१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उदयपुरमा बलात्कारका घटना बढ्दो

नागरिकको घरमा प्रहरी सम्पर्कका लागि स्टीकर टाँस्दै सिडिओ कार्की र एसपी भट्ट । तस्विरः महेश्वर

उदयपुर – उदयपुरमा पछिल्लो समय बलात्कार तथा जबरजस्ती करणीका घट्ना बढ्दै गएको तथ्यांकले देखाएको छ।

 विगत ३ वर्षको आँकडालाई तुलना गर्दा पछिल्लो वर्ष जिल्लामा बलात्कारको घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्यांकले देखाएको छ । ३ आर्थिक वर्षको तुलनामा चालु वर्ष बलात्कार र जबरजस्तीका घटनामा वृद्धि भएको प्रहरी कार्यालयको अभिलेखमा उल्लेख छ ।

जिल्ला प्रहरीको महिला तथा बालिबालिका सेवा केन्द्र (सेल) ले जनाए अनुसार चालु वर्ष अघिल्ला वर्षभन्दा बढी जबरजस्तीका मुद्धा दर्ता भएका छन् । महिला सेल प्रमुख असई उमा गुरुङले अन्य सामाजिक विसंगतिका घटनासँगै बलात्कारका घटनमा पनि वृद्धि भएको बताईन्।

गाईघाटमा आयोजित एक कार्यक्रममा प्रहरीले प्रस्तुत गरेको विवरण अनुसार आर्थिक वर्ष २०७२ - ७३ र ०७३-७४ माभन्दा चालु वर्ष घट्ना संख्या बढेको छ । चालु आर्थिक वर्ष ४० वटा बलात्कारका घटनाविरुद्ध कार्यालयमा मुद्धा चलेको गुरुङले बताईन् । उनका अनुसार गत वर्ष २७ वटा मात्र यस्ता घटनाविरुद्ध मुद्धा परेको थियो । ०७२÷७३ मा बलात्कार मुद्धा संख्या ३२ वटा थियो । तर, २०७४ मा बढेर ४० वटा पुगेपछि यसलाई प्रहरीले मुख्य समस्याको रुपमा देखा परेको जनाएको छ ।

त्यसको नियन्त्रणका लागि सरोकारवाला पक्ष एकमत हुन सबै सरोकारवाला पक्षलाई प्रहरीले आव्हान गरेको छ । बलात्कारका घटना न्यूनीकरण गर्न कानुनी उपचारको जत्ति खाँचो छ, त्यो भन्दा बढी सामाजिक उपचारको खाँचो हुने कुरामा पनि सरोकारवाला पक्ष सहमत देखिए । सामाजिक जनचेतना अभाव र सजायको व्यवस्थाबारे जानकारी नहुनु यस्ता घटना हुनुको मुख्य कारण भएको निश्कर्ष निकाल्दै सरोकारवालाहरुले त्यसप्रति सचेतना कार्यक्रम चलाउन आवश्यक्ता महसुस गरेका छन् ।

जिल्ला समन्वय समिति उपप्रमुख गंगा राईले घटनालाई प्रभाव र दबाबमा लुकाउने, छिपाउने र मिलाउने गरिएका कारण यस्तो हुन गएको बताईन् । उनले २१ औं शताब्दीमा पनि महिलाहरू बलात्कार र जबरजस्ती करणीको सिकार भएर पीडित भएको सुन्नुपर्दा नेपाली समाज अझै कति पछि छ भन्ने कुरा प्रमाणित हुन गएकोे बताईन् । यस्ता आपराधिक र असामाजिक दुव्र्यवहार अन्त्य गर्न स्थानीय, प्रदेश र केन्द्र ३ वटै सरकारले प्रतिबद्धता जनाउदै दोषी माथि कडा कारबाही अघि बढाउनुपर्ने उपप्रमुख राईको भनाई थियो।

प्रहरी प्रमुख एसपी नवराज भट्टले सामाजिक सचेतनाकै अभावमा यस्ता जघन्य अपराधका घटना हुने गरेको र कतिपय घटना समाजले लुकाएर राख्ने गर्दा झन् बढ्दै गएको बताए ।कार्यक्रममा महिला तथा बालबालिका कार्यालय प्रमुख निर्मला कार्कीले महिला हिंसाका  घटना हुन नदिन सबै पक्ष जिम्मेबार र सचेत हुनुपर्ने भन्दै सामाजिक मेलमिलाप र फितलो कानुनी कारबाहीले घट्ना बढ्ने गरेको बताईन् ।

 

प्रकाशित: १४ असार २०७५ ०६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App