१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कर्मचारी मदिरामा लठ्ठ भएपछि रेलसेवा प्रभावित

तस्विर : एजेन्सी

नयाँ दिल्ली– भारतको उत्तर प्रदेश राज्यको एउटा रेल स्टेसनमा काम गर्ने एक जना कर्मचारी मदिरा पिएर निदाएपछि केही रेलसेवा प्रभावित भएको भारतीय अधिकारीहरुले बताएका छन्।

मदिरा पिएर निदाएका दीप सिंह नामका ती कर्मचारीले फोन नउठाएपछि अधिकारीहरु मुर्सादपुर रेल स्टेसन जान बाध्य भएको बिबिसीले जनाएको छ । ‘लगातारको फोन नउठेपछि अधिकारीहरुले सिंहको कार्यालयमा गएर हेर्दा त्यहाँ मदिराका रित्ता बोत्तलहरु थिए र उनी सुतिरहेको अवस्थामा भेटिएका थिए,’ स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

गत साताको शुक्रबार भएको उक्त घटनाको विषयमा अनुसन्धान गर्न आदेश दिइसकेको अधिकारीहरुले बताएका छन् । स्टेसन मास्टर सिंहको स्वास्थ्य परीक्षण गर्दा उनको रगतमा मदिराको मात्रा उच्च पाइएको बिबिसीले उल्लेख गरेको छ । ‘उनी पूरै मातेका थिए र उनी हिँड्न पनि सक्दैनथे,’ एक वरिष्ठ रेलवे अधिकारीलाई उद्धृत गर्दै ‘द हिन्दू’ समाचारपत्रले बताएको छ ।

यो गम्भीर विषय भएको र यस विषयमा विस्तृतमा अनुसन्धान गरिने ती अधिकारी बताएका छन् । सो रेल स्टेसनबाट अगाडि जाने अनुमति नपाएपछि लामो दूरीमा चल्ने धेरै रेलहरु त्यहीं नै रोकिएको रेल वे स्टेसन स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । भारतमा दुई करोडभन्दा बढी मानिस दैनिक लगभग नौ हजार रेल प्रयोग गरेर यात्रा गर्छन् । मुर्सादपुरमा भएजस्तो घटना भारतमा नौलो भने नभएको बिबिसीले जनाएको छ ।

गत अप्रिल महिनामा रेलको इन्जिनबाट २२ वटा डिब्बा छुट्टिएर विपरीत दिशातिर ११ किलोमिटर गुडेका थिए । सो घटनामा ध्यान नदिएको भन्दै कर्मचारीहरु निलम्बनमा परेका थिए । गत वर्ष नोभेम्बरमा यात्रा गर्दै गरेका कृषकहरुको एउटा समूहले राति बिउँझिदा आफू चढेको रेल उल्टो दिशामा १६० किलोमिटिर प्रतिघण्टाको गतिमा कुदिरहेको पाएको थियो ।

प्रकाशित: २६ असार २०७५ ०३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App