२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सान्जेनको करिब ६९ हजार सेयरको पहिचान खुलेन

रसुवा - सान्जेन जलविद्युत् कम्पनी लिमिटेडमा जिल्लाका साविकका गाउँ विकास समितिले भरेका करिब ६९ हजार सेयरको पहिँचान खुलेको छैन । साबिकका गाविसहरुले हालेका सेयरको भौचरमा गाविसको नाम उल्लेख नगरेका कारण सेयरको पहिँचान नखुलेको हो।

गाविसको पहिचान नखुलेका कारण ६९ हजार तीन सय ९० कित्ता सेयर जिल्ला समन्वय समिति (जिसस)को नाममा राखिएको छ । भौचरमा गाविसले नाम उल्लेख नगरेका कारण कुन गाविसले सेयर हालेको भन्ने यकिन नभएकाले समितिको नाममा राखिएको कम्पनीले जनाएको छ ।

आइतबार जिसस रसुवाले आयोजना गरेको ‘रसुवागढी तथा सान्जेन जलविद्युत् आयोजनाले रसुवा जिल्लाका स्थानीयबासिन्दालाई वितरण गरिने सेयर’बारे सञ्चालित अन्तरक्रिया कार्यक्र कुराको जानकारी गराइएको हो । कम्पनी, बैंक तथा जिससले सेयर पहिँचानका लागि प्रयास गरे पनि अहिलेसम्म पहिँचान हुन नसकेको बताइएको छ।

२०६८ असार ३० देखि २०७१ असार २४ गतेसम्म विभिन्न मितिमा हालिएको सेयरको पहिँचान नखुलेका कारण जिससको नाममा राखिएको बताइएको छ । कम्पनीले संस्थापकका लागि एक करोड ८६ लाख १५ हजार सेयर जारी गरेको थियो ।

उत्पादन सुरु भएपछि मात्र सेयर निष्कासन गर्न आग्रह
जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाहरुले आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दा र सर्वसाधरणका लागि सेयर निष्कासन गर्दा उत्पादन सुरु भएपछि मात्रै निष्कासन गर्न जनप्रतिनिधिले आग्रह गरेका छन् ।

अन्तरक्रिया कार्यक्रमको अवसरका उत्पादन सुरु भएपछि मात्रै सेयर निष्कासन गर्न प्रतिनिधिसभा, प्रदेशसभाका सांसद र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले आग्रह गरेका हुन् ।प्रतिनिधि सभाका सांसद मोहन आचार्यले सेयर निष्कासन गर्दा बैंकहरुले ऋण दिने व्यवस्था मिलाउन आग्रह गरे । ‘आयोजनाले निष्कासन गर्न लागेको सेयर खरिद गर्नका लागि जनतासँग पर्याप्त रकम छैन,’ उनले भने, ‘भूकम्पले ढलेका घर उठाउन नसकेको अवस्थामा सेयरमा लगानी गर्न सक्ने अवस्था छैन ।’

जिल्लामा यसअघि चिलिमे जलविद्युत् आयोजनाले पनि उत्पादनपछि सेयर निष्कासन गरेकाले अहिले निर्माण भइरहेका आयोजनाले पनि उत्पादनपछि मात्रै सेयर निष्कासन गर्र्न रसुवाका प्रदेश ‘ख’का सासंद प्रेमबहादुर तामाङले आग्रह गरे।

सेयर निष्कासन तथा बाँडफाँट सम्बन्धी निर्णय

छलफलपछि सेयर बाँडफाँट सम्बन्धी तीनवटा महत्वपूर्ण निर्णय गरिएको छ । सेयर बाँडफाँटमा सहज बनाउने, गाउँपालिकालाई सेयरधनी प्रमाणपत्र उपलब्ध गराउन कम्पनीलाई अनुरोध गर्ने र साबिकका गाउँ विकास समितिले विभिन्न जलविद्युत् आयोजनामा लगानी गरेको संस्थापक सेयर वडागत रुपमा बाँडफाँट गरी गाउँपालिकाको नाममा सेयरधनि प्रमाणपत्र उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरिएको छ।

‘जिल्लामा सञ्चालित जलविद्युत् आयोजनाहरुद्वारा स्थानीय प्रभावित तथा जिल्लाबासीलाई सेयर वितरण गर्दा पहिले सर्वसाधारण तथा अन्य निकायका लागि छुट्याइएको सेयर बाँडफाँट गरी आयोजनाले उत्पादन सुरु गरिसकेपछि मात्रै स्थानीय सर्वसाधारणलाई १० प्रतिशत सेयर वितरण गर्न सहज हुने गरी आवश्यक कानुन संसोधन गर्न अर्थ मन्त्रालयमार्फत धितोपत्र बोर्डमा अनुरोध गर्ने’ निर्णयमा उल्लेख छ ।

प्रभावित क्षेत्रका बासिन्दाका लागि रसुवागढी जलविद्युत् कम्पनीले ६८ करोड ४२ लाख १० हजार मूल्य बराबरको ६८ लाख ४२ हजार एक सय कित्ता र सान्जेन जलविद्युत् कम्पनीले ३६ करोड ५० लाख मूल्य बराबरको ३६ लाख ५० हजार कित्ता जारी गर्ने छन् ।जिल्लामा निर्माणाधीन रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाले आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दा र सर्वसाधरणका लागि आगामी मंसिरसम्ममा सेयर निष्कासन गर्ने तयारी गरेका छन् ।

प्रकाशित: १८ असार २०७५ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App