१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

फ्रान्सलाई मोडरिच चुनौती

मस्को – क्रोएसियाले पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाउँदा मिडफिल्डर लुका मोडरिचको अथक मिहिनेत महत्वपूर्ण रह्यो । मैदानमा परिस्थितीअनुरुप कुशलतापूर्वक रणनीति परिवर्तन गर्नसक्ने मोडरिचको क्षमता आइतबार फ्रान्सका लागि कठिन चुनौती बन्न सक्छ।

आइतबार मस्कोस्थित लुझनिकी रंगशालामा फ्रान्स र क्रोएसिया आमने–सामने हुँदा सबैको आँखा मोडरिचमा केन्द्रित हुने पक्का छ । फुटबलको सबैभन्दा ठूलो उपाधि जित्न आतुर ३२ वर्षे मिडफिल्डरलाई फ्रान्सले कसरी बाधेर राख्छ भन्नेमा चासो व्याप्त छ । मोडरिचको क्रोएसियाले सेमिफाइनलमा इङ्ल्यान्डविरुद्धको खेलदौरान छिटो–छिटो रणनीति परिवर्तन गरेको थियो।

शुरूमै १–० को अग्रता लिनुका साथै खेलमा हाबी बनेको इङ्ल्यान्ड विश्वकपको फाइनल नजिक पुगिसकेको थियो । त्यस्तो अवस्थमा मोडरिच र उनका सहयात्री इभान राकेटिचले मिडफिल्डबाट फरवार्डलाई अवसर मिलाइदिन सकिरहेका थिएनन् । तर, दोस्रो हाफमा क्रोएसियाले आफ्नो ४–१–४–१ को शैलीमा परिवर्तन गर्दै सधैको जस्तो ४–३–३ को फर्मेसनमा खेल्यो । जसका कारण क्रोएसिया एकाएक इङ्ल्यान्डको पोष्टमा हाबी बन्यो । क्रोएसियाको आक्रमणमा विंगरले मुख्य भुमिका खेले। 

सिमे भ्रसाल्ज औसत रक्षक भएनन् । विश्वकै उत्कृष्ट विंगरले जस्तै उत्कृष्ट क्रस र पास खेल्नुका साथै तिब्र गतिमा खेल्दा इङ्ल्यान्डमाथि दबाब बढ्दै गयो । मोडरिच मिडफिल्डमा रूमल्लिनु परेको बेला इभान पेरिसिच आक्रमणमा खटिए । भ्रसाल्जकै क्रसमा पेरिसिचले बराबरी गोल फर्काए । अर्को विंग्समा त्यही रणनीति लागु भयो । इभान स्ट्रिनिकलाई प्रतिस्थापन गरेका जोसिप पिभारिचले पेनाल्टी क्षेत्रमा उपलब्ध गराएको बललाई मारियो मान्डजुकिचले गोलमा परिणत गरेपछि क्रोएसियाले फाइनलमा स्थान बनायो। 

इङ्ल्यान्डका रक्षकहरु क्रोएसियाका फरवार्डसँगै ‘होल्डिङ मिडफिल्डर’ मोडरिच र राकेटिचलाई रोक्न व्यस्त हुँदा क्रोएसियाको जितमा रक्षकहरुले महत्वपूर्ण भुमिका खेले । विश्वकपका सहभागि ३२ टोलीमध्ये सबैभन्दा लोभलाग्दो अग्रपंक्ति (मान्चुकिच, पेरिसिच, एन्टे रेविक र आन्द्रेज क्रामारिच) रहेको क्रोएसिया जुनसुकै टोलीका लागि पनि घातक बन्न सक्छ ।

तर, अग्रपंक्ति जस्तै कडा मिहिनेतका कारण क्रोएसियाको रक्षापंक्ति पनि उत्तिकै सशक्त बनेको छ । जुन क्वार्टरफाइनलमा आयोजक रूसविरुद्धको आक्रमणलाई रोक्दै क्रोएसियाका रक्षापंक्तिले प्रमाणित गरेका थिए।

फ्रान्सले सेमिफाइनलमा बेल्जियमका इडेन हाजार्ड र केभिन डी ब्रुयनालाई रोक्न सफल भएको थियो । मोडरिच र राकेटिचलाई रोक्न फ्रान्सले पनि एन‘गोलो कान्टे र पाउल पोग्बाको शक्ति प्रयोग गर्नु आवश्यक छ । क्रोएसियालाई रोक्दै दोस्रो पटक विश्वकपको उपाधि उचाल्ने हो भने फ्रान्सका रक्षकहरुले मोडरिच र राकेटिचलाई मात्र नभई खतरनाक विंगरहरुलाई पनि रोक्न जरुरी छ।

 

प्रकाशित: ३० असार २०७५ १०:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App