१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

इब्राहिमोभिचको अनुपस्थिति पुर्दै स्विडेन

अभ्यासका क्रममा स्विडेनकाे टाेली । तस्विर : एपी

सेन्ट पिट्सबर्ग – रूस विश्वकपमा ज्लाटान इब्राहिमोभिचको अनुपस्थितिले स्विडेनका अन्य खेलाडीलाई स्थापित गर्ने मौका दिएको कप्तान आन्द्रेस ग्रान्कभिस्टले बताएका छन्।

स्विडेनले मंगलबार अन्तिम १६ मा स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। इब्राहिमोभिचले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएपछि स्विडेनले विश्वकपमा यो सफलता पाउने कमैले अनुमान गरेका थिए। तर, २४ वर्षपछि स्विडेनले पहिलो पटक क्वार्टरफाइनलसम्मको यात्रा तय गर्न सफल भएको छ। स्विडेनका स्टार खेलाडी इब्राहिमोभिचले दुई वर्षअघि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका थिए।

छनोट प्रतियोगितामा नेदरल्यान्डलाई पछि पारेपछि स्विडेनले प्लेअफमा चार पटकको विश्वकप विजेता इटालीलाई हराउँदै रूससम्मको यात्रा तय गरेको थियो। स्विडेन विश्वविजेता जर्मनीसँग पराजित भए पनि मेक्सिको र दक्षिण कोरियालाई हराउँदै समूह ‘एफ’ को विजेता हुँदै अन्तिम १६ मा स्थान बनाउन सफल भएको थियो। यससँगै स्विडेनले १९९४ पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुग्ने सम्भावना जीवित बनाएको छ।

‘विश्वकै उत्कृष्टमध्येका एक खेलाडी टोलीमा नभए पनि हामीले यहाँसम्मको यात्रा तय गरेका छौं,’ स्विडेनका कप्तान ग्रान्कभिस्टले भने, ‘जाने एन्डरसनले प्रशिक्षण सम्हालेपछि टोली पुर्नसंरचना भएको छ र गत दुई वर्षसम्म हामीले धेरै संघर्ष ग-यौं। त्यसको नतिजा बलियो बनाएको छ र त्यहीअनुरूपको नतिजा पनि आएको छ।’

नकआउट चरणसम्म पुगे पनि स्विडेनलाई कमजोर टोलीका रूपमा हेरिएको थियो। तर टोलीमा स्टार खेलाडी नभए पनि संगठित प्रदर्शनका कारण स्विडेनले यो सफलता हात परेको छ। लियोनल मेसीको प्रेरणामा रहेको अर्जेन्टिना, क्रिस्टियानो रोनाल्डोको पोर्चुगल, टोनी क्रुसको जर्मनी, सर्जियो रामोसको स्पेन प्रतियोगिताबाट बाहिरिँदा स्विडेनको आशा भने अझै कायमै छ।

‘केही नतिजा साँच्चिकै लोभलाग्दो छ। सधैं ठूला राष्ट्रले मात्र जित्दैनन्,’ स्विडेनका प्रशिक्षक जाने एन्डरसनले भने, ‘मेरा लागि त्यो प्रेरणाको स्रोत हो।’ स्विट्जरल्यान्डविरुद्धको खेलकै दिन कप्तान ग्रान्कभिस्टकी पत्नी सोफीले नयाँ बच्चालाई जन्म दिँदै छिन्। त्यसैले उनी आफैँले खेल्ने नखेल्नेबारे निर्णय लिइसकेका छैनन्। तथापि उनले आफू खेलमै केन्द्रित भएको बताएका छन्, ‘हामी पर्ख र हेरको अवस्थमा छौं। म पूर्ण रूपमा खेलमा केन्द्रित छु र मेरी पत्नी धेरै साहसी छिन्।’

सोमबार आयोजकसँग पराजित हुँदै २०१० को विश्वविजेता स्पेन प्रतियोगिताबाट बाहिरिएपछि जुलाई १५ मा हुने फाइनलसम्मको यात्रा थप खुला भएको छ। क्रोएसिया, रूस, स्विडेन, स्विट्जरल्यान्ड, कोलम्बिया र इङ्ल्यान्डमध्ये एकले फाइनलको यात्रा गर्नेछन्। कप्तान ग्रान्कभिस्टले स्विट्जरल्यान्डलाई आफूले कमजोर नआँक्ने बताउँदै भने, ‘हामीलाई थाहा छ स्विट्जरल्यान्ड धेरै बलियो टोली हो। उनीहरूले लामो समयदेखि राम्रो फुटबल खेल्दै आएका छन्। हामीले उनीहरूलाई कमजोर ठानेका छैनौं।’

स्विट्जरल्यान्डले पाँच पटकको विश्वकप विजेता ब्राजिल सम्मिलित समूह ‘ई’ बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो। मंगलबार स्विडेनलाई पराजित गरे भ्लाद्मिर पेतकोभिचको स्विट्जरल्यान्ड ६४ वर्षपछि क्वार्टरफाइनल पुग्ने पहिलो टोली बन्नेछ।

सबै खेलमा गोल गर्न सफल स्विट्जरल्यान्ड प्रतियोगितामा अपराजित टोलीमध्येको एक हो। गत अक्टोबरमा पोर्चुगलसँग पराजित हुनुबाहेक स्विट्रल्यान्डले पछिल्लो दुई वर्ष खराब नतिजाको सामना गर्नुपरेको छैन।

‘हामी अझै राम्रो नतिजा निकाल्न चाहन्छौं,’ अन्तिम १६ मा स्थान बनाएपछि स्विट्जरल्यान्डका कप्तान पेतकोभिचले भने, ‘हामी इतिहास बनाउन चाहन्छौं। हाम्रो महŒवाकांक्षा ठूलो छ। र अर्को एक ठूलो महत्वाकांक्षा हो स्विडेनलाई पराजित गर्नु।’

प्रकाशित: १८ असार २०७५ २१:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App