१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

समावेशी ब्रतबन्ध

श्री योगी नरहरीनाथ संस्कृत गुुरुकुलका विद्यार्थीको सामुहिक व्रतबन्ध गरिदैं। तस्विरः सविता/नागरिक

चितवन - अछामका ९ वर्षिय दीपेशराज गुरुङ देवघाट बस्छन्। कक्षा ५ पढेर उनी थप अध्ययन गर्न चितवन आएका हुन्। कक्षा ५ सम्म सामान्य सरकारी विद्यालयमा पढेका उनी अहिले श्री वागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ आश्रमले सञ्चालन गरेको श्री योगी नरहरीनाथ संस्कृत गुुरुकुलम्मा बस्छन्। कक्षा ६ मा गणित, सामाजिक, नेपाली लगायतका विषयसँगै उनले पढ्ने केही विषय परिवर्तन भएका छन्। उनी न्यायशास्त्र, नीतिशास्त्र, व्याकरण लगायतका पाँच विषय संस्कृत भाषामा पढ्छन्।

तीन महिनाअघि मामाको साथ लागेर देवघाट आएका उनलाई संस्कृतको पढाई रमाईलोसँगै फरक लागेको छ। मिहिनेत गरेर संस्कृत पढिरहेका उनी भन्छन्, ‘पढ्न सिक्दैछु, धेरै गाह्रो भएको छैन।’ गुरुङ समुदायमा छेओर गर्नुपर्ने रहेकामा आइतबार उनको व्रतबन्ध गरिएको छ। गुरुकुलमा बस्ने उनीसँगै आठ जनाको सामुहिक व्रतबन्ध गरिएको हो।

अछामकै १२ वर्षिय विशाल थापा मगरको पनि दीपेशसँगै व्रतबन्ध गरिएको छ। संस्कृत पढ्न गुरुकुल आएका उनी व्रतबन्ध गर्दा रमाइलो मानिरहेका थिए। घरमा रहँदा उनले व्रतबन्धबारे थाहा पाएका र देखेका थिएनन्। व्रतबन्ध गरेपछि थप मिहिनेत गरेर संस्कृत पढ्ने उनले बताए। गुरुकुलमा बसेर अध्ययन गर्न थालेपछि उनलाई विशालनाथ भनेर बोलाइने गरिएको छ। गुरुकुलमा बस्ने सबै विद्यार्थीलाई नामको पछाडि ‘नाथ’ जोडेर बोलाइन्छ।

काठमाडौंका आयुष रिमाल बोर्डिङको पढाइ छाडेर गुरुकुल आएका छन्। फरक–फरक जिल्लाका साथीसँग गुरुकुलमा बसेर अध्ययन गर्नु उनका लागि नौलो अनुभव भएको छ। बाबुको संस्कृत वाचनबाट प्रभावित भएर संस्कृत पढ्न गुरुकुल आएको आयुष बताउँछन्। गुरुङ, मगर जातिका साथीलाई संस्कृतका शब्दहरू उच्चारण र कण्ठ गर्न गाह्रो हुने गरेको उनले बताए। भन्छन्, ‘सबैजना मिलेर पढ्छौं।’

गुरुकुलमा बसेर अध्ययन गर्दै आएका सम्राट थापा मगर, महेन्द्र बोहोरा, अंकित अधिकारी, नवराज बोहोरा, दीपेन्द्र साउदको पनि गुरुकुलले गरेको सामुहिक व्रतबन्ध कार्यक्रममा व्रतबन्ध गरिएको छ। देवघाटको वागेश्वरीमा रहेको आश्रमले यही वर्षबाट समावेशी रूपमा सबै जातजातिका विद्यार्थीलाई संस्कृत अध्ययन गराउन गुरुकुल सञ्चालन गरेको हो।

कक्षा ५ को अध्ययन सकेर ६ कक्षा पढ्ने २१ विद्याथीलाई गुरुकुलमा राखेर संस्कृत पढाइने श्रीयोगी नरहरीनाथ संस्कृत गुुरुकुलम्का सचिव यदुनाथ पोखरेलले जानकारी दिए। सबै जातजातिका विद्यार्थी बसेर पढ्न पाउने व्यवस्था नेपालमा नभएकाले आश्रमले गुरुकुल सञ्चालन गरेको उनी बताउँछन्।

वैशाख १६ गतेबाट पढाइ सुरु गरिएकामा यस वर्ष चार जिल्लाका आठ विद्यार्थी रहेको उनले बताए। काठमाडौं, नुवाकोट, नवलपुर र अछामका बालकहरू गुरुकुलमा छन्। अर्को वर्षबाट हरेक वर्ष समावेशी रुपमा सबै जातिका २१ विद्यार्थीलाई गुरुकुलमा राखेर संस्कृत पढाइने उनले बताए। उनका अनुसार गुरुकुलमा पढ्न आउनेका लागि निःशुल्क बस्ने र पढ्ने व्यवस्था मिलाइएको छ।

‘ब्राह्मण जातिले मात्र संस्कृत पढ्ने प्रचलन अन्त्य गर्दै समावेशी गुरुकुल सञ्चालन गरिएको छ,’ उनी भन्छन्, ‘नेपालमा यो पहिलो गुरुकुल हो, जहाँ सबैलाई समावेशी रूपमा सहभागी गराइने उद्देश्य राखिएको छ।’

श्री वागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ आश्रमका संरक्षण बलभद्रनाथ योगी नियममा रहन शिक्षण, प्रशिक्षण वा दीक्षित हुनुपर्ने भएकाले सबै विद्यार्थीको सामुहिक व्रतबन्ध गरिएको उनले बताए।

सबै एउटै मानव जातिका भए पनि प्राचीन परम्परालाई भुलिएको उनले बताए। ‘विभिन्न स्वार्थका कारण परम्परादेखि चलिआएको पद्धतिलाई बीचमा भुलिएको थियो,’ उनी भन्छन्, ‘सम्पूर्ण मानव एकै हुन्, परम्परागत पद्धतिमा कुनै असन्तुलन थिएन, त्यही प्राचीन पद्धति यहाँ फेरि थालनी गरिएको छ।’ सबै जातका विद्यार्थीलाई गुरुकुलमा राखेर पढाउँदा सामाजिक सन्तुलन कायम हुने र मानिसलाई अनुशासी पनि बनाउने उनको भनाइ छ।

प्रकाशित: ३२ असार २०७५ ०२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App