१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ग्रिन च्यानलमार्फत अवैध काराेबार

वीरगन्ज - सरकारले केही वर्षअघि आयात–निर्यात व्यापारलाई सहज बनाउन प्रमुख भन्सार नाकामा ‘ग्रिन च्यानल’को व्यवस्था ग-यो। राजस्व छलीको जोखिम नभएका र शंका गर्न नमिल्ने वस्तुलाई यो च्यानलमार्फत ल्याउन लैजान पाउने नीतिगत व्यवस्था गरियो। यसका लागि प्रज्ञापनपत्रको रङसमेत अर्कै तोक्ने काम भयो। तर दुर्भाग्य! प्रमुख भन्सार नाका वीरगन्जमा यही ‘ग्रिन च्यानल’ प्रयोग गरी कालो मरिचको अवैध धन्दा हुँदै आएको खुलासा भएको छ।

सरकारले कालो मरिचलाई राजस्व छलीको जोखिम नभएको भन्दै ग्रिन च्यानल प्रयोग गर्ने सूचीमा राखेको थियो। यसले ग्रिन च्यानलको सुविधा प्रयोग गरेर राजस्व छल्ने काम भइरहेको शंकालाई आधार दिएको छ। यो प्रकरण ढाकछोप गर्न विभिन्न पक्ष सक्रिय देखिएका कारण ग्रिन च्यानलबाट वर्षौंदेखि कालो धन्दा भइरहेको त छैन भन्ने प्रश्न पनि उब्जिएको छ।

गत जेठ २१ गते वीरगन्ज मुख्य भन्सार नाकाबाटै भारततर्फ लैजान लागिएको एक सय २० क्विन्टल मरिच दसगजा नजिकै बरामद भएको थियोे। भन्सारको ग्रिन च्यानल प्रयोग गरी छाला भनेर वीरगन्ज भन्सारबाट मरिच निकासी भएको रहेछ। छाला निकासीको आवरणमा भारततर्फ मरिच तस्करी गरेको आरोपमा उद्योगी सञ्जय अग्रवाल राजस्व अनुसन्धान विभागको आदेशमा हिरासतमा छन् । नक्खु कारागारमा राखिएका अग्रवाल विभागले मागेको तीन करोड ७६ लाख ८० हजार रुपैयाँ धरौटी जुटाउन नसकेर हिरासतमा बसेका हुन्।

‘गम्भीर प्रकृतिको’ अपराध भन्दै यसको अनुसन्धानमा विभाग आफैंले हात हालेको छ । अहिलेसम्म ग्लोबल लेदर टेनिङ इन्डस्ट्रिज प्रालिका सञ्चालक अग्रवालसहित अन्य दुईजनालाई अनुसन्धानले हिरासतमा लिएको छ । भन्सार एजेन्टका प्रतिनिधि दिलीप श्रीवास्तव र ट्रक चालक भारतीय नागरिक धर्मेन्द्रकुमार पनि हिरासतमा छन्।

‘व्यवसायी, एजेन्ट र चालकलाई मात्र थुनेर प्रकरणमा संलग्न अन्य पक्षलाई जोगाउन खोजेजस्तो देखियो,’ व्यापारी भन्छन् । निजी क्षेत्रका अगुवाले पनि अनुसन्धानमा अन्य पक्षलाई नतानेकामा आपत्ति जनाएका छन् । ‘घटनामा सहजै बुझ्न सकिन्छ दोषी धेरै पक्ष छन्,’ वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले भने, ‘एकतर्फी रुपमा व्यापारीलाई मात्र टार्गेट गरेर अरु दोषीलाई जोगाउन खोजिएको छ भन्ने हामीलाई लागेको छ।’

व्यवसायीका अनुसार यो प्रकरणमा भन्सार अधिकारी मुख्य रुपमा दोषी छन् । वीरगन्जबाट निकासी हुने मालसामान सीमास्थित मितेरी पुल पार गरेपछि सिधै भारतीय भन्सारको हातामा पुगेपछि मात्र भारततिर निकासी हुने गर्छ । बरामद भएको मरिचको ट्रक मितेरी पुलमा चढ्नै लागेको बेला समातिएको थियो । ‘५० लाख भन्दा बढी मूल्यको मालसामान मिलोमतो नभई कसैले लैजाने आँट गर्दैन,’ रक्सोलका व्यापारी महेश अग्रवालले भने, ‘यसमा अनुसन्धानको दायरा फराकिलो पर्नुपर्ने हुन्छ । दुवैतिर अनुसनधान गर्नुपर्छ।’

अनुसन्धान सकिएपछि सत्यतथ्य बाहिर आउने राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीको दाबी छ । मैनालीका अनुसार राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को व्यवस्थाअनुसार धरौटी मागिएको हो । उक्त ऐनले बिगो र बिगोको दोब्बर जरीवानासमेत खाम्ने गरी धरौटी माग्ने अधिकार अनुसन्धान अधिकृतलाई दिएको छ । अनुसन्धान विभागले अग्रवालको ग्लोबल लेदर इन्डस्ट्रिज सहित अन्य दुई व्यावसायिक प्रतिष्ठानमा छापा मारेर काजगात लगेको छ।

विगत तीन वर्षदेखि मरिच तस्करीको प्रसंग चर्चामा रहे पनि अहिलेसम्म ठोस कारवाही  भएको छैन । प्रत्येक वर्ष मुलुकमा मागको अनुपातमा कयौं गुणा बढी मरिच आयात भएको छ । यो वर्ष १० महिनामा एक करोड ३० लाख ८४ हजार किलो मरिच नेपालमा आयात भएको छ । पोहोर यसै अवधिमा एक करोड ४१ लाख ३३ हजार किलो आएको थियो।

विभागले घटनामा सरोकार राख्ने सबै निकाय, सम्भावित व्यवसायी र व्यक्ति समेतलाई अनुसन्धानको घेरामा राखे पनि सबैलाई अहिलेसम्म बोलाएको छैन । भारतको कानपुरस्थित एक व्यापारिक प्रतिष्ठानलाई छाला पठाउन लागिएको विवरण उल्लेख गरिएको ग्लोबल लेदरको प्रज्ञापनपत्र देखाएर मरिच निकासी भएको थियो । केरमेट गरेर ट्रक नम्बर मिलाइएको प्रज्ञापनमा भन्सारका अधिकृत उद्धव ढुंगानाको हस्ताक्षर छ।

भन्सार कर्मचारीको मिलेमतोबिना यो सम्भव नहुने जानकार बताउँछन् । अहिलेसम्म भन्सार कर्मचारीलाई अनुसन्धानको दायरामा पारिएको छैन । घटनापछि अधिकृत ढुंगाना बिदामा हिँडेका थिए । घटनाका दिन प्रमुख भन्सार अधिकृत सेवान्तक पोखरेल पनि बिदामा थिए।

‘म बिदामा थिएँ, घटना सुनेपछि तुरुन्तै फर्कें,’ पोखरेलले भने, ‘अहिले अनुसन्धानमा रहेको घटनाबारे म बोल्न मिल्दैन ।’ कम्प्युटरबाट निकालिएको प्रज्ञापनमा केरमेट गरेर गाडी नम्बर सच्याउन नमिल्ने भन्सारका एक कर्मचारीले जानकारी दिए । उनका अनुसार गल्ती भए पुनः ‘कम्प्युटर सफ्टवेयर’मा प्रक्रिया पूरा गरेर मात्रै सच्याउनु पर्छ । यस प्रकरणमा प्रज्ञापनमा त्यस्तो प्रक्रिया पूरा नगरी भन्सारको छाप मात्र लगाइएको छ । युपी १५ डिटी २५ लाई कलमले काटेर एचआर ५५ यु ४०६८ नम्बर चढाइएको छ।

यो नम्बरको गाडीमा छाला निकासी भएको र मरिच बरामद भएको गाडीबारे आफूलाई जानकारी नभएको दाबी उद्योगीको छ । युपी ७८ बिटी ३८०४ नम्बरको ट्रकमा मरिच बरामद भएको थियो । एक व्यापारीका अनुसार गाडी नम्बर केरमेट गरी एजेन्टलाई जिम्मेवार देखाएर निकासीकर्ता उम्किन खोजेको देखिन्छ।

भन्सारको प्रज्ञापनमा दुइटा ट्रकमा २५ मेट्रिक टन वेट ब्लु छाला रहेको उल्लेख भए पनि बिलमा २० मेट्रिक टन लेखिएको छ । गाडीको तौल २६ मेट्रिक टनभन्दा बढी देखाइएको छ । भारतीय क्वारेन्टाइनको स्वीकृति पत्रमा केरमेट गरी सच्याइएको एचआर ५५ यु ४०६८ नम्बर उल्लेख छ । केरमेट भएको प्रज्ञापनपत्र भारतीय भन्सारले स्वीकार गर्दैन । यसले सबै पक्षको मिलेमतोमा वर्षौंदेखि मरिच तस्करी हुँदै आएको देखाउँछ।

प्रकाशित: १७ असार २०७५ ०५:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App