१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भद्र र रूपसी चीन जाने साइत जु-योे

चितवन - चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहामा अहिले गैंडाका चार केटा (बच्चा) छन् । तिनीहरूलाई तीन मिटर गहिरो सोली आकारको खाडल (पिट बुमा) मा राखिएको छ ।

खाडलको माथिल्लो भाग १२ मिटर र तल्लो भाग १० मिटर फराकिलो छ । जंगल चहार्दै हिँड्ने केटाहरू यसरी खाडलमा बस्न थालेको दुई महिना नाघिसक्यो।

उपहारस्वरूप छिमेकी देश चीनलाई पठाउन निकुञ्जबाट नियन्त्रणमा लिएर ती केटाहरूलाई बुमामा राखिएको हो । नेपाल सरकारले ती केटाको नामकरण पनि गरिसकेको छ । चीन पठाउन लागिएको दुई जोडी गैंडामध्ये पहिलो चरणमा भद्र र रूपसीको जोडी जानेछ । यस जोडीलाई जुलाई १२ (असार २८) मा चीन पठाउन लागिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए । उनका अनुसार पिट बुमामा राखिएका गैंडाको नियमित स्वास्थ्यजाँच भइरहेको छ।

‘चीनबाट आएका र निकुञ्जका पशु चिकित्सकको संयुक्त टोलीले दिनहुँ ती केटाहरूको स्वास्थ्य जााँच गरिरहेको छ,’ उनले भने, ‘स्वास्थ्य अवस्था राम्रो पाइएकोे छ ।’ तिनीहरूको हेरचाह र स्याहारसुसारमा निकुञ्जका वाइल्ड लाइफ टेक्निसियन खटिएका छन् ।

 हरेकका लागि दुईदुईजना खटिएका छन् । पहिलो चरणमा चीन लगिने भाले गैंडा भद्रको हेरचाहमा खैरहनी नगरपालिका–१२ का विनोद दराई खटिएका छन् । आठ वर्षदेखि निकुञ्जमा वाइल्ड लाइफ टेक्निसियनका रूपमा कार्यरत दराई गैंडा हेरचाहमा खटिनुअघि वन्यजन्तुको उद्धार र अनुसन्धानमा सहयोगीको काम गर्थे । गत वैशाख १५ मा निकुञ्जको देवीताल खोरिया मुहान क्षेत्रबाट भद्रलाई नियन्त्रणमा लिएपछि उनी त्यसको हेरचाहमा व्यस्त भएका हुन् । भद्रलाई खुवाउने, हेर्ने, नुहाइदिने उनको जिम्मेवारी हो ।

‘समयमा खुवाउने, दिसा गर्नासाथ हटाउने काम गर्छु,’ उनले भने, ‘खोर सफा र चिटिक्क पारिराख्नुपर्छ ।’ केटाहरूलाई बिहान र बेलुका दुईपटक दूध खुवाइन्छ । केरा, बन्दा, गाजर र स्याउ पनि उनीहरूका नियमित खाना हुन् । दुई घन्टाको फरकमा घाँस दिइन्छ । एउटा गैंडाले दिनमा तीन बोरा घाँस खान्छ । चीन पठाउने चार गैंडाका लागि घाँस काट्न तीनजना खटिएका छन् ।

वैशाख २० गते सुखीभारबाट समातेको रूपसीलाई पनि भद्रलाई जसरी नै स्याहारसुसार गरिएको छ । रूपसीको हेरचाहमा बर्दिया ठाकुरद्वाराका दीपप्रसाद चौधरी खटिएका छन् । रूपसीलाई जंगलबाट ल्याएर बुमामा राख्दा खानेकुरा दिन नजिक जाँदा हान्न खोज्थ्यो । अहिले बिस्तारै ऊ रत्तिएको उनले बताए । अहिले चौधरीले बोलाउँदा रूपसी उठ्ने, भनेको मान्ने भएको छ । निकुञ्जका वाइल्ड लाइफ टेक्निसियन चौधरीले यसअघि बाघले हानेर घाइते भएको केटोको हेरचाह गरेका थिए ।

 

प्रकाशित: २२ असार २०७५ ०३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App