१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बैंक वित्तीय संस्थामा गाभिने लहर

काठमाडौं- बैंक तथा वित्तीय संस्था गाभिने लहर चलेको छ। नयाँ आर्थिक वर्ष सुरु नहुँदै मर्जर प्रक्रियालाई अन्तिम रुप दिने अभियानमा बैंक तथा वित्तीय संस्था लागि परेका छन्।

नयाँ आर्थिक वर्षमा नयाँ योजनासाथ अगाडि बढ्ने गरी एकीकृत कारोबार गर्ने तयारीमा उनीहरु लागेका छन्। मर्जरको प्रक्रिया छिटो–छरितो गरिदिन आग्रह गर्दै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि राष्ट्र बैंक धाइरहेका छन्।

करिब दुई दर्जन बैंक तथा वित्तीय संस्था मर्जरको पर्खाइमा छन्। पुँजीको आकार बलियो भएपछि लगानी गर्न सजिलो हुने भन्दै उनीहरु मर्जरमा जान लागेका हुन्।

केन्द्रीय बैंकले ल्याएको पुँजी वृद्धिको नीति पछ्याउँदै वाणिज्य बैंकसहित विकास बैंक, फाइनान्स कम्पनी गाभिने तयारीमा पुगेका हुन्। ती संस्थाले मर्जरको अन्तिम स्वीकृतिका लािग राष्ट्र बैंकमा निवेदन दिएका छन्।

वित्तीय संस्थाको संख्या बढे पनि गुणस्तर बढ्न नसकेको भन्दै नेेपाल राष्ट्र बैंकले गाभिन प्रोत्साहित गर्दै आएको छ। चालु आवको अन्त्यसम्ममा प्रक्रिया पूरा गरी अर्को वर्षदेखि एकीकृत कारोबार सुरु गर्ने तयारी ती संस्थाले गरेका छन्।

असार मसान्तसम्ममा मर्जर प्रक्रिया पूरा गरी साउनदेखि एकीकृत कारोबार गर्ने र गाभिने तयारीमा रहेको एक बैंकका उच्च अधिकारीले नागरिकलाई बताए। 'स्वाप रेसियो र सञ्चालक समिति लगायत विषयमा सहमति भइसकेको छ,' उनले भने।

राष्ट्र बैंकले मर्जरसम्बन्धी विनियमावली २०६८ जारी गरेपछि वित्तीय संस्था गाभिन थालेका हुन्। यसअघि लक्ष्मी बैंकमा हाइसेफ फाइनान्स, नेपाल बंगलादेश बैंकमा नेपाल बंगलादेश फाइनान्स र नेपाल श्रीलंका फाइनान्स गाभिएका थिए। नारायणी र नेसनल फाइनान्स गाभिएर नारायणी नेसनल बनेका थिए। गाभ्ने र गाभिनेसम्बन्धी विनियमावली आएपछि मर्जरमा जानेको संख्या ह्वात्तै बढेको राष्ट्र बैंकले बताएको छ।

आगामी दिनमा मर्जरमा जाने वित्तीय संस्थाको संख्या अझै बढ्ने बैंकर बताउँछन्। नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकले कुमारी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, इन्टरनेसनल डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंकलाई गाभेर चुक्ता पुँजी बढाउने निर्णय गरेको छ।

त्यस्तै बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक गाभिनका लागि सम्झौता गरेको पनि लामो समय भएको छ। सिभिल बैंक र इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स एकापसमा गाभिने भएका छन्।

श्री इन्भेस्टमेन्ट फाइनान्स र एभरेस्ट फाइनान्स पनि मर्जरमा जाने तयारी गरिरहेका छन्। भिवोर विकास बैंक र सोसाइटल डेभलपमेन्ट बैंक पनि मर्जरको अन्तिम तयारीमा पुगेका छन्।

ज्योति विकास बैंक,  हाम्रो विकास बैंक र झिमरुक विकास बैंक पनि गाभिने अन्तिम तयारीमा छन्। यसअघि गाभिएका सबै बैंक, वित्तीय संस्थाले एकीकृत रुपमा कारोबार सुरु गरिसकेका छन्। गाभिनका लागि वित्तीय संस्था खोज्दै हिँड्ने क्रम पनि जारी छ।

अबको १२ महिनाभित्र वाणिज्य बैंकले ८ अर्ब, राष्ट्रिय स्तरको विकास बैंकले दुई अर्ब ५० करोड र फाइनान्स कम्पनीले ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनु पर्छ।

एक आपसमा गाभिएर वा एकले अर्कोलाई खरिद (एक्विजिसन) गरेरमात्र चुक्ता पुँजी वृद्धि गर्नुपर्ने बाध्यता उनीहरुलाई छ।

केन्द्रीय बैंकले गत साउन ७ गते ०७४ असारसम्म उक्त चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएको थियो। केन्द्रीय बैंकको नयाँ नीतिपछि बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजी चारदेखि २५ गुणासम्म पुर्‍याउनुपर्ने भएको हो। संख्यात्मकभन्दा गुणात्मक सेवा प्रदान गर्ने वित्तीय संस्था हेर्न चाहेको राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले बताए।

गाभिएका बैंक, वित्तीय संस्थाको अध्ययन गरिसकेको र अवस्था सन्तोषजनक रहेको राष्ट्र बैंकले जनाएको छ। विगतमा मर्जर सम्बन्धमा भएका कमी कमजोरी सच्याउँदै जाने नीति केन्द्रीय बैंकको रहेको उसले बताएको छ।

आठ दिनमा चार संस्था गाभिए

असार महिनाको आठ दिनमा चार संस्था गाभिएर एकीकृत कारोबार सुरु गरेका छन्। सिद्धार्थ बंैक र बिजनेस युनिर्भसल विकास बैंक तथा कामना विकास बैंक र कास्की फाइनान्स एकापसमा गाभिएका हुन्।

सिद्धार्थ बंैक र बिजनेस युनिर्भसल विकास बैंकबीच मर्जर प्रक्रिया पूरा भएपछि एकीकृत कारोबार सुरु भएको छ। मर्जरपछि सिद्धार्थ बैंकको चुक्ता पँुजी ३ अर्ब २२ करोड पुगेको छ। त्यस्तै देशभर बैंकको ६५ शाखा र ८१ एटिएम पुगेको छ।

राष्ट्रिय स्तरको विकास बैंकले ०७४ असार मसान्तसम्म २ अर्ब ५० करोड रुपैयाँ पँुजी पुर्‍याउनुपर्ने राष्ट्र बैंकले नीति ल्याएपछि कामना विकास बैंक र कास्की फाइनान्स वित्तीय संस्था गाभिएका हुन्। करिब एक दशकअघि कास्कीमा खुलेका यी दुई वित्तीय संस्था मर्ज भएपछि बनेको कामना विकास बंैकको वित्तीय कारोबार सुरु भएको छ।

मर्जपछि बनेको कामनाको चुक्ता पुँजी ६६ करोड १६ लाख रुपैयाँ पुगेको छ। यसको निक्षेप ७ अर्ब र कर्जा ६ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै बैंकका २१ श्ााखा र एटिएम संख्या ९ पुगेको छ।

यसैबीच ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङमा रहेको प्यासिफिक डेभलपमेन्ट बैंक किन्ने भएको छ। प्यासिफिक बैंकको चुक्ता पुँजी ११ करोड छ। प्यासिफिक किनेपछि ग्लोबलको चुक्ता पुँजी ६ अर्ब २७ करोड रुपैयाँ, निक्षेप ७१ अर्ब, कर्जा लगानी ६१ अर्ब रुपैयाँ हुने छ। अब ग्लोबलका ९४ वटा शाखा पुग्नेछन्। ग्लोबलसँग यसअघि कमर्ज एन्ड ट्रस्ट बैंक, आइएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाइनान्स मर्ज भइसकेका छन्।

यसैगरी, काष्ठमण्डप डेभलमपेन्ट बैंक लिमिटेड तथा काँक्रे बिहार विकास बैंक लिमिटेडबीच गाभिनेेसम्बन्धी सम्झौता भइसकेको छ। यसअघि महाकाली विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनीसँग सम्झौता भइसकेको छ। गाभिएपछि एकीकृत संस्थाको पुँजी १ अर्ब ८० करोड पुग्ने छ।

महालक्ष्मी फाइनान्स लिमिटेडको विशेष साधारण सभाले महालक्ष्मी फाइनान्स लिमिटेड, मालिका विकास बैंक लिमिटेड तथा सिद्धार्थ फाइनान्स लिमिटेड एक आपसमा गाभिई राष्ट्रिय स्तरको महालक्ष्मी विकास बैंक बन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

 

प्रकाशित: ९ असार २०७३ ०५:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App