१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

आवश्यकता ओला–उबर

केही समयअघि दक्षिण भारतको तीर्थयात्रा र पर्यटन भ्रमण गर्न जाने क्रममा विमानस्थलमा परिवारसहित झरेको थिएँ। त्यहाँ होटेल पहिले नै बुक थियो तर विमानस्थलबाट ४५ किलोमिटर टाढा रहेछ। एयरपोर्टको प्रिपेड ट्याक्सीले भारु १७ सय लाग्छ भन्यो। विकल्प खोज्न दिल्लीमा पढ्दै गरेका भान्जालाई फोन गरेँ। भान्जाले अनलाइनबाट उबर ट्याक्सी बुक गरिदिएपछि हामी ५९५ भारुमा ४५ किलोमिटर टाढाको होटेल सहज तरिकाले एक घन्टामै पुग्यौँ । यसरी ट्याक्सीमा भारु ११ सय बचत भयो।

उबर, ओलाजस्ता ट्याक्सीबारे समाचारहरूमा मात्र सुने–पढेको थिएँ। यो प्रणाली यस्तो सहज होला भन्ने लागेको थिएन । विश्वका प्रमुख सहरहरूमा सञ्चालित अनलाइन ट्याक्सी सेवा अहिले सामान्य भइसकेको रहेछ।

यो गुगलको जीपीएसमा आधारित लोकेसन ट्रयाकर प्रणालीमा आधारित छ। तपाईंलाई यो सेवा सञ्चालित सहरमा ट्याक्सीले तोकिएको अनुमानित समयमा भेट्न सक्छ। लोकेसनमा पुग्न कुनै कारणले मेसो नपाएको अवस्थामा फोन गरेर लोकेसनबारे स्पष्ट पार्न सकिन्छ । अनलाइनबाट जहाँ बसेर पनि ट्याक्सी बुक गर्न सकिन्छ। कुनै एक सहरमा बसेर अर्कै सहरमा पनि ट्याक्सी बुक गर्न सकिन्छ, बुक गरेको ट्याक्सीले कताकता पु¥यायो हेर्न सकिन्छ।

नेटवर्कमा रहेका सबै ट्याक्सीको नियमित सञ्चालन ट्रयाक हुने हुँदा बुक गर्ने ग्राहकको नजिकको लोकेसनमा रहेको ट्याक्सीले थाहा पाउने र ग्राहक लिन पुग्ने गर्छ । सेवाग्राहीलाई ट्याक्सी खोज्न र लामो समय कुर्न पर्दैन। बुक गर्दा ट्याक्सी कुन स्थानमा छ, यो सेवा दिने वरिपरि कति ट्याक्सी छन्, प्रयोग गर्न चाहने व्यक्तिसम्म आउन ट्याक्सीलाई कति मिनेट समय लाग्छ, चालकको फोन, गाडी नम्बर, अनुमानित शुल्कजस्ता सूचना तत्कालै मोबाइलमा देखिन्छन्। चालकले पनि बुक गर्नेको फोन नम्बरमा आवश्यक परे फोन गर्नसक्छ।

बुक गर्दा भुक्तानी नगदमा गर्ने कि अनलाइन बैंकिङबाट गर्ने चयन गर्न सकिन्छ। यात्रा सकिएपछि आफ्नो र चालकको मोबाइलमा देखिएको तिर्नुपर्ने रकम नगदमा भुक्तान गर्न सकिन्छ । चालकले बढी पैसा माग्छ कि भन्ने चिन्ता रहन्न । चालकलाई पनि सेवाग्राहीले थोरै पैसा दिने हो कि भन्ने हुन्न। ट्याक्सी चालकसँग कुनै मोलमोलाई गर्न नपर्ने सभ्य सेवा आदानप्रदान सुनिश्चित हुन्छ । त्यस्तै, अनलाइन आधारित यस्तो ट्याक्सी सञ्चालन निरन्तर निगरानीमा हुन्छ तसर्थ, यात्रुको सुरक्षाको प्रत्याभूति हुने गर्छ। सेवा प्रयोग गर्दा दुई पक्ष अपरिचित भए पनि यस प्रणालीले परिचितजस्तो बनाउँछ।

गुगलको नक्सा प्रयोग गरी ट्याक्सीले सबभन्दा उपयुक्त, छिटो, छोटो बाटो लान्छ । चालकले जीपीएस स्क्रिन हेर्दै गाडी चलाए मात्र पुग्छ । अलग अलग सुविधासम्पन्न गाडीहरूको भाडादर पनि फरक फरक, आफ्नो अनुकूलता अनुसार हुन्छ । आवश्यकता हेरी गाडी र भाडा निर्धारण हुन्छ। ठूलो र सानो, सुविधासम्पन्न र कम सुविधाको, धेरै र थोरै सिट भएकोजस्तो गाडी चाहियो भने रोज्न सकिन्छ र रुटको दूरीअनुसार भाडा निर्धारण हुन्छ।

प्रायः ट्याक्सीमा यात्रा दौरान निःशुल्क इन्टरनेट चलाउन पनि पाइन्छ। मोबाइल एपद्वारा लिन सकिने यो सुविधामा ट्याक्सीमा गरेको यात्रा कस्तो रह्यो सोबारे सेवाको रेटिङ गर्न सकिन्छ । चालकको व्यवहार, ट्याक्सीको हालत, ट्याक्सीमा भएको कुनै असुविधाजस्ता विषयमा अंक दिन सकिन्छ।

उबर र ओला जस्ता सेवा सजिलो, सस्तो र सुरक्षित ट्याक्सी सेवा खोजको परिणाम हुन् । यो प्रणालीले अत्याधुनिक सूचना प्रविधिको प्रयोग गर्छ। मोबाइलको एक बटन ट्रयाप गरी निजी गाडीजस्तो गरी ट्याक्सीलाई बोलाएर सस्तो भाडामा गन्तव्यमा पु¥याउने यो एक नवीन खोज नै हो। ट्याक्सी चालकहरूका लागि पनि यस सेवाले राम्रो पारिश्रमिक सुनिश्चित गर्छ, त्यही माथि ग्राहकले खुसी भएर दिने टिप्स त छँदै छ।

उबर सेवा अमेरिकाको सान फ्रान्सिस्कोबाट सन् २००९ मा सुरुवात भएको हो र हाल विश्वका ७७ देशका ६६८ भन्दा बढी सहरमा सञ्चालित छ। अहिले उबरको सम्पत्ति अनुमानित ७० बिलियन डलर मानिन्छ । कुनै पनि चालक उबर व्यवस्थामा आबद्ध हुनका २१ वर्ष उमेर, एक राम्रो हालतको गाडी, व्यक्तिगत जीवन बीमा र लाइसेन्स हुनुपर्छ। निवेदन दिएर निश्चित प्रक्रिया पूरा गरेपछि चालक हुन सकिन्छ। उबर कम्पनीले चालकसँग प्रणालीमा आबद्धतास्वरूप उठेको पैसाको २० प्रतिशत लिने गर्छ। अमेरिकाका केही चालकले वर्षको ९० लाख रुपियाँसम्म उबरका ट्याक्सी चलाएर कमाएको तथ्य छ।

उबरजस्तै भारतीय ट्याक्सी सेवा ओलाले सन् २०१० देखि सेवा चलाएको हो। यसको मुख्यालय भारतको बेंलुरुमा छ र वार्षिक कारोबार १५० मिलियन डलरभन्दा बढी छ । ओला सेवामा मोटरसाइकल, अटो रिक्सा, साना कारलगायत धेरै प्रकारका गाडी आबद्ध छन् । उबरजस्तै यो सेवाले पनि भारतमा धेरै राम्रो बजार लिएको छ।

काठमाडौँमा यस्तो सेवाको प्रशस्त सम्भावना छ। हालै सुरु भएको ‘सारथि’ एपले पनि यस्तै सेवाको परिकल्पना गरेको देखिन्छ। तथापि त्यसमा सेवाप्रदायक गाडी र चालकहरूको आबद्धता ज्यादै कम छ। ‘सारथि’ले चालकहरूलाई थप आकर्षण प्रदान गर्ने, सरकारले पनि यस्तो सेवालाई प्रवद्र्धन गर्ने, लगानी प्रोत्साहित गर्ने र प्रभावकारी विज्ञापन गर्ने हो भने यस सेवाले नेपालमा राम्रो सेवा दिनसक्छ। अहिले तत्कालै लोकल सेवा प्रदायकले भरपर्दो सेवा दिन सक्ने नदेखिएमा पनि सरकारले उबर वा ओला कम्पनीलाई काठमाडौँलगायत देशका ठूला सहरमा विस्तार गर्न आग्रह गर्न सक्छ र स्वदेशमा रोजगारीका सम्भावना नपाएर वैदेशिक रोजगारीका लागि जान बाध्य केही नेपाली युवालाई नेपालमा नै कार्य गर्ने मौका दिन सक्छ।

प्रकाशित: १५ असार २०७५ ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App