१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

स्पेनविरुद्ध रूसः काउन्टर अट्याकमा फाइदा लिने रूसी लक्ष्य (भिडियाे)

मस्को – आयोजक रूसले आइतबार विश्वकपअन्तर्गत अन्तिम १६ को खेलमा स्पेनको चुनौती पन्छाउन समूहचरणका पहिला दुई खेलमा गरेजस्तै जुझारु प्रदर्शन दोहोर्याउन आवश्यक छ । समूह ‘बी’ को विजेताको रूपमा नकआउट चरण प्रवेश गरेको स्पेनले समूह चरणमा सोचेअनुरूप नतिजा भने ल्यान सकेको थिएन।

प्रतियोगिता अघिसम्म रूसले समूह चरण पार गर्ने थोरैले मात्र अनुमान गरेका थिए । तर पहिलो खेलमा साउदी अरेबियामाथि ५–० को प्रभावशाली नतिजा निकालेको रूसले दोस्रो खेलमा इजिप्टमाथि ३–१ को सहज जितका साथ नकआउटमा स्थान पक्का गर्याे । सोभियत युगको अन्त्यपछि रूस समूहचरणबाट माथि उठेको यो पहिलो पटक हो । समूहविजेताका लागि उरुग्वेविरुद्धको खेलमा भने रूस ३–० ले पराजित भएको थियो।

आयोजकको हैसियतमा प्रतियोगितामा सोझै प्रवेश पाएको रूसले ८ महिनाको अवधिमा कुनै पनि खेल जितेको थिएन । नोभेम्बरमा स्पेनलाई ३–३ को बराबरीमा रोक्नु नै उनीहरूको सम्झनलायक प्रदर्शन थियो । रूसका रक्षक सेर्गी इग्नासेभिचले स्पेन आफूहरूका लागि नौलो प्रतिद्वन्द्वी नभएको बताए । इग्नासेभिच २००८ को युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा स्पेनलाई नतिजा सुम्पिँदा समेत टोलीका सदस्य थिए।

‘स्पेनले विगतका वर्षमा जस्तै पुरानै रणनीतिमा खेलिरहेको छ,’ ३८ वर्षे इग्नासेभिचले भने, ‘स्पेनका रक्षक धेरै अघि बढेर खेल्छन् । काउन्टर अट्याकको रणनीतिमा खेल्ने टोलीले यसको फाइदा उठाउन सक्छ । यो नै उनीहरूको एक मात्र कमजोर पक्ष हो।’ खेल लुज्निकी रंगशालमा हुँदै छ, जहाँ रूसले प्रतियोगिताको उद्घाटन खेल खेलेको थियो।

‘हामीले समूहचरण पार गर्नुमा समर्थकको पनि साथ छ । आइतबार हामीले लुज्निकी रंगशालमा खेल्दै छौं, जहाँ हाम्रा ८० हजार घरेलु समर्थक हुनेछन्,’ उनले भने, ‘यो नै हाम्रो बलियो पक्ष हो।’

साउदी अरेबियाविरुद्धको पहिलो खेलमा ह्यामस्ट्रिङको समस्याका कारण समूहका अन्य खेलमा बेन्चमा बसेका मिडफिल्डर एलेन ज्यागोएफ टोलीमा फर्कनेछन् भने उरुग्वेविरुद्धको खेलमा रातो कार्डको दर्शन गरेका रक्षक इगोर स्मोलनिकोभ मैदान बाहिर हुनेछन्।

स्पेन २०१६ को युरोपियन च्याम्पियनसिपछिका सबै खेलमा अपराजित रहँदै आएको छ । प्रतियोगिता सुरु हुन एक दिनअघि तत्कालीन प्रशिक्षक युलेन लोग्तेगी बर्खास्तगीमा परेपछि फर्नान्डो हायरोको नेतृत्वमा खेलिरहेको स्पेनले सोचेअनुप नतिजा भने ल्याउन सकेको छैन । पहिलो खेलमा पोर्चुगलसँग ३–३ बराबरी खेलेको स्पेनले दोस्रो खेलमा इरानमाथि १–० को संघर्षपूर्ण जित हात पारेको थियो।

समूहचरणको अन्तिम खेलमा इयागो आसपसले अन्तिम समयमा गरेको गोलमा मोरक्कोसँग २–२ को बराबरी खेल्दै स्पेनले समूह ‘बी’ को विजेताका रूपमा अन्तिम १६ प्रवेश गरेको थियो । स्पेन समूह चरणका खेलहरूमा देखिएको कमजोर रक्षापंक्तिमा सुधार गर्ने लक्ष्यमा छ।

‘हामीले अहिलेसम्म स्तरअनुसारको प्रदर्शन गर्न सकिरहेका छैनांै । त्यसैले हामीले सुधारिएको प्रदर्शन गर्न आवश्यक छ,’ स्पेनका मिडफिल्डर थियागो अलसान्ट्राले भने, ‘रूस हाम्रा लागि कठिन प्रतिद्वन्द्वी हो किनभने हामी मैदानमा ११ जना रूस खेलाडीसँग मात्र नभई मैदानबाहिर बसेका लाखाैं रूसी समर्थकविरुद्ध पनि खेलिरहेका छौं।’

स्पेनका कप्तान सर्जियो रामोस र जेरार्ड पिकेलाई विश्व फुटबलकै उत्कृष्ट रक्षकका रूपमा लिइए पनि टोलीले समूहचरणमा ५ गोल खाएको थियो।

‘हामीले रक्षापंक्तिमा सुधार गर्न जरुरी छ,’ अर्का रक्षक ड्यानी कार्भाहलले भने, ‘विपक्षीले उनीहरूको उत्कृष्ट प्रदर्शनभन्दा पनि हाम्रै गल्तीमा गोल गरिरहेका छन् किनभने हामीले नै उनीहरूलाई गोलको सहज अवसर दिइरहेका छौं।’

प्रकाशित: १७ असार २०७५ ०५:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App