१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लगानीकर्ताले दुई महिनामै गुमाए पौने तीन खर्ब

काठमाडौं - सेयर बजार निरन्तर ओरालो लाग्दै गएपछि लगानीकर्ताले दुई महिनामै दुई खर्ब ७३ अर्ब गुमाएका छन् । वैशाख ९ गते १६ खर्ब ८६ अर्ब ७९ करोड रहेको बजार पुँजीकरण घटेर मंगलबार (हिजो) हुँदा १४ खर्ब १२ अर्ब ९६ करोड रुपैयाँमा आइपुगेको छ।

यसको अर्थ यो दुई महिनाको अवधिमा लगानीकर्ताले दुई खर्ब ७३ अर्ब ८३ करोड रुपैयाँ गुमाएको हुन्छ ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि यस अवधिमा दुई सय ४३ बिन्दुले घटेको छ । वैशाख ९ गते १४३८.४९ बिन्दुमा रहेको नेप्से घटेर ११९४.८० मा आइपुगेको छ ।

२०७३ साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से ओरालो लाग्दै १२ सयभन्दा तल आइपुगेको छ । समग्रमा पुँजी बजार ३३ प्रतिशतले घटेको छ ।बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अभाव, सेयर धितोको कर्जामा उच्च ब्याज, चालु आर्थिक वर्षको अन्त्यमा मार्जिन कल, आइपिओ, एफपिओ र हकप्रद सेयर निष्कासन लगायत कारण दोस्रो बजारमा सेयर मूल्य घटेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले मंगलबार नागरिकलाई बताए ।

‘नेप्से घट्नुका थुप्रै कारण छन्,’ उनले भने, ‘कसैले प्रभाव (म्यानुपुलेट) ले बजार घटेको होइन ।’ सेयर बजारलाई तलमाथि पार्ने काम सीमित व्यक्तिले गरेका भए लगानीकर्तालाई सचेत पार्ने काम बोर्डले गथ्र्यो तर, अहिले त्यस्तो देखिँदैन ।’निरन्तर सेयर बजार ओरालो लाग्दै आए पनि सरकार भने कानमा तेल हालेर बसेको आरोप सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालको छ ।

‘सरकारले पुँजी बजारलाई मात्र होइन आर्थिक क्षेत्रलाई नै तहसनहस पार्ने काम गरेको छ,’ उनले भने, ‘भन्सार दर बढाउने, घरजग्गा व्यवसायीको सम्पत्ति छानबिन गर्ने, चिनी उद्योगीलाई नियन्त्रणमा लिने जस्ता कामले लगानीकर्तालाई हतोत्साहित गरेको छ ।’ समग्र उद्योगी, व्यवसायी हतोत्साहित भएका बेला सेयर बजार उत्साहित हुनुपर्ने कारण नभएको उनको भनाइ छ ।दैनिक ७० करोडभन्दा बढी कारोबार हुने गरेको सेयर बजार अहिले १८–२० कारोडमा सीमित हुन पुगेको छ । नेप्से घटेसँगै कारोबार रकममा पनि कमी आएको छ ।

सेयर बजारलाई मुलुकको अर्थतन्त्रको ऐनाको रुपमा हेरिने गरिन्छ । तर, सरकारले भने सेयर आपूर्ति बढी भएकाले बजार घट्न पुगेको तर्क गरिरहेको आरोप लगानीकर्ताले लगाएका छन् ।लगानीकर्ताले सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७५-७६ को बजेटमा बजार सुधारका नयाँ कार्यक्रम आउने आस राखेका थिए । तर, बजेटमा सुधारका कार्यक्रम आएन । यसैगरी, नेपाल राष्ट्र बैंकले पनि आगामी वर्षको मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । मौद्रिक नीतिमा पनि खासै नयाँ कार्यक्रम नआउने देखिएपछि लगानीकर्ता निराश हुँदा बजार निरन्तर ओरालो लागेको ब्रोकरको भनाइ छ ।

युवराज खतिवडाले अर्थमन्त्री नियुक्ति भएलगतै सेयर बजार घट्नु स्वाभाविक प्रक्रिया भएको बताएका थिए । त्यसयता नेप्से ओरालो लाग्ने क्रम निरन्तर छ ।नयाँ सरकार आएपछि बजार सुधारका नयाँ कार्यक्रम आउने आस लगानीकर्ताको थियो । तर, त्यसको ठिक विपरीत भएपछि बजार ओरालो लाग्दै आएको अर्यालले बताए ।

‘लगानीकर्ता कुनै दल विशेषका हुँदैनन् तर, अहिलेको बजार कम्युनिस्टको सिद्धान्तले खायो,’ उनले भने, ‘संविधानले मौलिक हकभित्र राखेका काम गर्दा पनि आतंक फैलाउनुले देश आर्थिक मन्दीतिर जाने हो कि भन्ने चिन्ता बढेको छ ।’‘केपी ओली नेतृत्वमा अल्पमतको सरकार हुँदा सेयर बजार इतिहासकै उच्च बिन्दुमा पुगेको थियो,’ एक लगानीकर्ताले भने, ‘अहिले उनै ओलीको बहुमतको सरकार हुँदा बजार घटेर न्यून बिन्दुमा आएको छ।’

सेयर धितो राखेर लिएको कर्जाको ब्याजदर बढेका कारणले पनि सेयर बजार ओरालो लागेको स्टक ब्रोकरको भनाइ छ । ‘सेयर धितो राखेर लिइने कर्जाको ब्याजदर बढेका कारण सेयर बजार ओरालो लागेको हो,’ एक ब्रोकरले भने, ‘अहिले सेयर बजार निरन्तर घट्नुको प्रमुख कारण नै ब्याजदरमा भएको भारी वृद्धिलाई मानिएको छ ।’ बैंकमा लगानी गर्न आवश्यक रकम (तरलता) को कमी हुँदा ब्याज बढ्ने गर्छ ।

ब्याजदर र सेयर बजार एकअर्कासँग सम्बन्धित हुने गरेको एक विश्लेषकले बताए । ब्याजदर बढ्दा सेयरको मूल्य घट्ने गर्छ, ब्याजदर घट्दा बढ्छ । घटी ब्याजमा ऋण पाउँदा लगानीकर्ताले बैंकबाट पैसा लिएर सेयरमा लगानी गर्छन् । चर्को ब्याजको पैसा लिएर लगानी गर्दा घाटा हुने ठानेर लगानीकर्ता हच्किन्छन् ।

यसअघि ब्याजदर कम थियो । सेयरको भाउ पनि बढेको थियो । अहिले ब्याजदर बढेसँगै सेयर मूल्यमा शिथिलता आएको छ ।‘आइपिओ, एफपिओ र हकप्रद सेयर भर्नका लागि सेयर बिक्री गर्ने प्रवृत्ति देखिएकाले पनि सेयर बजार घट्न पुगेको हो,’ एक ब्रोकरले भने, ‘यसले पनि बजार घटाउन मद्दत गरेको हो ।’

बजार निरन्तर ओरालो लागेपछि अत्तालिएर साना लगानीकर्ताले सेयर बिक्री गर्न थालेका छन् । बिक्रीमा चाप पर्दा बजार ओरालो लागेको ब्रोकरको भनाइ छ ।बैंकको चर्को ब्याज, मार्जिन कलको त्रासले पनि लगानीकर्तालाई बढी चिन्तित बनाएको छ । सरकारको बोनस र हकप्रद सेयर किनबेच हुँदा अंकित मूल्यभन्दा बढी रकममा पुँजीगत लाभकर लिने व्यवस्थाका बारेमा स्पष्ट धारणा नआइसकेकाले पनि लगानीकर्ता हतोत्साहित हुन पुगेका हुन् । यसले पनि समग्र लगानीकर्तालाई अन्योलमा पारेको छ ।

प्रकाशित: १३ असार २०७५ ०१:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App