्धमा कुराकानी गर्नुभन्दा उसविरुद्ध मुद्दा हाल्न अमेरिकी राष्ट्रपति ट्रम्पले आफूलाई सल्लाह दिएको बिबिसीसँगको अन्तर्वार्ताका क्रममा बेलायती प्रधानमन्त्री मेले बताएकी छन् ।

बेलायती प्रधानमन्त्री मे र अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनका बेला ट्रम्पले आफूले प्रधानमन्त्री मेलाई ब्रेक्जिटबारे एउटा ‘सल्लाह’ दिएको तर त्यो सायद उनको निम्ति कठिन हुने उल्लेख गरेका थिए । ट्रम्पले दिएको सुझाव के थियो भन्नेबारे बिबिसीको प्रश्नमा प्रधानमन्त्री मेले भनिन्, ‘उनले मलाई युरोपेली संघसँग वार्ता हैन, मुद्दा हाल्नु पर्ने बताएका थिए ।’ तर मेले सोही पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले बेलायत र युरोपेली संघबीच जारी कुराकानी नत्याग्न पनि भनेको औंल्याएकी थिइन् ।

ब्रेक्जिटबारेको बैठकले अन्य देशसँगको बेलायती व्यापार सम्झौतामा कायम रहन सजिलो हुने र मानिसको स्वतन्त्र आवतजावतको अन्त्य हुनुका साथै युरोपेली न्यायालयको क्षेत्राधिकारको समेत अन्त्य हुने ट्रम्पसँगैको संयुक्त पत्रकार सम्मेलनमा मेले बताएकी थिइन् । गत बिहीबार मात्रै बेलायती प्रधानमन्त्री मेले युरोपेली संघसँगको व्यापारिक सम्झौताको वकालत गर्ने तर सुविधाको विरोध गर्नेबारेको नयाँ योजना सार्वजनिक गरेकी थिइन्।

मेले आफ्नो नयाँ योजना सार्वजनिक गर्नुभन्दा अघिको योजनाले सन् २०१६ मा भएको युरोपेली संघबाट बेलायतको बहिर्गमनबारेको बेलायती जनताको मतदानको अपमान गरेको र जनमतको कदर नगरेको भन्दै बे्रक्जिटमन्त्री डेभिड डेभिस र विदेशमन्त्री बोरिस जनसनले राजीनामा दिएका थिए । बे्रक्जिटबारे आफ्नो धारणाको बचाउ गर्दै आएकी प्रधानमन्त्री मेले अमेरिकी राष्ट्रपति ट्रम्पको सुझावले आफूलाई हाँसो उठेको बताइन् । उनले युरोपेली संघसँग आफूले वार्तालाई जारी राख्ने बताउँदै भनिन्, ‘पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले दिएको सुझावले काम गर्दैन ।’

‘वार्ताबाट भागियो भने त्यहीं रहिन्छ त्यसैले भागिँदैन । बेलायतको राम्रोका लागि वार्तालाई फलदायी बनाउने चाहना छ,’ बिबिसीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री मेले बताइन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ‘द सन’ नामक पत्रिकालाई बताएअनुसार ब्रेक्जिटसम्बन्धी बेलायती प्रधानमन्त्रीको नयाँ प्रस्तावले अमेरिकासँगको बेलायतको व्यापारमा कमी आउने बताएका छन् । यद्यपी केही घण्टापछि नै अमेरिका–बेलायतबीचको व्यापार सम्झौता वास्तवमै सम्भावना रहेको बताएका थिए।

बेलायती प्रधानमन्त्री मेले बिहीबार ल्याएको नयाँ प्रस्ताव वा ह्वाइट पेपर बेलायतका लागि खराब सम्झौता भएको युरोपेली संघबाट बेलायतको बहिर्गनका नेतृत्वदायी व्यक्ति ज्याकोब रिज–मोगलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । मेको नयाँ प्रस्तावले बेलायत युरोपेली संघको नीति मान्न बाध्य हुनेतर्फ जाने बताउँदै उनले यस्तो प्रस्ताव प्रधानमन्त्रीले कसरी ल्याइन् भनेर प्रश्नसमेत गरेका छन्।

‘सरकारले ब्रेक्जिट राम्रो चिज हैन भनेर मान्न थालेको छ,’ बिबिसीको सन्डे पोलिटिक्ससँग बोल्दै मोगले बताए ।
मोगले सन् २०१६ को जनमत संग्रहमा बेलायतलाई युरोपेली संघबाट बाहिर निकाल्ने अभियान सञ्चालन गरेकी मेले जनताले दिइको सकारात्मक अवसर पूरा गर्न नसकेको आरोपसमेत लगाए । देशको संसदबाट पारित गर्नका लागि प्रधानमन्त्री मेले आफ्नो नीति परिवर्तन गर्नु पर्ने उनले बताएका छन् ।
 

प्रकाशित: ३२ असार २०७५ ०३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App