२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

प्रभुले थप्यो दुई नयाँ हेलिकप्टर

पोखरा विमानस्थलको ह्यांगरमा राखिएका प्रभुका हेलिकप्टर । तस्बिरः सन्तोष:नागरिक

पोखरा - निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक कम्पनी प्रभुले दुईवटा नयाँ हेलिकप्टर थप गरेको छ ।

नयाँ थपिएका सहित प्रभुकाे हेलिकप्टरको संख्या पाँच पुगेको छ । अमेरिकी कम्पनी रोबिन्सनमा बनेका पाँच सिट ९एक सिट पाइलट० क्षमताका हेलिकप्टर प्रभुले भित्र्याएको हो ।

दुई साताअघि भित्रिएका दुईवटा नयाँ हेलिकप्टरले सोमबार पोखराको आकासमा परीक्षण उडान गरेका छन् । हवाई सेवाको निमयनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ( क्यान)ले नयाँ हेलिकप्टरलाई ९एन–एएलयू र ९एन–एएलएक्स कलसाइन दिएको छ।

प्रभुका एक व्यवस्थापक विनोद थकालीका अनुसार कम्पनीसँग यसअघि तीनवटा हेलिकप्टर थिए । ती सबै रोबिन्सनमा बनेका हुन् । सन् २०१५ देखि एउटा हेलिकप्टरबाट सेवा दिन थालेको प्रभुले तीन वर्षको अवधिमा संख्या बढाएर पाँच पुर्याएको थकालीले बताए । उनका अनुसार प्रभुले हरेक वर्ष हेलिकप्टर थप्दै आएको थियो । प्रतिगोटा १२ करोड रुपैयाँका दरले प्रभुले नयाँ हेलिकप्टर भित्र्याएको हो ।

प्राधिकरणले पोखरालाई आधार बनाएर उडान गर्नका लागि प्रभुलाई अनुमति दिएको थियो । अहिले प्रभुका पाँचवटै हेलिकप्टर पोखरा विमानस्थलको ह्यांगरमा राखिएको छ । पोखरालाई आधार बनाएर उडान अनुमति दिए पनि काठमाडौंमा दुईवटा हेलिकप्टर राखेर सेवा दिने तयारी प्रभुको छ । ‘पाँचवटै पोखरा राख्दा अन्यत्र सेवा दिन कठिन हुन्छ । त्यही भएर दुईवटालाई सब–बेसको रुपमा काठमाडौंमा राखेर पूर्वी क्षेत्रमा सेवा दिने हो,’ थकालीले भने।

अपरेसन म्यानेजर रानेश ढंगोलका अनुसार जेट इन्जिनयुक्त यी हेलिकप्टर तीन सय हर्षपावर क्षमताका छन् । १४ हजार फिट उचाइसम्म उडान गर्न सक्ने क्षमता हेलिकप्टरसँग छ । तीनघण्टा नियमित उडान गर्न सक्ने हेलिकप्टरबाट प्रभुले अहिले पोखराबाट मुक्तिनाथ र अन्नपूर्ण आधारशिरिव ९एबिसी–४१३० मिटर० सम्म नियमित सेवा दिइरहेको उनले बताए ।

प्रभुसँग अब हेलिकप्टर संख्या पाँच पुगे

सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको र त्यसबेला पोखरामा विदेशीको आगमन बढ्ने आँकलन गरेर हेलिकप्टर थप गरेको डंगोलले बताए । ‘हरेक वर्ष हेलिकप्टरको बजार विस्तार भइरहेको छ । अहिले नेपाली नागरिक पनि हेलिकप्टर सयर गर्ने क्षमता राख्न थालेका छन,’ उनले भने, ‘बजारको माग बढ्दै गएकाले पनि प्रभुले हेलिकप्टर थपेको हो ।’ स्थलमार्ग असहज हुँदा अहिले हेलिकप्टर चढ्ने यात्रु बढिरहेको उनले बताए।

पोखरामा रहने प्रभुका हेलिकप्टर आसपासका क्षेत्रमा दृश्यावलोकन सहित उद्धार र बिरामीको उपचारमा लैजानका लागि बढी मात्रामा प्रयोग हुँदै आएका छन् । पोखरामा भनेको बेला जहाजमा टिकट नपाउने र बिरामीलाई अस्पतालबाट काठमाडौंकै सुविधासम्पन्न अस्पतालसम्म पुर्याउन पनि सहज हुने भएकाले उपयोग बढेको उनले बताए । ‘सबैभन्दा सहज बिरामीको उपचारमा भएको छ । हामीले सस्तोमा सेवा पनि दिएका छौं,’ उनले भने ।

त्यसबाहेक फिल्म छायांकन, धार्मिक यात्रा, मेला महोत्सवमा पनि हेलिकप्टर बढी मात्रामा उपयोग हुने गरेको उनले बताए । ‘मेला महोत्सवमा थोरै शुल्क तिरेर पनि अहिले आन्तरिक पाहुना घुम्न जान थालेका छन,’ उनले भने, ‘आन्तरिक पर्यटन समेत बढेको छ । नेपाली नागरिक पनि पैसा तिरेर हेलिकप्टरमा उड्न थालेका छन् । मेला महोत्सवले सहज बनाएको छ।’

पछिल्लो समय हेलिकप्टर चढेर मुक्तिनाथ पुग्ने भारतीय पाहुनाको संख्या पनि निकै नै बढेको डंगोलले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि मुक्तिनाथ दर्शनका लागि पनि धेरै भारतीय आएको र उनीहरुले हेलिकप्टर नै खोजेको पनि उनीहरुको भनाइ छ ।

प्रभुले अरुको तुलनामा सस्तोमा सेवा दिने पनि बताएको छ । ‘हामी थोरै नाफामा काम गर्न आएका हौं । अप्ठेरो परेको बखत धेरै रकम लिएर सेवा असहज बनाउने नीति छैन,’ उनले भने, ‘थोरै नाफामा पनि सेवा दिन सकिन्छ ।’ प्रभुले काठमाडौंबाट पूर्व र पोखराबाट पश्चिम क्षेत्रमा उडान गर्ने योजना बनाएको छ ।

प्रभुका पोखरास्थित स्टेसन म्यानेजनर दिनेश महर्जनले पोखरा आसपासका क्षेत्रमा घुम्न जाने पाहुनालाई सहज हुने गरि प्याकेज बनाएको बताए । १५ र ३० मिनेटसम्मको प्याकेज बनाएको उनको भनाइ छ । पोखराबाट नजिकको धम्पुस, घान्द्रुक, पञ्चासे, पुनहिल क्षेत्रमा अवतरण गरेर पाहुना घुमाउनेसम्मको प्याकेज बनाएको महर्जनले बताए । ‘हामीसँग छोटो दूरीको अवतरणको प्याकेज पनि छ । त्यसैले पोखरा आसपासका क्षेत्रमा समेत उडान गर्न मिल्छ,’ उनले भने, ‘सस्तो प्याकेजमा हामीले सेवा दिने हो ।’ दुई साताअघि पोखरा भित्रिएका हेलिकप्टरको सोमबार वैदिक विधिद्वारा पूरा गरिएको थियो।

पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाइँले पनि हेलिकप्टरको माग बढेका बेला प्रभुले पोखरालाई बेस बनाउँदा पर्यटन क्षेत्रमा लाभ पुग्ने बताए । उनले अगामी दिनमा नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्ने भएकाले पनि यस्ता पूर्वाधार आवश्यक रहेको बताए ।

 

प्रकाशित: २६ असार २०७५ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App