२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कुटपिटबाट बृद्धाको मृत्यु प्रकरण : ३ जना पक्राउ

उदयपुर– बाख्राले बाली खाएको निहुँमा भएको बिबादबाट कुटपिट हुँदा एक बृद्धाको मृत्यु भएको आरोपमा उदयपुर प्रहरीले ३ जना छिमेकीलाई शुक्रबार नियन्त्रणमा लिएको छ। 

कुटपिट भएको १२ दिनपछि बिहीबार घरमै मृत भेटिएकी जिल्लाको लिमचुङबुङ गाउँपालिका ४ बलम्ता लाकुकी ६३ वर्षीया नौराजेम्मा भन्ने जयरानी राईमाथि कुटपिट गर्ने छिमेकीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बाख्राले बालि खाएको विषयमा बिबाद हुँदा जयरानीमाथि छिमेकी बबिता राई र सञ्जिव राईले गत जेठ ३१ गते कुटपिट गरेको मृतकका आफन्तको आरोप छ। उनीहरुको कुटपिटकै कारण घाइते भएर थलिएकी जयरानीको बिहीबार विहान मृत्यु भएपछि मृत्यु हुनुको कारण कुटपिट नै भएको उजुरी परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा गाउँ कार्यपालिका सदस्य जानुका राईसमेत एउटै परिवारसँग जोडिएका ४ जना रहेको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताएका छन्। उनका अनुसार कुटपिट गर्ने बबिता र सञ्जिव, देबबहादुर राई पक्राउ परेका छन्। सञ्जिव र बबितासँग पारिवारिक सम्बन्ध भएका देबबहादुर र जननिर्वाचित वडासदस्य तथा गाउँकार्यपालिका सदस्यसमेत रहेकी जानुका राईलाई पनि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको भट्टको भनाई छ। 

सदरमुकामदेखि लगभग ९० किलोमटिर उत्तर–पश्चिममा रहेको घट्नास्थलमा अघिल्लो दिन नै प्रहरी पठाइए पनि बाटो खराव भएका कारण पुग्न नसकेपछि इलाका प्रहरी कार्यालयबाट अर्को टोली खटाइएको प्रहरीले जनाएको छ। प्रहरी टोलीले घट्नास्थलको सर्जमिन मुचुल्का गरेर शुक्रबार दिउँसो मृतकको शव र पक्राउलाई लिएर सदरमुकाम लगेको वडाध्यक्ष एण्डु राईले बताए। कुटपिट गरेको विषयमा आफूलाई राम्रो जानकारी नभए पनि सिकिस्त विरामी भएको गाउँलेको खबर अनुसार हेर्न जाँदा बृद्धा घरमै मृत्यु भएको अवस्थामा भेटिएको वडाध्यक्ष राईले बताए। 

बृद्धावस्थाकी एकल महिला जयरानीको मृत्युको कारण कुटपिटबाटै भएको हो या अन्य कारणले भन्ने कुराको टुंगो अहिले नै नलाग्ने प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाउने र पोष्टमार्टम रिपोर्ट आएपछि मात्र उनको मृत्युको खास कारण पत्ता लाग्ने एसपी भट्टले बताएका छन्। मृतककी आफन्त सुमित्रा राईका अनुसार एक मात्र छोरा वैदेशिक रोजगारीको सिलसिलामा विगत ७ महिनायता कतारमा कार्यरत रहेकाले बृद्धा एक्लै घर बस्दै आएकी थिइन्। 

प्रकाशित: १५ असार २०७५ १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App