१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विवादित मेयरमाथि समारोहमै गोली प्रहार

अज्ञात व्यक्तिको गोली लागेका एन्टोनियो हालिली । तस्बिर : बिबिसी

मनिला– फिलिपिन्सका विवादित मेयर एन्टोनियो हालिलीमाथि झन्डोलत्तन समारोहमै गोली प्रहार भएको छ ।
राजधानी मनिलाको दक्षिणी क्षेत्रस्थित तनउनको टाउन हलबाहिर राष्ट्रिय गान गाइसक्नेबित्तिकै एन्टोनियो हालिलीको छातीमा गोली प्रहार भएको बिबिसीले जनाएको छ।

मेयर हालिलीमाथि गोली प्रहार हुनेबित्तिकै समारोहमा उपस्थित सबै चिच्याएर भाग्दै गरेको फुटेज बाहिरिएको छ ।लागू औषध कारोबारमा संलग्न संदिग्धलाई सडकमै परेड खेलाएका हालिली लागू औषधविरुद्धको अडानका लागि कट्टरपन्थी मानिन्छन् । यद्यपी लागू औषध तस्करलाई संरक्षण गरिरहेको भन्ने आरोप पनि हालिलीले खेपिरहेका छन् । उनले भने यस्तो आरोप अस्वीकार गर्दै आइरहेका छन् ।

राजधानी मनिलाको दक्षिणी क्षेत्रस्थित तनउनको टाउन हलबाहिर राष्ट्रिय गान गाइसक्नेबित्तिकै एन्टोनियो हालिलीको छातीमा गोली प्रहार भएको बिबिसीले जनाएको छ

मेयर हालिलीमाथि गोली प्रहार गर्ने सुटर भने समारोहस्थलबाट भाग्न सफल भएको र हालसम्म कोही पनि संदिग्धको पहिचान नभएको फिलिपिनो अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । सुटरले करिब एक सय ५० मिटर परबाट मेयर हालिलीमाथि गोली प्रहार गरेको स्थानीय प्रहरी प्रमुख रेनाटो मेराकाडोलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ ।‘गोली प्रहार गरेको स्थानदेखिको दूरी असाधारण छ । यो साधारण मानिसले गर्न सक्ने कार्य हैन । उनको कला तालिम प्राप्त स्नाइपरसँग तुलना गर्न मिल्छ,’ प्रहरी प्रमुख मेराकाडोलाई उद्धृत गर्दै एएफपीले जनाएको छ।

दुई वर्षअघि आफूले गरेको अपराध लेखिएको संकेतसहित लागू औषध संदिग्धलाई सडकमा हिँड्न बाध्य बनाएपछि हालिली अन्तर्राष्ट्रिय आकर्षणको पात्र बनेका थिए । उनले त्यस्तो हिँडाइलाई लाजको हिँडाइ भनेका थिए । तर फिलिपिन्स सरकारले गत वर्ष गैरकानुनी लागू औषध व्यापारसँग हालिलीको सम्बन्ध रहेको बताएपछि स्थानीय प्रहरीमाथिको उनको शक्तिमा कमी आएको बताइन्छ ।

फिलिपिन्स सरकारले सन् २०१६ को जुलाईमा लागू औषधविरुद्धको अभियान सञ्चालन गरेदेखि प्रहरी अपरेसनका कारण हालसम्म चार हजार संदिग्ध लागू औषध प्रयोगकर्ता र डिलरहरुको मृत्यु भइसकेको बिबिसीले जनाएको छ । गिरफ्तारी दिन नमानेपछि र आत्मसुरक्षाका लागि ती सबैको मृत्यु भएको प्रहरीले बताउने गरेको छ । फिलिपिन्समा जारी लागू औषध युद्धका क्रममा १२ हजारभन्दा बढिको मृत्यु भइसकेको अधिकारवादी समूहहरुले बताउने गरेका छन् ।

प्रकाशित: १९ असार २०७५ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App