१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पर्यटकीय क्षेत्रबारे जानकारी दिन ‘डिजिटल डिस्प्ले बोर्ड’

रसुवाको सदरमुकाम धुन्चेमा राखिएको ‘डिजिटल डिस्प्ले बोर्ड’ । तस्बिर : नागरिक

रसुवा - रसुवाको स्थानीय तह र पर्यटकीय क्षेत्रबारे जानकारी दिन ‘डिजिटल डिस्प्ले बोर्ड’ सञ्चालनमा ल्याइएको छ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने, सरकारी कार्यालयले प्रवाह गर्ने सेवाबारे जानकारी दिने र जिल्लाको गोसाइकुण्ड गाउँपालिकाले प्रदान गर्ने सेवाको जानकारी दिनका लागि बोर्ड सञ्चालनमा ल्याइएको हो ।पर्यटन प्रवर्द्धन गर्नुका साथै सार्वजनिक निकायले प्रदान गर्ने सेवा र राष्ट्रिय महत्वका कार्यक्रम तथा कार्यक्रमबारे स्थानीयलाई जानकारी दिनका बोर्ड सञ्चालन गरिएको गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए।

‘स्थानीय तहले प्रवाह गर्ने सेवाबारे सबै नागरिकले कार्यालयमा पुगेर जानकारी लिन सक्दैन,’ अध्यक्ष तामाङले भने, ‘हामीले डिजिटल बोर्डमा राखेपछि सबै नागरिकले सेवाबारे जानकारी लिन सक्छन् ।’ यसमा गाउँपालिकाको ६ वटै वडाको जानकारी समेटिने उनले बताए ।जिल्लाका सबै सूचना समावेश गर्ने जानकारी दिँदै उनले संघीय सरकार र प्रदेश ३ ले गर्ने महत्वपूर्ण निर्णय समेट्ने बताए । ‘नागरिकको हितका लागि गरिने निर्णय जनताले जान्न पाउनुपर्छ,’ उनले भने, ‘यसका लागि हामीले नयाँ योजना बनाएका छौं।’

लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलबारे जानकारी बोर्डमा समेटिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए ।‘निकुञ्जभित्र दुर्लभ वन्यजन्तु रेडपाण्डादेखि लाङटाङ हिमालसम्म रहेको छ,’ प्रमुख संरक्षण अधिकृत रेग्मीले भने, ‘यसबारे आवश्यक जानकारी दिनका लागि बोर्डको सुरुवात गरिएको हो ।’ बोर्डमा १० मिनेटसम्मको डकुमेन्ट्री समेत समावेश गरिने उनले बताए।

बोर्ड स्थापनाका लागि गोसाइँकुण्ड गाउँपालिका, लाङटाङ राष्ट्रिय निकुञ्ज र लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजनाको आर्थिक सहयोग रहेको छ । चार लाख ५० हजारको लागतमा बोर्ड स्थापना गरिएको हो ।रसुवाको सदरमुकाम धुन्चेमा सोनीको ६५ इन्चको बोर्ड राखिएको बताइएको छ । निजी क्षेत्रले बोर्डबाट विज्ञापन गर्न चाहेमा शुल्क तिर्नुपर्ने गाउँपालिकाले जनाएको छ । सरकारी निकायले प्रदान गर्ने सेवा सुविधाबारे जानकारी दिनका लागि कुनै पनि शुल्क तिर्नु नपर्ने बताइएको छ।
 

 

प्रकाशित: १३ असार २०७५ ०१:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App