१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

अझै उठेनन् दर्जनाैं सम्पदा

सम्पदाको राजधानी भनेर चिनिन्छ उपत्यकालाई । तर, २०७२ बैशाखमा आएको भूकम्पले क्षति पुगेका सम्पदाको भने पुनर्निर्माण गर्न सकिएको छैन्।

भूकम्प गएको तीन वर्ष नाघ्दा समेत सम्पदाको राजधानीकै सम्पदाको बेहाल छ । भूकम्पले देशभरमा ७ सय ५३ मा क्षति पुर्यायो । यीमध्ये अहिलेसम्म २० प्रतिशत सम्पदाको समेत पुनर्निर्माण हुन सकेको छैन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा हालसम्म १ सय ६ वटा सम्पदा मात्रै पुनर्निर्माण भएको तथ्यांक छ।

भूकम्पले ढालेका सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको पुनर्निर्माण पाँच वर्षभित्र गरिसक्ने लक्ष्य भूकम्प लगातै पुरातत्व विभागले राखेको सम्पदा पुनर्निर्माणको जिम्मा लिएको थियो । तीन वर्ष पुग्दा पनि विभाग आधाको आधा सम्पदा समेत उठाउन सकेको छैन् । अझ अर्को कुरा त कतिपय सम्पदाको पुनर्निर्माणै टुंगो लागेको छैन् । तथ्यांकनुसार १ सय ६ सम्पदाको पुनर्निर्माण सम्पन्न भयो । ३ सय ३० वटा सम्पदाको पुनर्निर्माण हुँदैछ । ३ सय २३ सम्पदाको भने पुनर्निर्माण शुरुवात भएको छैन्।

भूकम्पले ढालेका सम्पदा उपत्यकामा बढी छन् । उपत्यकामा ४ सय ६० वटा सम्पदामा क्षती पुगेको थियो । ती मध्ये ८२ वटा सम्पदाको मात्रै पुनर्निर्माण सकिएको छ । बाँकी सम्पदा भने कतिपय पुनर्निर्माणको चरणमा छन् । कतिपय सम्पदाचाँही पुनर्निर्माण शुरु नै भएको छैन् । पुनर्निर्माण शुरु नहुनेमा काष्ठमण्डप देखि धरहरा जस्ता महत्वपूर्ण सम्पदा रहेका छन्।

विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार सम्पदा पुनर्निर्माण झन्झटिलो भएकै कारण गति सुस्त भएको बताउँछन् । ‘सम्पदाको पुनर्निर्माण नागरिकको घर बनाएको जस्तो हुँदैन्,’ उनले भने, ‘पुरातात्विक र ऐतिहासिक महत्वलाई ख्याल गर्दा धेरै खालका कठिनाइले गर्दा सोचे अनुरुप सम्पदा पुननिर्माण गर्न सकिएको छैन्।’

उनका अनुसार अब धेरै चाँजोपाजो मिलेकाले सम्पदा पुनर्निर्माणले गति तिव्रता हुनेछ । पुनर्निर्माण सम्पन्न भएका सम्पदाको संख्या थोरै भएपनि पुनर्निर्माणको क्रममा रहेका सम्पदा धेरै छन् । अधिकांश सम्पदा पुनर्निर्माणको अन्तिम चरणमा पुगेकाले भूकम्पअघिकै अवस्थामा फर्काइएका सम्पदाको संख्या दिनप्रति दिन बढ्दो रहेको उनको भनाई छ।

पुरातत्व विभाग मात्रै नभएर सम्पदा नागरिक तहबाट पनि बन्ने क्रममा रहेका छन् । पाँचौँ शताब्दीको मानिने बौद्धनाथ स्तुप पनि भूकम्पले क्षती पुराएको थियो । स्थानीय मिलेरै यो सम्पदा २०७२ सालमै पुनर्निार्मण सम्पन्न गरे । भूकम्प गएको ८ महिनामै बौद्धनाथलाई पुरानै स्वरूपमा फर्काइएको थियो । यो सम्पदा भूकम्पपछि पुनर्निर्माण हुने पहिलो सम्पदा समेत हो । बौद्धनाथको पुनर्निर्माणमा ३१ किलो सुन लागेको थियो । स्थानीयको अगुवाइ र विभागको निगरानीमा भएको पुननिर्माणको लागत झन्डै २३ करोड रुपियाँ लाग्यो।

भक्तपुरमा पनि स्थानीयले नेतृत्व लिएर सम्पदा पुनर्निर्माणलाई गति दिइयो । भक्तपुर दरवार क्षेत्रका रामेश्वर मन्दिर, दुईमाजु र बद्रीनारायणको पुननिर्माणले पूर्णता पाएको छ ।कतिपय ऐतिहासिक सम्पदा भने भूकम्पले ढालेकै अवस्थामा छन् । त्यसको नमुना हेर्न काठमाडौंको बसन्तपुर गए पुग्छ । सम्पदाविद्ध साफल्य अमात्य भने पुनर्निर्माणको तरिका नमिल्दा सम्पदाको अवस्था फेरिन नसकेको अनुमान लगाउँछन्।

‘सम्पदा पुनर्निर्माण गर्दा संख्या होइन्, गुणस्तर हेर्नपर्छ,’ सम्पदाविद्ध अमात्यले भने, ‘गुणस्तरियै बनाएर धेरै सम्पदा बनाउन सक्नुपर्ने हो तीन वर्षमा तर भएको छैन् ।’ सम्पदा ठेक्का दिन नमिल्ने भएपनि स्थानीयको सहभागिता विना ठेकेदारलाई जिम्मा लगाएको कारण एकतिर ढिलाई भएको छ भने अर्कोतिर सम्पदाको मौलिकता कायम नभएको उनले बताए ।

सम्पदा पुनर्निर्माणमा विभाग मात्रै नभएर प्राधिकरणको पनि दोष छ । राजनीतिक व्यक्तिहरुले सम्पदालाई बुझ्न नसकेको अमात्यको दाबी छ ।यता प्राधिकरणका सम्पदा पुनर्निर्माण हेरिरहेका राजुमान मानन्धर भने विभागले कामै नगरेकाले सम्पदा पुनर्निर्माण सोचेअनुरुप बढ्न नसकेको बताउँछन् ।

‘पुरातत्व विभाग दुई जना इन्जिनियर राखेर टालटुले काम गर्दै आएको निकाय रहेछ,’ मानन्धरले भने, ‘यती धेरै सम्पदा एकै पटकमा पुनर्निर्माण गराउनु पर्दा विभागलाई महाभारत भएर ढिलो भएको हो ।’ सम्पदा पुनर्निर्माणको अनुभव नहुँदा गाह्रो भएको उनेको अनुमान छ ।सम्पदा पुनर्निर्माणको जिम्मा प्राधिकरणले विभागलाई दिएको छ । आवश्यक बजेट प्राधिकरणले दिने र विभागले सम्पदाको पुनर्निर्माण गर्ने सम्झौता भएको छ । त्यसैले सम्पदा पुनर्निर्माण ढिलाई हुनुमा प्राधिकरणको दोष नभएर विभागकै कमजारी रहेको दाबी मानन्धरको छ।

‘सबै जिम्मेवारी र आवश्यक बजेट उपलब्ध गराउँदा पनि विभागले ढिलो गरेकोमा हामी पनि चिन्तित छौं,’ उनले भने, ‘ढिला किन भयो र यसको विकल्प के हुन्छ भनेर हामी खोजिरहेका छौं ।’ त्यसको लागि प्राधिकरणले विभागसँग ७ सय ५३ वटै सम्पदाको स्ट्याटस मगाएको उनले बताए । तरपनि विभागले त्यसको कुनै जानकारी उपलब्ध गराउन सकेको छैन । विभागले सबै सम्पदाको जानकारी उपलब्ध गराएपछि कसरी अगाडि बढ्ने तथा अबको विकल्प के हुने भनेर छलफल गरिनेका प्राधिकणको लक्ष्य छ।

विभागले गर्दा अहिले भूकम्पपछि भत्किएका सम्पदाको पुननिर्माण सुस्त, सम्पदाको मौलिकता कायम गराउन नसक्नु जस्ता कारणले पनि विकल्प खोजिनुपर्ने बुझाई प्राधिकरणको छ । स्थानीय तह, विभाग, पुरातत्वविद्ध र  स्थानीय अगुवाबीच समन्वयको सट्टा प्रतिशोध मौलाएको हुँदा प्राधिकरण सोच्न बाध्य भएको उनले बताए।

यता विभागका महानिर्देशक दाहाल समपदा पुनर्निर्माणको गतिलाई सुस्त मानिन नहुने बताउँछन् । ‘सम्पदा पुनर्निर्माण इतिहास कायम गराउने कुरा हो,’ उनले भने, ‘इतिहास जस्तो कुरालाई हतारिएर काम गर्दा विग्रियो भने त्यसको अर्थ रहँदैन् ।’ काष्ठमण्डपकै अध्ययनमा दुई वर्ष गएको भन्दै सम्पदा पुनर्निर्माण गर्दा लामो सयम अधययन अनुसन्धन जाने गरेको  उनले बताए । अर्कोतिर, पुरातात्विक सम्पदा पुनर्निर्माणमा जनशक्ति नहुँदा पनि समस्या हुने गरेको विभागको भनाई छ ।

‘पुरातात्विक सम्पदा पुनर्निर्माणमा दक्ष कालीगढदेखि मौलिक कलाकृत्री, काठ, माटो, इँटाजस्ता निर्माण सामग्री जुटाउन मुस्किल पर्छ,’ विभागका महानिर्देशक दाहालले भने, ‘जटिलता धेरै भएपछि समय लाग्नु स्वभाविक हो ।’ अहिले भइरहेको गतिलाई ढिला मानिन नहुने दाबी उनको छ । विभाग सक्दो चाँडो सम्पदा पुनर्निर्माण गर्ने कुरामा कटिबद्ध रहेको दाहालले दाबी गरे । अर्को वर्षसम्म ७५ प्रतिशत सम्पदाको पुनर्निर्माण सक्ने विभागको लक्ष्य छ । त्यसको लागि भने प्राधिकरणदेखि सबै सरोकारवाला निकायको सहयोग आवश्यक रहने दाहालले जनाए ।  
 

प्रकाशित: ११ असार २०७५ ०२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App