१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मेक्सिकोलाई बराबरी पर्याप्त

इकाटेरिनबर्ग – रूस विश्वकपमा ७ टोलीले समूहका सुरुआती दुई खेल जितेका छन् । जसमध्ये ६ टोलीले अन्तिम १६ मा स्थान पक्का गरिसकेका छन् । तर मेक्सिकोले भने लगातार दुई खेल जिते पनि अघिल्लो चरणको यात्रा पक्का भएकोमा ढुक्क हुन सकेको छैन।

लगातार साताैं पटक विश्वकपको नकआउट चरणमा प्रवेश गर्न मेक्सिकोलाई बुधबार समूह ‘एफ’अन्तर्गत स्विडेनविरुद्ध हुने अन्तिम खेलमा मात्र एक अंक आवश्यक छ ।

पहिलो खेलमा साबिक विजेता जर्मनीलाई १–० ले स्तब्ध पारेको मेक्सिकोले दोस्रो खेलमा दक्षिण कोरियाको चुनौती २–१ को नतिजामा समाप्त पारेको थियो । तर पनि दुई जित मेक्सिकोका लागि अन्तिम १६ मा स्थान पक्का गर्न पर्याप्त बन्न सकेन।

बुधबार मेक्सिकोले स्विडेनलाई नतिजा सुम्पिए र अर्को खेलमा जर्मनीले दक्षिण कोरियालाई पराजित गरे मेक्सिको, स्विडेन र जर्मनीको समान ६ अंक हुनेछ । यस्तो अवस्थानमा अन्तिम १६ प्रवेश गर्ने दुई टोलीको टुंगो गोलअन्तरका आधारमा लाग्नेछ । गोलअन्तर पनि बराबर भए बढी गोल गरेको टोली अघिल्लो चरणलाई छानिन्छ । त्यो पनि बराबर भए कम रातो–पहेंलो कार्ड सामना गर्ने टिम नकआउट चरण पुग्नेछ । त्यहाँ पनि बराबरी भए चाहिँ लक्की ‘ड्र’ बाट भाग्यशाली टोली छानिनेछ।

समूहमा ६ अंक जोडेको मेक्सिको शीर्ष स्थानमा छ । समान तीन अंक जोडेको स्विडेन र जर्मनी दोस्रो र तेस्रो स्थानमा छन् । अंकविहीन दक्षिण कोरिया अन्तिम स्थानमा छ।

‘हामीलाई शीर्ष स्थानमा बस्दै अघिल्लो चरण प्रवेशका लागि एक अंक मात्र पनि पर्याप्त हुनेछ,’ मेक्सिकोका गोलकिपर गुलेर्माे ओचोआले भने, ‘तर हामी एक अंकका लागि भन्दा पनि जितको लयलाई निरन्तरता दिँदै स्पष्ट तीन अंक जोड्न चाहन्छाैं । त्यसले हाम्रो यात्रा पक्का गर्नेछ । हामी यो अवस्थामा कुनै जोखिम मोल्न चाहन्नौं ।’ स्विडेनलाई अघिल्लो चरणमा स्थान पक्का गर्न मेक्सिकोलाई पराजित गर्नुको विकल्प छैन।

पहिलो खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको स्विडेनका दोस्र्रो खेलमा जर्मनीलाई २–१ को नतिजा सुम्पिएको थियो । मेक्सिकोसँग बराबरी खेलेमा स्विडेनले अघिल्लो चरण प्रवेशका लागि अर्को खेलमा दक्षिण कोरियाले जर्मनीलाई पराजित गरेको देख्न पाउनुपर्नेछ।

 

प्रकाशित: १३ असार २०७५ १२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App