१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

दोस्रो चरण नपुग्ने साबिक विजेताहरू

भोल्गोग्राड – विश्वकपका पछिल्ला केही संस्करणहरूमा साबिक विजेताहरूले उपस्थिति समूहचरणबाट माथि उठ्न सकेको छैन।

बुधबार दक्षिण कोरियालाई २–० को नतिजा सुम्पिएसँगै जर्मनीको नकआउट चरण प्रवेशको ढोका बन्द भयो । पछिल्ला ५ साबिक विजेतामध्ये ४ टोलीको विश्वकप यात्रा समूहचरणमा सीमित बनेको छ।

२००२ को विजेता ब्राजिल भने साबिक विजेताका रूपमा २००६ को विश्वकपको समूहचरण पार गर्न सफल भएको थियो । इटालीले १९३८ र ब्राजिलले १९६२ मा विश्वकप उपाधि रक्षा गर्नुबाहेक २०औं शताब्दीका धेरै विजेताको यात्रा पहिलो चरणमा समाप्त भएको छ।

पछिल्लो केही संस्करणमा समूहचरणबाट माथि उठ्न नसकेका साबिक विजेताहरूः
२००२: १९९८ मा घरेलु मैदानमा सम्पन्न विश्वकपको उपाधि जितेको फ्रान्स २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा उपाधि रक्षाको लक्ष्यमा थियो।

विश्वकपको उपाधि जितेको २ वर्षपछि युरोपियन च्याम्पियनसिप जित्दै फ्रान्सले २००२ मा उपाधि रक्षा गर्ने बलियो दाबेदारी प्रस्तुत गरेको थियो । पहिलो खेलमा नवप्रवेशी सेनेगलसँग १–० ले स्तब्ध फ्रान्स दोस्रो खेलमा उरुग्वेसँग गोलरहित बराबरीमा रोकियो । गर या मरको स्थितिमा रहेको डेनमार्कविरुद्धको खेलमा पनि २–० को हार बेहोरेको साबिक विजेता फ्रान्स समूहचरणबाट माथि उठ्न सकेन।

२०१० : इटालीलाई सधैं विश्वकपको प्रमुख दाबेदार मानिन्छ । इटालीले २००६ मा जर्मनीमा सम्पन्न विश्वकप फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै प्रतियोगिताको उपाधि संख्या ४ पुयाएको थियो।

इटाली २०१० मा ब्राजिलको नाममा रहेको पाँचाैं विश्वकप उपाधिको कीर्तिमान बराबरी गर्ने लक्ष्यका साथ दक्षिण अफ्रिका भ्रमणमा निस्किएको थियो। सुरुआती दुई खेलमा पाराग्वे र न्युजिल्यान्डसँग अंक बाँडेको इटाली अन्तिम खेलमा स्लोभाकियासँग ३–२ ले स्तब्ध हुँदै समूह चरणबाटै बाहिरिएको थियो।

२०१४ ः २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपको उपाधि जितेको स्पेन २०१४ को ब्राजिल विश्वकपमा उपाधि रक्षाको लक्ष्यसहित निस्किएको थियो।

२००८ मा युरोपियन च्याीम्पयनसिपको उपाधि जितेको स्पेनले त्यसको दुई वर्षपछि विश्वकपको उपाधि जितेको थियो। २०१२ मा युरोपियन च्याम्पियनसिपको उपाधि रक्षा गरेसँगै स्पेनले २०१४ मा विश्वकपको उपाधि रक्षा गर्ने धेरैको अनुमान थियो।

२०१० को विश्वकपको उपाधि जित्दा नेदरल्यान्ड्सलाई पराजित गरेको स्पेनले ब्राजिल विश्वकप समूहचरणको पहिलो खेलमा पनि डच टोलीलाई प्रतिद्वन्द्वीका रूपमा पाएको थियो।

तर १–० को अग्रता लिएको स्पनेलले अन्ततः नेदरल्यान्ड्ससँग ५–१ को लज्जास्पद हार व्यहोर्न बाध्य भयो । दोस्रो खेलमा चिलीसँग २–० ले पराजित भएसँगै स्पेनको ब्राजिल यात्रा समूहचरणबाट माथि उठ्न सकेन । स्पेनले अन्तिम खेलमा भने अस्ट्रेलियालाई ३–० ले पराजित गरेको थियो।

२०१८ ः जर्मनीलाई सधैं विश्वकपको प्रमुख दाबेदार मानिन्छ । २००६ र २०१० मा तेस्रो स्थान पक्का गरेको जर्मनीले २०१४ मा अर्जेन्टिनालाई पराजित गर्दै उपाधि जितेको थियो । उपाधि रक्षाको लक्ष्यका साथ रूस भ्रमणमा निस्किएको जर्मनी पहिलो खेलमै मेक्सिकोसँग १–० ले स्तब्ध भएको थियो।

दोस्रो खेलमा स्विडेनविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै इन्जुरी समयमा हात पारेको २–१ को जितपछि जर्मनीले नकआउट चरण प्रवेश सम्भावना ब्युँताएको थियो । तर गर या मरको स्थितिमा रहेको दक्षिण कोरियाविरुद्धको खेलमा २–० को नतिजा सुम्पिएसँगै जर्मनीको रूस यात्रा पहिलो चरणमा सीमित बन्यो।

प्रकाशित: १५ असार २०७५ ०४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App