१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

वीरगन्ज महानगरको नगरसभा बहुमतले बहिस्कार

वीरगन्ज महानगरपालिकाको नगर सभाबाहिर प्रदर्शन गर्दै सभा सदस्य । तस्बिर : रितेश-नागरिक

वीरगन्ज - वीरगन्ज महानगरपालिकाको आइतबार राखिएको नगर परिषद् बहुसंख्यक परिषद सदस्यले बहिस्कार गरेका छन्।

आगामी आव ०७५-७६ को बजेट र नीति तथा कार्यक्रममा छलफल गरी पारित गर्ने उद्देश्यले राखिएको नगरसभाका एक सय ३३ मध्ये एक सय २० जनाले बहिस्कार गरेको विरोध कार्यक्रमका संयोजक जतन राउत कुर्मीले बताए।

वीरगन्जको नगरसभा गृहभित्र उद्घाटनको औपचारिक कार्यक्रम भइरहँदा बहिस्कार गर्नेहरु बाहिर टेन्ट लगाएर विरोध जनाइरहेका थिए । उनीहरुले नगर सभागृह अगाडि वीरगन्जका नगरप्रमुख विजय सरावगीविरुद्ध नाराबाजी समेत गरे।

प्रमुख र उपप्रमुख, वडाध्यक्ष, प्रत्येक वडाबाट निर्वाचित दुईजना महिलासहित चारजना सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट नगरसभाले निर्वाचित गरेका तीनजना सदस्यको नगर सभा हुने स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले व्यवस्था गरेको छ ।

सोही ऐनअनुसार राखिएको नगरसभाले आगामी आवका लागि बजेट र नीति तथा कार्यक्रम पारित गरेपछि सोहीअनुसार फाँटवारी बजेट बन्ने हो । वीरगन्जमा भने यो प्रक्रिया विवादित बनेको छ।

‘नगर प्रमुख सरावगीको प्रवृति तानाशाही देखिएको छ, अहिलेसम्म सबै काम मनोमानी ढंगले गर्दै आएका छन्,’ वडा नम्बर २१ का प्रतिनिधि रहेका कुर्मीले भने, ‘विकास निर्माणका योजना बनाउँदा हामीसँग कुनै सरसल्लाह गरिएको छैन, नीति तथा कार्यक्रम बनाउँदा वडाहरुबाट हाम्रो राय संकलन गर्ने काम भएको छैन ।’यसअघि नगर सभाका सदस्य हुने वडा सदस्यले सामूहिक रुपमा नगर प्रमुख सरावगीसमक्ष आफ्ना माग राखेका थिए । त्यसमा उनीहरुको तलब, भत्ता र अन्य सुविधाको विषय प्राथमिकतामा छ ।

त्यस्तै महानगरपालिकाको बजेटबाट मोटरसाइकल दिनुपर्ने माग पनि राखिएको छ । ‘हामी छलफल गर्न तयार छौं, चित नबुझेका कुरामा परिषद्भित्रै छलफल गर्न सकिन्छ, बाहिर बसेर प्रदर्शन गर्नु जरुरी देख्दिन मँ,’ आफ्नो सम्बोधनको क्रममा सरावगीले भने, ‘गैर कानूनी किसिमको माग न मैले न प्रमुख प्रसाशकीय अधिकृत ज्युले पूरा गर्न सक्छौं ।’

दातृ निकायको सहयोगमा नगरमा सञ्चालित विशेष महत्व भएका योजनामा दिनुपर्ने समपूरक रकम (मैचिङ फन्ड) जुटाउन समस्या भइरहेका बेला आफूहरुले वडा–वडामा एक करोड वा दुई करोड रकम दिन नसकेको उनले बताए ।

केही स्वार्थ समूह, नगरपालिकाबाट पहिलेदेखि अनुचित फाइदा लिरहेकाहरुले अनावश्यक राजनीति, तथ्यहीन प्रचार र विभिन्न खेल खेलिरहेको उनले आरोप लगाए । नगर परिषद् असफल भएमा सबै जनप्रतिनिधिले सामूहिक रुपमा जिम्मेवारी लिनुपर्ने भन्दै जनताप्रति जवाफदेही हुन उनले आह्वान गरे ।नगर सभा उद्घाटन सत्रमा बोल्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिले असहमतिहरु हल बाहिर राख्नुभन्दा पनि भित्रै छलफल गरी टुग्याउन सुझाव दिए ।

महानगरपालिकाको तर्फबाट नगर उप–प्रमुख शान्ति कार्कीले बजेटसहितको २८ पृष्ठ लामो नीति तथा कार्यक्रम उद्घाटन सत्रमा प्रस्तुत गरेकी थिइन् । नगर सभा बहुमत सदस्यको बहिस्कारले उक्त बजेट अनि नीति तथा कार्यक्रममा साँझ ४ बजेसम्म छलफल सुरु भएको थिएन । बजेटमा चार करोड ९४ लाख आय र चार करोड ९७ लाख व्यय अनुमान गरिएको छ ।

 

प्रकाशित: ११ असार २०७५ ०१:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App