१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मेसीलाई प्रमाणित गर्ने अवसर

सेन्ट पिट्सबर्ग – लियोनल मेसीले आफूलाई प्रमाणित गर्ने समय आएको छ । विश्वकपमा गोल गर्दै अर्जेन्टिनाको निराशाजनक प्रदर्शन भुलाएर टोलीलाई नकआउट चरणमा पुर्याउने र विश्वकै उत्कृष्ट स्ट्राइकर भए पनि सधैं प्रमुख प्रतियोगितामा स्तरअनुसार प्रदर्शन गर्न नसकेको भन्दै हुने आलोचनालाई गलत साबित गर्ने।

आइतबार ३१औं जन्मदिन परे पनि मेसीले जन्मदिन मनाएनन् । उनी मंगलबार नाइजेरियाविरुद्धको खेलमा जित हात पार्दै आफ्नो क्षमता प्रमाणित गर्न चाहन्छन् । अर्जेन्टिनामाथि विजयी नतिजा हात पारे नाइजेरिया अन्तिम १६ मा प्रवेश गर्नेछ । बराबरीको नतिजाले पनि नाइजेरियाका लागि अघिल्लो चरण प्रवेशको ढोका खोल्नेछ । तर त्यसका लागि समुहकै अर्कोे खेलमा क्रोएसियाले आइसल्यान्डलाई पराजित गर्नुपर्नेछ । आइसल्यान्डको पक्षमा नतिजा आएमा नाइजेरियाले गोलअन्तरमा निर्भर हुनुपर्नेछ ।

समूह ‘डी’ मा ६ अंक जोडेको क्रोएसिया नकआउट चरणमा प्रवेश गरिसकेको छ । ३ अंकका साथ नाइजेरिया दोस्रो स्थानमा छ । समान १ अंक जोडेको आइसल्यान्ड तेस्रो र अर्जेन्टिना चौथो स्थानमा छन् । विश्वकपमा सहभागी अन्य टोलीका चर्चित खेलाडीले गोल गर्दै प्रतियोगिामा आफ्नो उपस्थिति देखाइसेका छन् । मेसीले भने रूस विश्वकपमा बललाई जाली चुमाउन सकेका छैनन् । उनी पहिलो खेलमा आइसल्यान्डविरुद्ध पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

इङ्ल्यान्डका कप्तान ह्यारी केन ५ गोलका साथ उच्च गोलकर्ताको सूचीको अग्रस्थानमा छन् । मेसीका चिर प्रतिद्वन्द्वी पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पनि प्रतियोगितामा ४ गोल गरिसकेका छन् । जारी प्रतियोगितामा रोनाल्डो पोर्चुगलका एक्ला खेलाडी हुन् । त्यस्तै ब्राजिलका स्ट्राइकर नेइमार, बेल्जियमका रोमेलु लुकाकु र जर्मनीका टोनी क्रुजले पनि रूस विश्वकपमा बललाई जाली चुमाइसकेका छन् ।

बार्सिलोनाका लागि धेरै उपाधि जिताइसकेका मेसीले अर्जेन्टिनाका लागि भने कुनै अन्तर्राष्ट्रिय उपाधि जित्न सकेका छैनन् । सन् २०१४ को विश्वकप तथा २०१५ र २०१६ गरी लगातार दुई पटक टोलीलाई कोपा आमेरिकाको फाइनलसम्म डो¥याए पनि उपाधि भने जिताउन सकेनन् । विश्वकपम फाइनलमा जर्मनीसँग स्तब्ध भएको अर्जेन्टिना कोपा अमेरिकामा दुवै पटक चिलीसँग पराजित भएको थियो । रूस विश्वकपको समूहचरणबाटै स्वदेश फर्कनु मेसीको अन्तर्राष्ट्रिय उपाधिको खडेरी तोड्ने लक्ष्यमा पूर्णविराम लाग्नु सरह हो ।

२०१६ को कोपा अमेरिकाको फाइनलमा चिलीलाई नतिजा सुम्पिएसँगै मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका थिए । तर अर्जेन्टिनी फुटबल संघ र समर्थकको आग्रहपछि उनले संन्यास फिर्ता लिए । मेसीले अन्तिम छनोट खेलमा इक्वेडरविरुद्ध गरेको ह्याट्रिकमा अर्जेन्टिनाले रूस विश्वकपको टिकट काटेको थियो ।

पहिलो खेलमा आइसल्यान्डसँग बराबरी खेलेको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग ३–० ले पराजित भएको थियो । दुवै खेलमा सोचेअनुरूप नतिजा ल्याउन नसकेपछि अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पोलीलाई मंगलबार चर्को दबाब हुनेछ । २०२२ को कतार विश्वकपसम्म टोली प्रशिक्षणको सम्झौता भए पनि जारी प्रतियोगिताको समूहचरणबाटै घर फर्किए उनको सम्झौता केही दिनमै तोडिने सम्भावना पनि बढेको छ ।

यता पहिलो खेलमा क्रोएसियासँग पराजित भएको नाइजेरियाले दोस्रो खेलमा आइसल्यान्डलाई २–० ले पराजित गर्दैै विश्वकप अघिल्लो चरण प्रवेशको सम्भावना बलियो पारेको थियो । प्रतियोगिताको पहिलो दुई खेलमा क्रमशः नाइजेरिया र अर्जेन्टिनालाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको क्रोएसिया मंगलबार समूह ‘डी’ को अर्को खेलमा आइसल्यान्डविरुद्ध पनि जितको लयलाई निरन्तरता दिन चाहन्छ ।

यता पहिलो खेलमा अर्जेन्टिनाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै १–१ को बराबरी खेलेको आइसल्यान्डले दोस्रो खेलमा नाइजेरियासँग पराजित भएको आइसल्यान्डलाई अघिल्लो चरण प्रवेशको गणितीय सम्भावना कायम राख्न क्रोएसियाविरुद्ध जितको विकल्प छैन । तर त्यसका लागि आइसल्यान्डले अर्जेन्टिना र नाइजेरियाबीचको खेलको बराबरीमा रोकिएको कामना गर्नुपर्नेछ । नाइजेरियाले अर्जेन्टिनालाई पराजित गरेमा क्रोएसियासँगको जित पनि आइसल्यान्डलाई अघिल्लो चरण प्रवेशका लागि पर्याप्त बन्ने छैन ।

प्रकाशित: ११ असार २०७५ २२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App