१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

चेल्सीबाट कोन्टे बर्खास्त

लन्डन – इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले शुक्राबार प्रशिक्षक एन्टोनीयो कोन्टेसँगको सम्झौता अन्त्य भएको घोषणा गरेको छ।

स्टामफोर्ड ब्रिजको दुई वर्षे बसाईमा कोन्टेले चेल्सीलाई इङलिस प्रिमियर लिग र एफए कपको उपाधि जिताएका थिए । ‘चेल्सी फुटबल क्लब र एन्टोनियो कोन्टेबीचको सम्झौता अन्त्य भएको छ,’ चेल्सीले आफ्नो आधिकारिक वेभसाइटमा उल्लेख गरेको छ।

गत सिजन प्रिमियर लिगको उपाधि रक्षा गर्ने लक्ष्य लिएको चेल्सीलाई कोन्टेले सोचेअनुरुप सफलता दिलाउन सकेनन् । कोन्टेको प्रशिक्षणमा चेल्सीले पाँचाैं स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । त्यसैकारण चेल्सी आगामी सिजन च्याम्पियन्स लिग खेल्न असमर्थ भएको छ । लिग विजेता म्यानचेस्टर सिटीभन्दा चेल्सी ३० अंकले पछि परेको थियो।

कोन्टेले प्रशिक्षण सम्हालेको पहिलो सिजनमै ७ अंकको अग्रतासहित चेल्सीलाई उपाधि जिताएका थिए । सिजनको मध्यतिर नै उपाधि पक्का गरेको चेल्सीले लगातार १३ खेलमा जित निकाल्दै कीर्तिमान बनाएको थियो ।  कोन्टेले विश्वकपमा सहभागी नभएका खेलाडीहरुलाई यसै साताबाट अभ्यास गराइरहेका थिए । तर इटालीका संचार माध्यमहरुले बिहीबारै कोन्टे बर्खास्त हुने दाबी गरेका थिए।

समाचार सार्वजनिक भएलगत्तै भ्रामक समाचार फैलाएको भन्दै चेल्सीका मिडफिल्डर सेस फाब्रिगास र पूर्व कप्तान जोन टेरीले समाचारप्रति सामाजिक सञ्जालबाट खेद प्रकट गरेका थिए ।  ‘धन्यवाद प्रशिक्षक,’ टेरीले ट्वीटरमा लेखेका छन्, ‘असल व्यक्ति र असल प्रशिक्षक । सफल भविष्यको कामना गर्दछु ।’ कोन्टेको सफलताको कामना गर्दै चेल्सीले भनेको छ, ‘हामी कोन्टेको उज्जवल भविष्यको कामना गर्छौ।’

इटालीका कोन्टेले गत सिजन म्यान्चेस्टर युनाइटेडका रोमेलु लुकाकु र टोटेनह्यामका फर्नान्डो लोरेन्टेलाई भित्रयाउने प्रयास गरे पनि सफल भएनन् । उनले नयाँ खेलाडी भित्रयाउन नसक्नुमा क्लब व्यवस्थापन दोषी रहेको भन्र्दै असन्तुष्टी व्यक्त गरेका थिए । सो घटनापछि कोन्टे र क्लबबीचको सम्बन्धमा चिसो आएको बताइएको थियो ।
‘क्लबले प्रत्येक खेलाडीको निर्णय गर्दछ,’ गत सिजन कोन्टेले भनेका थिए। 

गत मेमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै चेल्सीले एफए कपको उपाधि जितेको थियो । युभेन्ट्सलाई लगातार ३ पटक इटालियन सिरी ‘ए’ को उपाधि जिताएपछि कोन्टे स्टामफोर्ड ब्रिज आएका थिए । लन्डन आएको पहिलो वर्ष नै प्रिमियर लिगको उपाधि जिताए पनि कोन्टेको चेल्सी बसाई लामो हुन सकेन। 

कोन्टे बर्खास्तगीमा परेसँगै बेलायत र इटालीका संचार माध्यमले नेपोलीका प्रशिक्षक माउरिसीयो सारीले चेल्सीको नेतृत्व लिने अनुमान लगाउँदै आएका छन्। 

नेपोलीले बायर्न म्यूनिखका प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेसँगै सारीको पद धरापमा परेको थियो । सारीको प्रशिक्षणमा नेपोलीले गत सिजन दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको थियो । ३ वर्षे नेपोली बसाईमा सारीले क्लबलाई प्रमूख उपाधि जिताउन नसके पनि २ पटक लिगमा उपविजेता र १ पटक तेस्रो स्थान दिलाएका थिए।

प्रकाशित: ३० असार २०७५ १०:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App