१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

इङल्यान्डलाई स्विडेनको रक्षापंक्ति बाधा

अभ्यासका क्रममा इङलिस टोली।

रेपिनो – युवा खेलाडीको बाहुल्य भएको इङ्ल्यान्डसामु शनिबार विश्वकप क्वार्टरफाइनलमा स्विडेनको सामना गर्दा ५२ वर्षपछि पुनः प्रतियोगिताको उपाधि भित्र्याउने लक्ष्यको थप नजिक पुग्न चाहन्छ।

तर स्विडेनलाई अनपेक्षित नतिजा निकाल्ने टोलीका रूपमा हेरिन्छ । विशेष गरी प्रमुख प्रतियोगितामा इङ्ल्यान्डका लागि स्विडेन सधैं बाधक बन्ने गरेको छ । पछिल्लो ८ भिडन्तमा स्विडेनले इङ्ल्यान्डविरुद्ध एक खेल मात्र गुमाएको छ।

यता अन्तिम १६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै विश्वकपको नकआउट चरणमा सधैं अभागी साबित हुँदै आएको इङ्ल्यान्डले उक्त छवि मेटाएको थियो । ‘हामी विश्वकप जित्न चाहन्छाैं,’ इङ्ल्यान्डका रक्षक जोन स्टोन्सले भने, ‘हामीले यस प्रतियोगिताको उपाधि नजितेको लामो समय भइसक्यो । हामी पुनः विश्वकपको उपाधि जित्दै समर्थकमा पुनः खुसी फर्काउन चाहन्छाैं।’

१९६६ को विश्वविजेता इङ्ल्यान्ड ४ वर्षअघि ब्राजिल विश्वकपमा समूहचरणबाट र २०१६ को युरोपियन च्याम्पियनसिपमा आइसल्यान्डसँग अन्तिम १६ मा पराजित भएपछि चर्को आलोचित बनेको थियो । ‘युवा र क्षमतावान् खेलाडी भएकाले समर्थकले हामीबाट यस पटक धेरै अपेक्षा गरेका थिए र हामीले हालसम्म सुखद नतिजा दिइरहेका छौं,’ स्टोन्सले भने, ‘हामी पछिल्लो संस्करणमा टोलीले गरेको खराब प्रदर्शनबाट निराश बनेका समर्थकमा खुसी फर्काउन चाहन्छाैं ।’

यी दुई टोलीबीचको विजेताले सेमिफाइनलमा क्रोएसिया र रूसबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। स्टोन्सले स्विडेनले जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्र्दै आएको भन्दै उनीहरूविरुद्ध सम्हालिएको प्रदर्शन गर्न आवश्यक छ।

‘विश्वकपको क्वार्टरफाइनल र स्विडेन प्रतिद्वन्द्वी । तपाईंले यस खेललाई हल्का रूपमा लिनुभयो भने त्यो तपार्इंको मूर्खता हुनेछ,’ स्टोन्सले भने, ‘विपक्षीलाई कमजोर आँक्दा प्रतियोगिताको यात्रा टुङ्गिने प्रबल सम्भावना हुन्छ । उनीहरूको टोलीमा स्टार खेलाडीको बाहुल्य नभए पनि क्षमतावान् खेलाडीको भने कमी छैन जो खेलको नतिजा आफ्नो पक्षमा पार्न सक्षम छन्।’

यता क्वार्टरफाइनलसम्मको यात्रा पक्का गर्दा स्विडेनले इङ्ल्यान्डको तुलनामा कठिन यात्रा तय गरेको थियो । समूह ‘एफ’ मा रहेको स्विडेनले पहिलो खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गरेको थियो । दोस्रो खेलमा जर्मनीलाई इन्जुरी समयमा २–१ को नतिजा सुम्पिएसँगै स्विडेनको समूहचरणबाट माथि उठ्ने लक्ष्य धरमराएको थियो । अन्तिम खेलमा मेक्सिकोको चुनौती ३–० ले समाप्त गर्दै अन्ततः समूहविजेताका रूपमा अन्तिम १६ प्रवेश गरेको स्विडेनले स्विट्जरल्यान्डलाई १–० ले पराजित गर्दै इङ्ल्यान्डसँगको भेट पक्का गरेको थियो।

स्ट्राइकर ज्लाटान इब्राहिमोभिचको अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास अघिसम्म स्विडेनलाई एक जना खेलाडीको प्रदर्शनमा निर्भर भएको टोलीको रूपमा लिइन्थ्यो । तर हाल टोलीले रक्षापंक्ति, मध्यपंक्ति र अग्रपंक्तिमा जुझारु प्रदर्शन गर्दै आफूलाई इब्राहिमोभिचको छायाबाट पन्छाएको छ।

विपक्षी खेलाडीलाई बल नियन्त्रणमा राख्न दिने, रक्षात्मक खेल्ने र काउन्टर अट्याकको अवसरलाई सदुपयोग गर्ने रूस विश्वकपमा स्विडेन टोलीको विशेषता रहेको छ । समूहचरणको दोस्रो खेलमा पानामालाई ६–१ ले पराजित गरे पनि इङ्ल्यान्डले अन्य खेलमा भने गोलका लागि संघर्ष गर्दै आएको छ । हालसम्म ९ गोल गरेको इङ्ल्यान्डले त्यसमध्ये ७ गोल फ्रि–किक र पेनाल्टीमा गरेको छ । इङ्ल्यान्डका कप्तान ह्यारी केन जारी प्रतियोगितामा ६ गोलका साथ उच्च गोलकर्ताको सूचीको अग्रस्थानमा छन् । उनले पनि ६ मध्ये तीन गोल पेनाल्टीमा गरेका छन्।

‘प्रतियोगितामा हाम्रो खेल हेर्नुभयो भने हामीले विपक्षी खेलाडीलाई बल नियन्त्रणमा राखेको देखिन्छ,’ स्विडेनका कप्तान आन्द्रियास ग्रान्कभिस्टले भने, ‘तर हामीले खतरनाक अवसर सिर्जना गरेका छांै । हाम्रो खेल्ने शैली र सफलताको सूत्र यही हो ।’ बलियो रक्षापंक्ति गरेको स्विडेनले हालसम्म चारमध्ये तीन खेलमा गोल खाएको छैन।

 

प्रकाशित: २३ असार २०७५ १२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App